कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

नदीनाला सुके, तिर्खा मेट्न वन्यजन्तु भारततिर

साविक राजापुरका ११ गाविस जोड्न हिउँदमा कोठियाघाटमा पन्टुन पुल जडान गरिन्थ्यो, गेरुवा तर्न डुंगा नै चाहिन्थ्यो 
खोलामा पानी नभएपछि माछा हराए, पानी पिउन र पौडिन आउने वन्यजन्तु पनि आउनै छाडे, अब पाहुनालाई के देखाउने ? : टुरिस्ट गाइड

बर्दिया — ठाकुरबाबा नगरपालिका–९ स्थित बर्दिया निकुञ्जको मुख्यालय हुँदै खौराहा खोला बग्थ्यो । वर्षामा ठूलो नदी बन्ने खौराहा खोला हिउँदमै पनि तर्न मुस्किल पर्थ्यो । त्यही खोलामा सोमबार बिहान दुई जना बालक माछा मारिरहेका थिए । पानीको सतह उनीहरूको गोलीगाँठोसम्म मात्र थियो । खोला झन्डै बगरमा परिणत भइसकेको छ । केही वर्षयता खौराहा खोला हिउँदमा सुक्ने गरेको स्थानीय बताउँछन् । 

नदीनाला सुके, तिर्खा मेट्न वन्यजन्तु भारततिर

‘पहिले गर्मीले अत्याएका बेला पौडी खेल्न मिल्थ्यो,’ स्थानीय राजन चौधरीले भने, ‘पहिले नदी थियो, अहिले खोला पनि रहेन ।’ उनका अनुसार खौराहा मात्र नभई अहिले ठाकुरद्वारा गाउँ हुँदै बग्ने सबै नहर सुक्खा छन् । तीन/चार वर्षअघिसम्म हिउँदमा पनि खोलामा पानी हुन्थ्यो । गर्मीले अत्याएका बेला पनि सर्वसाधारण त्यहीँ पौडी खेल्थे । ‘कर्णालीको पानी बग्ने सबै नहर सुक्खा छन्,’ उनले भने, ‘यस्तो आपत् कहिल्यै देखेको थिइनँ, किसानलाई पानी चाहिने बेला कुला सुकेर बालुवा मात्र बाँकी छ ।’ यही अवस्था रहे वर्षामा समेत पर्याप्त पानी नहुने किसानको चिन्ता छ ।

ठाकुरबाबा नगरपालिका–९ र छिमेकी मधुवन नगरपालिकाका अधिकांश वडामा कर्णाली नदीको पानी सिँचाइका रूपमा उपयोग हुँदै आएको छ । कर्णालीको चिसापानीबाट पूर्वतर्फ बग्ने गेरुवा भँगालोमा पानी सुकेपछि त्यसको असर सिँचाइमा परेको हो । पहिले नदीको पानीले सिँचाइ गर्ने बासिन्दा अहिले ट्युबवेल र बोरिङमा निर्भर छन् । ‘जमिनमुनिबाट कहिलेसम्म पानी आउँछ र ?’ राजनले भने, ‘मूल स्रोत सुकेपछि यो पानी पनि रित्तिँदै जान्छ अनि समस्या झन् चर्किन्छ ।’

यतिबेला बर्दिया निकुञ्जमा बाघ हेर्न भन्दै स्वदेशी र विदेशी पर्यटक आइरहेका छन् । यो समय सजिलै बाघ देखिने भएकाले पर्यटक बढेका हुन् । यहाँका पर्यटक पथ प्रदर्शक बिहानदेखि साँझसम्म जिप सफारीमार्फत पाहुनालाई बाघसहितका वन्यजन्तु देखाउन लागिपरेका हुन्छन् । पहिले यहींबाट बाघलगायतका वन्यजन्तु गेरुवामा पानी पिइरहेको, पौडी खेलिरहेको देखिन्थे । गेरुवाको पूर्वपट्टि अग्लो भागमा बसेर वन्यजन्तुका क्रियाकलाप अवलोकन गर्न सकिन्थ्यो । गत वर्षसम्म पनि गेरुवामा डल्फिन देख्न पाइन्थ्यो । गत आइतबार पथ प्रदर्शक अनु चौधरीले केही पर्यटकलाई निकुञ्जको टेन्टेड क्याम्पमा लगेका थिए । कर्णालीको पूर्वी भँगालो गेरुवाको किनारमा झन्डै एक घण्टा कुर्दा पनि बाघ त परको कुरा अन्य वन्यजन्तु पनि खासै देखिएनन् ।


‘पहिले गेरुवामा पर्याप्त पानी थियो र पो जंगली जनावर पनि पानी खान र पौडिन आउँथे, अचेल घुँडासम्म पनि पानी छैन । केका डल्फिन पौडिनु ?,’ चौधरीले भने, ‘अब त यहाँ कुनै बेला गेरुवा नदी थियो भनेर पत्याउन पनि गाह्रो भइसक्यो ।’ क्याम्पबाट टाढासम्म पानी देखिँदैन । तैपनि पर्यटक पुगिरहेका छन् । ‘पहिले ठूलो नदी देखेका पर्यटक अहिलेको अवस्था देखेर दुःख व्यक्त गर्छन्,’ उनले भने, ‘पानी नभएपछि माछा हराए, वन्यजन्तु पनि देखिनै छाडे, अब पाहुनालाई के देखाउने ?’

संरक्षणकर्मीका अनुसार बर्दिया निकुञ्जभित्र पानीको मुख्य प्राकृतिक स्रोत कर्णाली नदी हो । चिसापानीभन्दा केही दक्षिणबाट कर्णालीका दुई भँगाला छुट्टिन्छन् । पश्चिमतर्फको भँगालो कैलालीको टीकापुर हुँदै बग्छ । पूर्वतर्फको भँगालो गेरुवा निकुञ्जको सिमाना भएर बग्छ । गेरुवाबाट छुट्टिएर बनेका थुप्रै भँगाला निकुञ्जभित्रबाट बग्छन् । त्यसमध्येको प्रमुख खौराहा हो । गेरुवा सुकेपछि निकुञ्जभित्रका भँगाला पनि सुक्खा छन् ।

वन्यजन्तुका लागि पानीको संकट टार्न निकुञ्ज र संरक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाले दुई सय हाराहारीमा कृत्रिम पोखरी बनाएका छन् । तर, ठूला वन्यजन्तुलाई पौडिन भने ती पर्याप्त छैनन् । प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङ्फेले भने, ‘गैंडा पानीको घोलमा रमाउने गर्छ, त्यसका लागि पानीको प्राकृतिक स्रोत नै चाहिन्छ ।’

यहाँ प्राकृतिक घोल नभएपछि आहाल खोज्दै गैंडा भारत पस्ने गरेको उनले बताए । उनका अनुसार गैंडाको मुख्य बासस्थान निकुञ्जको गैंडा मचानदेखि तीनकुने, हात्तीसार र खौराहा क्षेत्र हुन् । त्यहाँ पानी सुकेपछि समस्या भएको हो । पानी अभाव भएपछि खाता जैविक मार्गअन्तर्गत कोठियाघाट हुँदै वन्यजन्तु भारत ओहोरदोहोर गर्ने क्रम बढेको उनले बताए । निकुञ्जभित्र पानीका प्रमुख स्रोत सुकेपछि जैविक विविधता मासिएको तुम्बाहाङ्फेले बताए ।

‘२०५६/५७ सम्म गेरुवामा एकपटकमा १०/१५ वटा डल्फिन उफ्रन्थे, अहिले देखिनै छाडे, कुला पनि सुकेपछि खेतीपाती पनि प्रभावित भयो, धेरै असर देखिन थाल्यो,’ ६/७ वर्षदेखि निकुञ्जमा पानीको समस्या भइरहेको उनले बताए । गिट्टी, बालुवा उत्खननका कारण कैलालीतर्फको भँगालो गहिरिँदै गयो । गेरुवातर्फ गिट्टी–बालुवा थुप्रिँदै गएपछि ढिस्को बन्यो । त्यसले कैलालीतर्फ धेरै पानी बग्न थालेको र गेरुवाको मुहानमा गिट्टी–बालुवाको थुप्रोले प्राकृतिक बाँध बनेको उनले बताए ।

बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले २०४० सालसम्म कर्णालीका पूर्व र पश्चिम भँगालोमा बराबर पानी बग्थ्यो । तत्कालीन जिल्ला पञ्चायतले भारतको गिरीजापुरीमा बाँध र पुल निर्माणका लागि कोठियाघाटबाट गिट्टी, बालुवा उत्खनन गरेर पठायो । उत्खननका कारण वर्षामा बाढीले झन् गहिरो बनायो । उनका अनुसार त्यसबेला आएको बाढीले गेरुवा गाउँपालिकाको ६/७ सय बिघा जमिन कटान गर्‍यो । यता गहिरो भएपछि लामो समयसम्म गेरुवा नै कर्णालीको मुख्य भँगालो थियो । गेरुवा तर्न डुंगा नै चाहिन्थ्यो । साविक राजापुरका ११ गाविस जोड्न हिउँदमा कोठियाघाटमा पन्टुन पुल जडान गरिन्थ्यो ।


‘अहिले पानी सुकेर हिँडेरै तर्न सकिने भयो,’ थापाले भने, ‘पछिल्लो समय कर्णालीको पश्चिम भँगालोतर्फ व्यापक उत्खनन भयो, जसले गर्दा धेरै पानी उता बग्न थाल्यो, गेरुवापट्टि गिट्टी–बालुवा मात्र थुप्रियो ।’ २०७३ सालयता बर्सेनि गेरुवाको मुहानबाट गिट्टी–बालुवा हटाएर हिउँदमा पानी ल्याउने गरिएको उनले बताए । उनका अनुसार प्रत्येक हिउँद पानी बढाउन कात्तिक, पुस र चैतमा गेरुवाको मुहान सफा गरिन्थ्यो ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले निकुञ्जमा पानीको मुख्य स्रोत कर्णाली (गेरुवा) नदी भएको बताए । अहिले गेरुवामा पानी नभएकाले वन्यजन्तुका लागि काकाकुलको अवस्था रहेको उनले बताए । गेरुवा तटीय क्षेत्र वन्यजन्तुको मुख्य बासस्थान हो । यहाँ पानी अभाव भएपछि खाता जैविक मार्ग भएर वन्यजन्तुहरू भारत जाने क्रम बढेको उनले बताए । कर्णाली नदीको ८० क्युसेक पानी रानीजमरा सिँचाइ आयोजनातर्फ गएको र हिउँदमा कर्णालीमा दुई सय क्युसेक पानी मात्र हुने भएकाले सुक्खा बढेको हो । अहिले निकुञ्जभित्रका ६/७ वटा भँगालोमा पानी नहुँदा सिँचाइमा समेत समस्या परिरहेको छ । गत कात्तिकमा गिट्टी–बालुवा उत्खनन गरेर पानी फर्काइएको थियो । त्यसपछि पुसमा पनि पानी फर्काइयो ।

‘अहिले फेरि गहिर्‍याउनुपर्ने भो,’ उनले भने, ‘यसपटक चैतमा खोल्न नपाएपछि सुक्खा बढ्यो ।’ उनका अनुसार लुम्बिनी प्रदेश सरकारले चालु वर्ष जिल्ला सिँचाइ डिभिजन कार्यालयमार्फत गेरुवाको मुहानको गिट्टी–बालुवा हटाउन दुई करोड रुपैयाँ निकासा गरेको छ । ‘सिँचाइ डिभिजन कार्यालयले ठेक्का लगाएको छ,’ उनले भने, ‘निकुञ्ज क्षेत्रमा सिधैं काम गर्न नपाइने भएकाले कार्यादेशका लागि मन्त्रालयमा पठाएका छौं ।’

प्रकाशित : चैत्र २८, २०८० ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?