कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दुई/चार दिनमै नयाँ समीकरणका प्रदेश सरकार बन्छन् : महासचिव पोखरेल

काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यसै हप्ताभित्र प्रदेशहरूमा नयाँ गठबन्धन अनुसारको सरकार बन्ने बताएका छन् ।

दुई/चार दिनमै नयाँ समीकरणका प्रदेश सरकार बन्छन् : महासचिव पोखरेल

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा वाग्मती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रुपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया सुरु हुने बताए ।

महासचिव पोखरेलले सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको बताए । उनले सत्तामा सहभागी दलहरूबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने जानकारी दिए ।

‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया सुरु हुन्छ । सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको छ,' उनले भने, 'हामीले प्रयास गरिरहेका छौं, प्रमुख दलहरूबीच छलफल गरिकन दुई/चार दिनभित्र प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरू पूरा गर्छौं ।’

महासचिव पोखरेलले एमाले समाजवादी मोर्चामा नजाने पनि बताए । उनले एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभई राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताए । उनले एमाले सरकारमा पुगेकाले मिसन २०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन २०८४ लाई सहयोग पुर्‍याउने गरी नै भएको दाबी गरे ।

‘हामी यतिबेला सरकारमा पुगेको कारणले गर्दा मिसन २०८४ के भयो भन्ने प्रकारको जिज्ञासा कतिपय कमरेडहरूको मनमा पैदा भएको देख्छु । सोसल मिडियामा पनि त्यही प्रकारको कौतुहलता देखिन्छ,' महासचिव पोखरेलले भने, 'अहिले हामीले गरेको सहकार्य मिसन २०८४ लाई सहयोग पुर्‍याउने गरी नै गरेका छौं । त्यसअर्थमा मिसन २०८४ हाम्रो उद्देश्यमा कुनै फेरबदल भएको छैन । त्यो निरन्तर जारी छ । बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्ने कुरा नै पार्टीको र मुलुकको भविष्यका लागि अपरिहार्य छ भन्ने पार्टीको जे मान्यता छ, त्यो मान्यतामा कुनै प्रकारको बदलाव आएको छैन ।'

महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रहसमेत गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?