कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

इजरायलबाट फर्कने हतारमा छैनन् नेपाली

तेलअभिभ — झापाका धनबहादुर देवानले इजरायलको दक्षिणी भाग किरातगातमा रकेट नदेखेको दिन छैन । गाजा क्षेत्रको नजिक रहेको किरातगातलाई लक्षित गरी प्यालेस्टाइनी विद्राही समूह हमासले कैयौं पटक रकेट प्रहार गरिसकेको छ । हालै एउटा रकेटको छर्रा देवान बस्ने घरमा पनि खसेको थियो ।

इजरायलबाट फर्कने हतारमा छैनन् नेपाली

‘केही दिनअघि कोठाभित्रै रकेटको छर्रा आइपुग्यो । छर्रा तलमाथि गरेको देख्दा एकछिन त सात्तो नै गयो,’ उनले भने, ‘हामी बोर्डरछेउ बस्नेलाई यस्तो कुरा खासै नौलो लाग्दैन ।’ मंगलबार मात्रै पनि हमासले बिहानदेखि रातिसम्म सयौं रकेट प्रहार गरेको थियो । त्यसमध्ये अधिकांश दक्षिणी इजरायलको भागमा पर्ने नेगेभ, साफेला, लाकहिसा, बिरसेवालगायत स्थानलाई लक्षित गरिएको थियो । ‘आकाशमा आउने रकेटको खास डर छैन,’ देवानले भने, ‘दक्षिण भेगमा त घण्टाघण्टामा रकेट झर्छ । त्यो आकाशमा नै निस्तेज हुन्छ ।’

इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वलाई लिएर पूरै मध्यपूर्व तनावमा रहेका बेला इजरायलमा दशक बिताइसकेका नेपालीहरू भने धेरै आत्तिएका देखिँदैनन् । उनीहरू हमासले प्रहार गर्ने रकेट इजरायली सेनाले आकाशमै निस्तेज पर्नेमा ढुक्क छन् । ‘अहिलेको युद्ध भयंकर हो तर तेलअभिभभन्दा निकै टाढाको युद्ध हो । तेलअभिभमा बस्नेहरूका लागि भने सामान्य छ,’ १० वर्षदेखि इजरायलमा कियरगिभरका रूपमा कार्यरत मोरङका प्रकाश लिम्बूले कान्तिपुरसँग भने, ‘हमासले फाल्ने रकेट आकाशमै निस्तेज हुने हुनाले हामी ढुक्क छौं ।’


गत अक्टोबर ७ मा रकेट निस्तेज बनाउने इजरायलको आइरन डोम चुकेपछि भने ठूलो क्षति बेहोर्नुपर्‍यो । उक्त हमलामा परेर मंगलबारसम्म १४ सयभन्दा बढी इजरायलीको ज्यान गइसकेको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयबाट अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायलको कृषि क्षेत्रको अध्ययनका लागि आएका थिए । नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको आक्रमणमा घाइते पाँचमध्ये एक जना नेपाल फर्किसकेका छन् भने चार जनामध्ये तीनको तेलअभिभकै अस्पतालमा उपचार भइरहेको छ । एक जना अस्पतालबाट डिस्चार्ज भएर इजरायलस्थित नेपाली दूतावासमा आराम गरिरहेका छन् ।

दक्षिण इजरायलको गाजासँग जोडिएको सीमामा खटिएका सेनाहरु आरामको लागि सेद्रोतको शुभमा आएका बेला दाह्री,कपाल मिलाउँदै। तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

हमासबाट भएको आकस्मिक हमलाका बारेमा पूर्वसूचना नपाउनुमा सरकारको कमजोरी रहेको इजरायली प्रधानमन्त्रीले स्वीकार गरिसकेका छन् । उक्त घटनापछि इजरायलतर्फबाट भएको प्रत्याक्रमणमा चार हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

दैनिक प्रयोगका लागि आवश्यक सामानहरु हेर्दे गरेका सैनिकहरु । इजरायलका नागरिकले स्वस्फूर्त रुपमा खानेकुराहरुका साथै दैनिक प्रयोगमा आउने सामानहरु ल्याएर रखिदिने गर्छन् र आवश्यक पर्ने सैनिकहरुले लैजाने गर्छन् । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

इजरायलमा पुरुष र महिला कियरगिभर गरी ४ हजार ५ सय नेपाली कार्यरत छन् । विद्यार्थीबाहेक कृषि क्षेत्रमा दीर्घकालीन भिसामा काम गर्ने नेपाली छैनन् । नेपाली कामदार तेलअभिभ, हाइफा, नातानिया, रमादगान, रिसोन, राम्ले, नजेरेत, होदासरण, रमताविफमा बस्छन् । यी सुरक्षित स्थान हुन् । ‘हामी दुई जना शारीरिक अशक्त एक बाजेको सेवामा छौं, उनलाई २४ घण्टा नै रेखदेख गर्नुपर्छ,’ २०१४ देखि केयरगिभरमा कार्यरत झापाका जीवन ढकालले भने, ‘काम नियमित भइरहेको छ । त्यस्तो डर छैन । साइरन बज्दा भने बंकरमा गइहाल्छौं ।’ कामको सम्मान र उचित ज्याला रहेकाले ठूलै कारण नभएसम्म इजरायल नछोड्ने उनले निर्णय गरेका छन् । ‘कामको सम्मान छ, मासिक ४ हजार ५ सय न्यूनतम तलब नै छ । बिदाको दिनमा काम गर्दा ३ सय ८० थपिन्छ,’ उनले भने, ‘कियरगिभरमा अहिले नै घर जानुपर्छ भन्ने देखिँदैन किनकि धेरैजसोलाई बाहिर निस्कनुपर्दैन ।’

उनीहरूको स्वदेश फिर्ने इच्छा नभए पनि परिवारले छिटो आउन ताकेता गरिरहेका छन् । ‘रकेटलाई माथिबाट नै झार्ने भएकाले खासै क्षति हुँदैन । भूमिभित्र नै छिरेर मान्छे मार्ने कार्य भने गलत थियो,’ ढकालले भने, ‘जुन क्षेत्रमा समस्या छ, त्यहाँ धेरै नेपाली छैनन् । परिवार र आफन्तहरू घर फर्क भन्छन् । त्यतिकै काम छोड्ने पक्षमा छैनौं ।’

१० वर्षदेखि इजरायलमा कार्यरत इटहरीका टीका तिमल्सिनाले द्वन्द्वले व्यापार–व्यवसायदेखि हरेक कुरालाई घाटामा पारेको बताए । ‘प्रत्येक दिन होटल प्याक नै हुने गर्थ्यो,’ उनले भने, ‘चिन्तित त बनाएको छ । बंकरमा नै सुतिरहेको छु ।’

नेपाली दूतावासका अनुसार शुरुमा ६३९ जनाले स्वदेश फर्कन फारम भरेका थिए । त्यसमध्ये २७२ जना नेपाल फर्किसकेका छन् । फारम भर्ने बाँकीमध्ये अधिकांशले तत्काल नफर्कने जवाफ दिने गरेको नेपाली राजदूत कान्ता रिजालले बताइन् । हाल ६१ जना मात्रै स्वदेश फर्कनका लागि दूतावासको सम्पर्कमा रहेको राजदूत रिजालले जानकारी दिइन् ।

प्रकाशित : कार्तिक २, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?