कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्यायो : एमाले

'राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धकी संसद्लाई बनाउनु हुँदैन'

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएर कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ । कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसद्को रोष्ट्रमबाट बोल्न नदिने निर्णय नै गरेको अवस्थामा एमालेको प्रतिक्रिया आएको हो । 

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्यायो : एमाले

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर लामिछानेलाई सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसद्मा अराजकता मच्याएको बताएका हुन् ।

संसद् भवनमा बुधबार एमाले प्रमुख सचेतक बर्तौलाले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न आग्रह गरेका थिए । कांग्रेसले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति लिएको हो भनेर पनि उनले सोधेका छन् ।

‘गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर राजनीतिक असहिष्णुता र संसदीय अराजकता कांग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौं– यो हाउसमा प्रतिपक्ष मात्रै छैन, सरकार बीचमा छ । सभामुखको आसनबाट दाया सत्तापक्ष छ, बायाँ प्रतिपक्ष छ । प्रतिपक्षले सदनमा रोक्ने ? हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौं । सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?,' एमाले प्रमुख सचेतक बर्तौलाले भने, 'कांग्रेसले जे गरेको छ त्यो बेठिक छ, मिलेको छैन । राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धकी संसद्लाई बनाउनु हुँदैन । सरकारबाट बाहिरिने कुरा लोकतन्त्र र संसद्को आजको गणितले त्यो चलिरहन्छ ।'

एमाले प्रमुख सचेतक बर्तौलाले कांग्रेसले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिएर संसदीय अभ्यास, मूल्यमान्यता क्षतविक्षत बनाएको आरोप लगाए । 'प्रमुख प्रतिपक्षलाई आग्रह गर्न चाहन्छु–तपाईहरुको आफ्नो शैली र तरिकालाई बदल्नुहोस् । हामी कांग्रेसलाई सोध्न चाहन्छौं– कांग्रेसले गृहमन्त्री मान्छ कि मान्दैन ?, गृहमन्त्री स्वीकार गर्छ कि गर्दैन ? यदि कांग्रेसले गृहमन्त्री स्वीकार गर्दैन भने बहिष्कार गरोस् । विज्ञप्ति निकाल्नुहोस्, हामी बहालवाला गृहमन्त्रीलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौं र यो देशमा गृहमन्त्री भएको हामी मान्दैनौं कांग्रेस भन्नसक्छ ?’

प्रकाशित : चैत्र २१, २०८० १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?