कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं : गृहमन्त्री 

'जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ ।'

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं : गृहमन्त्री 

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गरिछाड्ने बताएका हुन् । उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए । 'जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं,' उनले भने ।

लामिछानेले सहकारीमा सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताएका छन् । उनले भने, 'जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ ।'

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । उनले भने, 'सहकारीमा बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्न । जो जहाँ लुकेको होस्, देशमा होस्, विदेशमा होस्, आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं ।'

सरकारमा बसेर प्रतिशोध कसैसँग नसाँध्ने पनि लामिछानेले बताए । उनले भने, 'राज्यमा प्रतिशोध साँध्न गएका होइनौं । कसैमाथि प्रतिशोध साँध्दैनौं । कस-कसले हामीमाथि प्रतिशोध साँधे चिन्छौं, तर हामी त्यसो गर्दैनौं । विधि र कानुनले जे भन्छ त्योभन्दा दायाँबायाँ जाँदैनौं ।'

जोखिम मोलेर रास्वपा सरकारमा गएको रास्वपा सभापतिसमेत रहेका लामिछानेको भनाइ थियो । उनले काम गर्न नसकेको र काम गर्न नदिएको दिन सरकार छोडेर हिँड्ने बताए । उनले भने, 'हामी देशको ठूलो राजनीतिक दल कांग्रेस जस्तो गलहत्याएर जान चाहँदैनौं । काम गर्न नसकेको र नपाएको दिन छोडेर जान्छौं । राजीनामा झोलामा बोकेर हिँडेका छौं ।'

प्रकाशित : चैत्र १०, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?