कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

शिक्षामा निजामतीसरह प्रशिक्षार्थी भर्ती गर्ने कार्यविधि ४ दिनमै रद्द

आलोचना सुन्ने र सुधार गर्ने शिक्षामन्त्रीलाई सघाउने कर्मचारीको भनाइ 
विद्यार्थीले ‘इन्टर्न’ मा अभ्यास गर्न पाउने गरी नयाँ कार्यविधि जारी
सुदीप कैनी

काठमाडौँ — शिक्षा मन्त्रालय मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालन गर्न जारी गरिएको कार्यविधि चार दिनमै खारेज भएको छ । बिहीबार जारी कार्यविधिले कर्मचारी छनोटको विधि बिथोलिने, सरकारी कार्यालयका दस्ताबेजको गोपनीयता माथि प्रश्न उठ्ने र कर्मचारी संयन्त्रलाई कमजोर बनाउने भनेर आलोचना भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त कार्यविधि खारेज गरेकी हुन् । यसको सट्टा विद्यार्थीलाई प्रशिक्षार्थीका रूपमा खटाउन ‘इन्टर्नसम्बन्धी कार्यविधि २०८०’ जारी गरिएको छ । 

शिक्षामा निजामतीसरह प्रशिक्षार्थी भर्ती गर्ने कार्यविधि ४ दिनमै रद्द

मन्त्रालयका महाशाखा, शाखा र मातहतका कार्यालयमा निजामती कर्मचारीसरह पहुँच रहने गरी जो कोहीलाई प्रशिक्षार्थी कर्मचारीका रूपमा खटाउने कार्यविधि जारी भएको थियो । नयाँ कार्यविधिमा भने उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई बढीमा ३ महिना ‘इन्टर्नसिप’ मा खटाउन सकिने व्यवस्था छ । सरकारी दस्ताबेजमा इन्टर्नको पहुँच सीमित हुनेछ ।

सरोकारवालाहरूको राय सुझावका आधारमा ‘एजुकेसन क्याटलिस्ट’ कार्यविधि रद्द गर्दै ‘इन्टर्न’ सम्बन्धी कार्यविधि जारी गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । ‘इन्टर्न गर्न आउने विद्यार्थी र कर्मचारीबीच सिकाइ आदानप्रदान हुने विश्वास छ,’ उनले भने, ‘खासगरी कानुन र आईटी क्षेत्रका विद्यार्थीबाट सहयोग लिने मन्त्रालयको उद्देश्य छ ।’ पाठ्यक्रममा ‘इन्टर्नसिप’ सम्बन्धी व्यवस्था भएका विद्यार्थीलाई प्रशिक्षार्थीका रूपमा काममा लगाउन प्राथमिकता दिइनेछ ।

पहिले प्रशिक्षार्थी कर्मचारीका रूपमा जति पनि लिन सकिने र उनीहरूलाई जति समय पनि काममा लगाउन सकिने व्यवस्था थियो । त्यसो गर्दा शिक्षामन्त्रीबाट कर्मचारीको काममा हस्तक्षेप हुने र समानान्तर अभ्यास हुने भन्दै कर्मचारीले असन्तुष्टि जनाएका थिए । इन्टर्न कार्यविधिमा भने स्नातक र स्नातकोत्तर पढ्दै गरेकालाई ३ महिना इन्टर्नसिपमा खटाउन सकिने उल्लेख छ । कानुनतः गोप्य राख्नुपर्ने, लिखत रहने वा नीतिगत रूपमा गोप्य रहने, प्रचलित कानुन अनुसार नियुक्त वा मनोनीत वा निर्वाचित व्यक्तिबाट मात्र सम्पादन हुने कार्यमा इन्टर्न विद्यार्थीलाई संलग्न गराउन नहुने व्यवस्था छ ।

निजामती प्रशासनमाथि शिक्षामन्त्रीको अविश्वास : प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न कार्यविधि

विद्यार्थीलाई शिक्षा मन्त्रालयको व्यावहारिक सीप र कार्य अनुभव दिलाउन इन्टर्नसिप गराउन सुशासन नियमावली २०६५ को व्यवस्थाअनुसार कार्यविधि जारी गरिएको जनाएको छ । विद्यार्थी छनोट गर्न उच्च शिक्षा महाशाखाका सहसचिवको संयोजकत्वमा छनोट तथा सिफारिस समिति रहने व्यवस्था गरिएको छ । आवेदन माग गरी विद्यार्थीको योग्यता, रुचि र अन्तर्वार्ताका आधारमा छनोट गरिने उल्लेख छ ।

शिक्षा उत्प्रेरक छनोट तथा सिफारिस समितिमा शिक्षा सचिव संयोजक रहने व्यवस्था गरिएको थियो भने योजना तथा अनुगमन महाशाखाका सहसचिव र मन्त्रालयले तोकेको विज्ञ सदस्य रहने उल्लेख थियो ।

मन्त्रालयका कर्मचारीले उच्च शिक्षामा अध्ययनरत विद्यार्थी निश्चित समय मात्र परिचालन गर्ने गरी ‘प्रशिक्षार्थी विद्यार्थी परिचालनसम्बन्धी कार्यविधि–२०८०’ को मस्यौदा प्रस्ताव गरेका थिए । तर मन्त्री श्रेष्ठ संशोधन गरेर जो कोहीलाई प्रशिक्षार्थी बनाउन सकिने, जति पनि समय परिचालन गर्न सकिने गरी पारित गरेको थियो ।

‘आलोचना सुन्ने र सुधार गर्ने शैली देखाउँदै मन्त्रीजीले आफ्नै निर्णय फिर्ता लिनुभएको छ । अब विद्यार्थीले मात्र इन्टर्नसिप गर्न पाउने र त्यसको पनि निश्चित अवधि हुने गरी कार्यविधि जारी भएको छ । यस्तो अभ्यास अन्य मन्त्रालय र सरकारी निकायमा पनि भइरहेकाले पछिल्लो कार्यविधिलाई कर्मचारीहरूले स्वाभाविक रूपमा लिएका छन्, उहाँलाई सहयोग हुन्छ,’ एक अधिकारीले भने ।

प्रकाशित : चैत्र २१, २०८० ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?