कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

जात व्यवस्थाविरुद्ध माइतीघरमा प्रदर्शन

‘छुवाछूत सामाजिक अपराध हो, अन्त्यका लागि एकजुट हौं’

काठमाडौँ — विद्यमान जात व्यवस्थाको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन र प्रतिरोध संगीत प्रस्तुत भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जातकै कारण ०७७ साल जेठ १० गते नवराज विकसहित ६ जना युवाको विभत्स हत्या हुने गरी भएको घटनाको स्मरणमा जातीय भेद्भाव र छुवाछूतका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नागरिक अगुवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

जात व्यवस्थाविरुद्ध माइतीघरमा प्रदर्शन

उनीहरूले समाज विकासको बाधककोरुपमा रहेको जात व्यवस्थालाई यथासक्य चाँडो ढाल्नुपर्ने माग गरेका छन् ।

बृहत् नागरिक आन्दोलनको संयोजनमा भएको प्रतिरोध कार्यक्रममा नागरिक अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् भने गायक राज सागरसहितको सांगीतिक समूहले प्रतिरोध संगीत प्रस्तुत गरे । प्रतिरोध कार्यक्रममा सहभागीहरूले ‘जातीय छुवाछुत सामाजिक अपराध हो, यसको अन्त्यकालागि एकजुट हौँ, जात व्यवस्था मुर्दावाद’ लगायतका नाराहरू लेखिएका प्रतिरोध प्ले–कार्डहरू प्रदर्शन गरेका थिए ।

प्रतिरोध प्रदर्शनका क्रममा अधिवक्ता श्याम विश्वकर्माले देशको विद्यमान गरिबी र अविकास जात व्यवस्थाकै उपज भएको बताए । ‘जात व्यवस्था भनेको म मात्रै खाऔँ, म मात्रै लाऔँ भन्ने उदेश्यले बनाइएको नियोजित सिर्जना थियो, यो अहिले पनि छ, र यसलाई शोषण र शिकार गर्ने हतियार बनाइएको छ । यो अभिशप्त छ, यसको दुष्चक्र केवल बहिष्करण, प्रतिबन्ध, अपमान र उत्पीडनमात्रै होइन, यो भोकको भयावह दृष्य हो, यो स्रोत वितरण र प्राप्तिको तगारो समेत हो, र असंमृद्धिको धमिलो मुहान पनि हो,’ उनले अघि भने, ‘देशभित्र देखिएका असमानताका वस्तुगत तथ्यहरू जतिपनि छन्, यी त्यसकै प्रमाण हुन् ।’

उनले जात व्यवस्था वर्तमान संविधान, मानव अधिकारका अन्तर्राष्ट्रिय मुल्यमान्यता र नेपाल पक्ष राष्ट्र भएका दर्जनौँ सन्धि सम्झौताविपरीत रहेको बताए । ‘जात व्यवस्था कानूनको ठेलीलाई नै कमजोर बनाउने बलियो मतिहार हो । यो खराब संस्कृति हो । जात व्यवस्थालाई संविधानले पनि मान्दैन, मानव अधिकारको मुल्यमान्यताले पनि मान्दैन, यो कुनै पनि हिसावले उपयुक्त छैन, यसलाई ढाल्नैपर्छ, यो अमानवीयता अब टिक्दैन, टिक्नुहुदैन,’ अधिवक्ता विश्वकर्माले भने, ‘यसलाई ढाल्नैपर्छ, हामी त्यही जात व्यवस्थालाई ढाल्नकालागि हामी यो प्रतिरोधमा उत्रिएका छौँ ।’

उनले जात व्यवस्थाले सयौँ मानवको ज्यान लिएको र धेरैलाई अनागरिक समेत बनाएको बताए । ‘जात व्यवस्थाकै कारण मेरो देश यो अवस्थामा छ । देशको गरिबी र अविकास जात व्यवस्थाकै उपज हो । यसले धेरैलाई अनागरिक बनाएको छ, धेरैलाई कुटपिट गरेको छ, अपमान गरेको छ, छुवाछुत गर्छ, कति मान्छेलाई त मारेको मार्‍यै छ,’ उनले भने, ‘अंगिरा, माया, नवराज, ऋषिदेव लगायत सयौँको न्यायकालागि पनि जात व्यवस्था नढालेर सुखै छैन ।’

प्रतिरोध प्रदर्शनका क्रममा ‘नवअजित–डे’को तर्फबाट जात व्यवस्थाविरोधी अभियन्ता प्रकाशचन्द्र परियारले आफूलाई मान्छेको दाबी गरे । ‘आज पनि प्रकाशचन्द्र परियारहरू मान्छे हुन् कि होइनन् ? कुन श्रेणीका मान्छे हुन् ? भन्ने प्रश्न कायम छ,’ उनले भने, ‘म यो प्रतिरोध दिवस मनाउदै गर्दा आफूलाई मान्छे नै दाबी गरेर उभिरहेको छु ।’

उनले प्रतिरोध दिवसमा कालो दिनकारुपमा सोती घटनालाई सम्झिएर नवराजका लागि न्याय माग्दै गर्दा समाजले अर्को युवालाई नवराजको अवस्थामा पुर्‍याउन ठेलमठेल गरिरहेको बताए । ‘म जाजरकोटका नवराज विकलाई न्याय माग्दैछु, तर यो समाज अर्को युवालाई नवराजको अवस्थामा पुर्‍याउन तम्तयार गरेर बसेको छ, यो देशमा राजतन्त्र त फालियो, तर जाततन्त्र त कायमै छ,’ उनले भने, ‘सभ्य समाज चाहने मित्रहरू, ट्युमर पाल्ने कि फाल्ने ? सचेत समाजको अगाडि प्रश्न खडा छ ।’

कार्यक्रममा निशा हरिजनले लेखक तथा कवि आहुतिको ‘गहुँ गोरो अफ्रिका’ शीर्षकको कविता बाचन गरेर सुनाएकी थिइन् ।

आजभन्दा ठीक तीन वर्ष पहिले ०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा कथित उपल्लो जातिकी प्रेमिकालाई भगाएर विवाह गर्न लागेको भन्दै प्रेमी नवराज विक र उनका पाँच जना साथीाई युवतीका आफन्तहरूले सामुहिक आक्रमण गरी भेरीमा बगाइदिएका थिए । दुई सातासम्म लगाएर भेरी नदीबाट उनीहरूको शव निकालिएको थियो । सो घटनामा अदालतले अहिलेसम्म न्याय दिएको छैन । रुकुम पश्चिम जिल्ला अदालतले सो मुद्धामा जेठ ३० गते अन्तिम फैसला दिने मिति तोकेको छ ।

प्रकाशित : जेष्ठ १०, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?