कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

पोखरा र भैरहवामा सिधा उडान भर्न चिनियाँ नेताहरुलाई एमाले महासचिव पोखरेलको आग्रह

काठमाडौँ — नेकपा एमाले महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान भर्न चीनसमक्ष आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका एमाले प्रतिनिधिमण्डलका नेता पोखरेलले बेइजिङमा आयोजित कार्यक्रममा सिधा उडानका लागि आग्रह गरेका हुन् ।

पोखरा र भैरहवामा सिधा उडान भर्न चिनियाँ नेताहरुलाई एमाले महासचिव पोखरेलको आग्रह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागले आयोजना गरेको अन्तरक्रियामा महासचिव पोखरेलले दुवै विमानस्थल चीनको सहयोगमा निर्माण भएको विषयलाई जोड्दै सिधा उडानका लागि आग्रह गरेका हुन् । चीनको ऋण सहयोगमा निर्माण भएपछि दुवै विमानस्थल सञ्चालन हुनसकेको छैन ।

कार्यक्रममा उनले विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्नु हुँदै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिँदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह गरे । महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक रुपमा अघि बढेको देख्दा खुशी लागेको बताए ।

‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुसी लागेको छ’ उनले भने । पोखरेलले नेकपा (एमाले)ले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिँदै चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिए । ‘दुवै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ । त्यसले भविष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ,’ पोखरेलले भने ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङ सिउपिनले नेकपा (एमाले)सँग चिनियाँ कम्युनिस्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए ।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय भ्रमण दल बिहीबार छोङछिङबाट बेइजिङ पुगेको छ ।

प्रकाशित : भाद्र २२, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?