कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

५३ महिनामा नागढुंगा सुरुङ छिचोलियो

सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको कामपछि यातायात सञ्चालनमा आउन थप १ वर्ष

काठमाडौँ — निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोलाको मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विस्फोटक पदार्थमा जडान गरिएको स्विच थिचेर सोमबार दुई मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङमार्फत सवारीसाधन सञ्चालन गर्न भने अझै थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । 

५३ महिनामा नागढुंगा सुरुङ छिचोलियो

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङ मार्गको ४२ महिनाभित्र काम सक्ने गरी काठमाडौंतर्फको टुटीपाखामा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । तर कोभिड महामारी र पटक–पटकका स्थानीय अवरोधले गर्दा झन्डै एक वर्ष ढिला सुरुङ छिचोलिएको हो । अब यसको फिनिसिङको काम हुने आयोजनाले जनाएको छ । कुनै समस्या, अवरोध आइनपरे एक वर्षभित्रमा सुरुङ मार्गबाट सवारी सञ्चालन गर्न सकिने नागढुंगा सुरुङ मार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘अब सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ,’ उनले भने, ‘०८२ वैशाखमा सुरुङबाट सवारी सञ्चालन गर्ने योजना हो ।’

सुरुङ सञ्चालनमा आएपछि भने तीन मिनेटमै काठमाडौंको थानकोटदेखि धादिङको सिस्नेखोला आवतजावत गर्न सकिने बताइएको छ । आयोजनाका अनुसार काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौंबाट बाहिरिँदा २३ मिनेट समय छोटिनेछ । मुख्य सुरुङको दूरी २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ ।

अहिले यसको फिनिसिङको काम भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले गर्दा सुरुङ खन्ने काम प्रभावित भएको थियो । स्थानीयको माग सम्बोधन गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमति भएपछि ठप्प भएको एक महिनापछि काम पुनः सुचारु भएको थियो ।

सुरुङको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । उनले पूर्वाधार विकासमा नागढुंगा सुरुङ मार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताए । सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजना सुरुङको पनि छिटै ‘ब्रेक थ्रु’ हुने तयारीमा रहेको उनले सुनाए । कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री, सांसद, सचिव, जापानिज राजदूत युतका किकुतालगायतको उपस्थिति थियो । भौतिकमन्त्री महासेठले सुरुङले यातायात सहज सञ्चालनमा सहयोग पुग्ने बताए । राजदूत किकुताले सुरुङ जापान र नेपालका लागि गौरवको योजना भएको बताए ।

८/८ घण्टाको सिफ्ट बनाएर सुरुङको चौबिसै घण्टा काम गरिएको आयोजनाले जनाएको छ । ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सात वटा द्वार निर्माण गरिएको छ । सुरुङभित्र केही भवितव्य भएमा मुख्य सुरुङबाट छिटो निस्कन आपत्कालीन सुरुङ निर्माण गरिएको आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।

यता बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । तीन वटा पुल र ६ वटा कल्भर्ट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङ मार्ग प्रवेश गर्ने द्वार टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ । धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले भने सुरुङ मार्ग प्रयोग गर्न पाउने छैनन् । सीसी क्यामराबाट सुरुङ मार्गको निगरानी गरिनेछ । सुरुङ मार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग रहेको छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । आयोजनाको सुरु सम्झौता २०८० वैशाखसम्म काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको थियो । तर उक्त समयावधिमा पनि नसकिने भएपछि पुनः एक वर्ष थप्ने तयारी छ ।

यो नेपालको पहिलो यातायात सुरुङ रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘नागढुंगा उकालोमा धेरै ट्राफिक जाम हुने भएकाले विकल्पका रूपमा सुरुङ निर्माण गरिएको हो,’ उनले भने, ‘सुरुङ सञ्चालनमा आएपछि यातायात सञ्चालन सहज र समयको बचत हुनेछ ।’

त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गमा दुई सिफ्टमा चौबिसै घण्टा काम गराएर ६ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्ने तयारी छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो । त्यस्तै काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा ६ वटा सुरुङ निर्माण हुँदै छ । जहाँ ३ वटा सुरुङ निर्माणाधीन छन् भने थप तीन वटा सुरुङ ठेक्का प्रक्रियामा छन् ।

प्रकाशित : वैशाख ४, २०८१ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×