कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अपडेट

रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

सख्त घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर लगियो
महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन् ।

मृतकको संख्या र पहिचानबारे प्रहरीले भने अहिलेसम्म पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् । यसमध्ये ४ जनाको अवस्था सख्त रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएको बताइएको छ । सख्त घाइते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै, सामान्य घाइतेहरु जिप चालक सानीभेरी–५ का दिपक वाठा मगर र सोही स्थानमा मनिषा बस्नेत, रीता खत्री, कल्पना केसी, कर्णवीर पुन र कुसारीलाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्‍याइएको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले मृतक भनिएका ५ जनाको जिल्ला अस्पताल पुर्‍याएपछि मात्रै मृत्यु पुष्टि हुने जानकारी दिए ।

बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?