रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते  

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् । 

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका-८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ ।

जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८० ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षामा १२ महिना र नतिजामा १८ महिना ढिलाइ

नतिजा सार्वजनिक गर्न १८ महिनासम्म ढिलाइ गर्दै आएको विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा समेत विलम्ब गर्दा शैक्षिक सत्र नै भद्रगोल 
सुदीप कैनी

काठमाडौँ — परीक्षा दिएको डेढ वर्षमा नतिजा सार्वजनिक हुने त्रिभुवन विश्वविद्यालयमा कक्षा सकिएको महिनौंपछि मात्र परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीले गुनासो गरेका छन् । परीक्षाको नतिजा थाहा पाउन १८ महिनासम्म कुर्नुपर्ने विद्यार्थीले परीक्षा दिन पढाइ सकिएको १२ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

तोकिएको अवधिमा कोर्स पूरा भए पनि परीक्षा आवेदन फाराम नखुल्ने, समयमा रुटिन नआउने समस्याले महिनौंसम्म परीक्षा पछाडि धकेलिने गरेको विद्यार्थीको भनाइ छ ।

मानविकी संकाय स्नातकमा २०७७ चैतमा भर्ना भएका विवेक वर्णवाल गत मंसिरदेखि कोर्स सकेर दोस्रो वर्षको परीक्षाको तयारीमा छन् । विश्वविद्यालय र क्याम्पसमा सरासर पढाइ र तालिकाअनुसार परीक्षा लिइएको भए उनी तेस्रो वर्षमा हुन्थे । तर परीक्षा नियन्त्रण कार्यालयले दोस्रो वर्षको परीक्षा आवेदन फाराम मंगलबार मात्रै खुलाएको छ । ‘कक्षा सकिएको ७ महिना भइसक्यो, फाराम बुझाउनै एक महिना लाग्छ, कहिले रुटिन आउने र परीक्षा दिने ?,’ अनिश्चियको भावमा प्रश्न गर्दै उनले भने, ‘४ वर्षे स्नातक पूरा गर्न ६ वर्ष लाग्छ जस्तो छ ।’ परीक्षा आवेदन खुलेपछि रुटिन आउन र परीक्षा सञ्चालन हुन कम्तीमा ३ महिना लाग्छ ।

विवेकसहितका विद्यार्थीको पहिलो वर्षको नतिजा जाँच सकिएको १४ महिनापछि सार्वजनिक भएको थियो भने अघिल्लो ब्याचको नतिजा १८ महिनामा भएको थियो । मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान, प्रविधि संकायका हजारौं विद्यार्थी दोस्रो वर्षको परीक्षाको तयारीमा छन् । २०७८ मा भर्ना भएका विद्यार्थी पहिलो वर्षको परीक्षा दिएर दोस्रो वर्षको पठनपाठन गर्दै छन् । तेस्रो वर्षको कक्षामा हुनुपर्ने विद्यार्थी परीक्षा नहुँदा दोस्रो वर्षमै छन् ।

‘सबै संकायमा समयमा परीक्षा सञ्चालन नहुँदा प्रत्येक कक्षामा ब्याच खप्टिएको छ,’ त्रिचन्द्र क्याम्पसका एक सहप्राध्यापकले भने, ‘एउटै वर्षमा दुई गुप्र विद्यार्थी खप्टिएर बसेका छन्, एउटा पढाइ सकेका अर्को पढ्दै गरेका गुप्र छन् ।’ स्नातक तहको पहिलोदेखि चौथो वर्षसम्म एउटै समस्या रहेको उनले औंल्याए । वैशाखमा कक्षा १२ को परीक्षा सकिएको छ । तर अघिल्लो वर्षको स्नातकको पहिलो वर्षको पढाइ भर्खरै चैतबाट सुरु भएको छ । त्रिविको यही अवस्था कायम रहे आगामी शैक्षिक सत्रमा पनि दुई ब्याचका विद्यार्थी ग्रुप खटिप्ने निश्चित रहेको कलेज सञ्चालक बताउँछन् ।

त्रिविमा मात्रै होइन, पोखरा, पूर्वाञ्चललगायतका विश्वविद्यालयमा समेत समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुन सकेको छैन । ‘परीक्षा दिनका लागि महिनौं कोठा भाडा तिरेर बस्नुपर्छ,’ स्नातक तह तेस्रो वर्षका विद्यार्थी संगम लम्सालले भने, ‘तोकिएको समयमा पढाइ सक्ने, परीक्षा दिने र थप पढाइ र जागिरमा प्रवेश गर्ने कुनै टुंगो नै छैन ।’ विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले परीक्षा र नतिजाको कुनै टुंगो नभएको उनले गुनासो गरे । ‘पढाइ सकिएको ७/८ महिनापछि परीक्षा फाराम खुल्छ, त्यसपछि रुटिन आएर परीक्षा सञ्चालन गर्दा एक वर्ष त्यत्तिकै खेर जान्छ,’ लम्सालले भने ।

स्नातक तह पहिलो वर्षको परीक्षा ३ पटक सरेपछि गत वैशाखमा सञ्चालन गरिएको थियो । एकपटक परीक्षा स्थगित हुँदा कम्तीमा महिना दिन पछाडि धकेलिन्छ । ‘विद्यार्थीको झविष्यमा हेलचेत्र्याइँ भइरहेको छ, समयमा परीक्षा र नतिजा नहुँदा पनि धेरै विद्यार्थी विदेश पढ्न जान बाध्य भएका छन्,’ उनले भने । आंगिक क्याम्पसमा अझै चाडै कोर्स सकिएपछि परीक्षाका लागि लामो समय कुर्नुपर्ने विद्यार्थीले बताए ।

‘निजीले कक्षा कार्यहरू गरेर समय लम्ब्याउँछन्, आंगिकले फटाफट पढाएर चाँडो सक्छन्,’ विद्यार्थी आरती थापाले भनिन् । स्नातक तहको विभिन्न वर्षको परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा स्नातकोत्तर तहको शैक्षिक सत्र पनि एक वर्षसम्म पछाडि धकेलिने गरेको छ । ‘गत साउनमा हुनुपर्ने डिग्रीको भर्ना गत फागुनमा मात्र गरियो,’ सरस्वती क्याम्पसका एक प्राध्यापकले भने ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न संलग्न परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई विश्वविद्यालयले ३० प्रतिशतसम्म भत्ता उपलब्ध गराउँदै आए पनि समयमा कामकाज हुन नसकेको उनले जनाए । त्रिवि कार्यकारी परिषद्ले परीक्षा र नतिजा प्रकाशन ढिलाइमा असन्तुष्टि जनाउँदै गत वर्ष भत्ता रोकेको थियो । कर्मचारीले झनै ढिलाइ गरेपछि भत्तालाई निरन्तरता दिइएको छ । सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक प्रणालीको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्छ । कोभिडपछि परीक्षा र नतिजाको समय तालिका व्यवस्थापन झनै लथालिंग भएको विद्यार्थीको गुनासो छ ।

सेमेस्टर प्रणालीको परीक्षामा खासै समस्या नरहेको मानविकी संकायकी डिन कुसुम शाक्यले बताइन् । ‘पहिले कर्मचारी अभावले अलिअलि ढिला भएको थियो, अहिले त्यस्तो छैन,’ उनले भनिन् । वार्षिक परीक्षाको सम्पूर्ण जिम्मेवारी नियन्त्रण कार्यालयको हुने उनले जनाइन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोनाकालमा समयमा परीक्षा सञ्चालन गर्न नसकेर नतिजासमेत पछाडि सर्ने गरेको बताए । ‘अहिले पढाइ सकिनेबित्तिकै परीक्षा र परीक्षा दिएको ३ महिनाभित्रै सबै संकायको नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेको छौं,’ दोस्रो पटक नियन्त्रकमा दोहोरिएका जोशीले विगतकै भनाइ दोहोर्‍याउँदै भने, ‘रोकिएका काम सकिएपछि समयतालिकाअनुसार नै हुन्छ ।’ विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले दुई वर्षदेखि परीक्षा र नतिजा समयभित्रै सञ्चालन गर्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । हजारौं विद्यार्थी त्यसको मारमा परेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×