कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोभिड-१९ बिरामीका लागि भरतपुर अस्पतालमा औषधि परीक्षण गरिँदै

जोन्स हप्किन्स विश्वविद्यालय, हिमालयन ट्रस्ट नेपाल र भरतपुर अस्पतालले संयुक्त रूपमा 'एमेटिन' परीक्षण गर्दै

चितवन — आजभन्दा ५० वर्षअघि आउँ, मासी र झाडापखालाको उपचारमा प्रयोग हुने गरेको एमेटिन औषधिले  कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ को उपचारमा कस्तो प्रभाव पार्ला ? त्यो पत्ता लगाउन भने केही दिनमै भरतपुर अस्पतालमा यसको प्रयोग र परीक्षण हुने भएको छ । मुसामा गरेको परीक्षण सफल भएपछि भरतपुर अस्पतालले कोरोना संक्रमित व्यक्तिमा यसको परीक्षण गर्न लागेको हो । यो मुखबाट दिने औषधि हो र मूल्य पनि सस्तो छ ।

कोभिड-१९ बिरामीका लागि भरतपुर अस्पतालमा औषधि परीक्षण गरिँदै

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय, हिमालयन ट्रस्ट नेपाल र भरतपुर अस्पतालले यो औषधिको परीक्षण गर्न लागेको हो । ‘भरतपुर अस्पतालमा हुने यस क्लिनिकल परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त भएको छ,’ प्रमुख अनुसन्धानकर्तामध्येका भरतपुर अस्पतालका चिकित्सक डा.कल्याण सापकोटाले भने ।

पहिला झाडापखलाको उपचारमा ६० एमजीको एमेटिन प्रयोग हुन्थ्यो । अहिले ६ एमजीको एमेटिन बनाएर कोरोना संक्रमितलाई दिने सापकोटाले बताए । छनौटमा परेका बिरामीले ५ देखि १० दिनसम्म यो औषधि खाने छन् । त्यसैगरी उनीहरूको ९० दिनसम्म मूल्याङ्कन र प्रयोगशाला परीक्षणसहितको फलोअप अनुगमन चलिरहने छ । परीक्षणको अन्तिम नतिजा एकदेखि डेढ वर्षभित्रमा आउने अपेक्षा राखेको डा.सापकोटाले बताए ।

कोरोना संक्रमित ६ सय जनालाई परीक्षणमा समेट्ने योजना रहे पनि पछिल्लो समय संक्रमण कम हुँदै गएका कारणले ४५० जनासम्मलाई सहभागी गराउन सकिने अवस्था रहेको उनले बताए । कोभिड–१९ प्रमाणित भएको वा लक्षण देखिएको पाँच दिनभित्र आउने बिरामीलाई यो परीक्षणमा सहभागी गराइने छ । उनीहरूको उमेर ५० वर्षभन्दा माथिको हुनु पर्ने पनि डा.सापकोटाले बताए ।

‘यो परीक्षणमा सहभागी हुने कुरा व्यक्तिको पूर्ण स्वतन्त्रताको विषय हो । हामी १० पन्नाजति रहेको सहमतिपत्रमा उहाँहरूको हस्ताक्षर गराउँछौं । तर सहभागी हुने या नहुने उहाँहरूको स्वतन्त्रताको कुरा हो । सहभागी भए पनि कुनै समयमा अलग हुन पाउने छन्,’ डा.सापकोटाले भने । विश्वमा प्रयोगमा आइसकेको औषधि भएका कारण अहिले केबल कोभिड–१९ मा यसको प्रभावकारिता जाँच्न मात्र खोजेको उनले बताए ।

‘यो औषधि प्रभावकारी देखिएको अवस्थामा धेरैले लाभ लिन सक्ने छन् । यसको मूल्य प्रतिट्याब्लेट ५–७ रुपैयाँ पर्ला । त्यसैले यो परीक्षण महत्त्वपूर्ण छ,’ हिमालय ट्रस्टका कन्सल्टेन्टसमेत रहेका अनुसन्धानकर्ता डा.सुमन पन्तले भने, परीक्षणका क्रममा ‘साइड इफेक्ट’ के रहला भनेर नियमित निगरानी रहने र प्रतिकूल प्रतिक्रिया आएमा उपचारका लागि विज्ञ टोलीबाट नै व्यवस्थापन गरिने छ ।’

जोन्स हप्किन्स विश्वविद्यालयका डा.कुन्चोक दोर्जी पनि यो अनुसन्धानका प्रमुख अनुसन्धानकर्ताका रूपमा रहेका छन् । ‘कोभिड–१९ को संक्रमण कम भएको छ ठप्पै भएको हैन । त्यसैले यसको प्रभावकारी उपचार खोज्न आवश्यक देखिन्छ । संक्रमितलाई एमेटिन दिँदा बिरामीलाई कस्तो लाभ हुन्छ ? अस्पताल नै भर्ना गर्नु पर्ला वा नपर्ला ? आईसीयू वा भेन्टिलेटर चाहिएला या नचाहिएला, मृत्यु नै रोक्न कत्तिको प्रभावकारी छ भन्ने निर्क्यौल गर्ने हो,’ डा.सापकोटाले भने ।

प्रकाशित : चैत्र १९, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?