कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सरकारी गाडी तोडफोड गर्ने वडाध्यक्षको घरमा पेस्तोल भेटियो

चन्द समूहबाट कांग्रेस प्रवेश गरेर निर्वाचन जितेका वडा अध्यक्षमाथि अभद्र व्यवहार र हतियार खरखजाना मुद्दा
काशीराम डाँगी

रोल्पा — रोल्पाको एक स्थानीय तहका वडा अध्यक्षले सरकारी गाडीमाथि तोडफोड गरेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले ती व्यक्तिको घरबाट हतियार र गोलीसमेत फेला पारेको जनाएको छ । दुबै मुद्दामाथि अनुसन्धान गर्न प्रहरीले गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण वलीलाई नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी तोडफोड गर्ने वडाध्यक्षको घरमा पेस्तोल भेटियो

प्रहरीका अनुसार चैत ३० गते बिहीबार दिउँसो ४ बजेतिर पश्चिमी रोल्पास्थित गंगादेव गाउँपालिकाको रा १ झ १९१ नम्बरको स्कारपियो गाडीमाथि वडा अध्यक्ष वलीले तोडफोड गरेर क्षति पुर्‍याएका थिए ।

उक्त विषयका बारेमा अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिइएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय रोल्पाले ३ वैशाख आइतबारदेखि १५ दिनसम्म म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ । सरकारी गाडीमाथि तोडफोड गरेको अभियोगमा वडा अध्यक्ष वलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धीको मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनि प्रकाश भूसालले बताए ।

यस विषयमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले वडा अध्यक्ष वलीले मादक पदार्थ सेवन गरेर गाडीमाथि तोडफोड गरेको बताए । स्थानीय तहको निर्वाचन अघिसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सक्रिय कार्यकर्ता रहेका ३३ वर्षीय वली निर्वाचनताका कांग्रेसमा प्रवेश गरेर भारी मतले वडा अध्यक्षमा विजयी भएका थिए ।

घटनापछि वडा अध्यक्ष वलीबारे अनुसन्धान थालेको प्रहरीले उनको घरबाट आधुनिक हतियार र गोली समेत फेला पारिएको जनाएको छ । प्रहरीका अनुसार वैशाख १ गते दिउँसो १ बजेतिर गंगादेव गाउँपालिका–४ स्थित उनको घरको कोठामा अवैध हातहतियार लुकाई छिपाई राखेको भेटिएको हो ।

गोप्य सूचनाको आधारमा घरमा पुगेको प्रहरी टोलीले वडा अध्यक्ष वलीको घरकोठा रितपूर्वक बरामदी/ खानतलासी गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताए । त्यस क्रममा घरको माथिल्लो तल्लाको कोठामा रहेको माटोको भाँडो (डरी) भित्र बुट्टे रुमाल जस्तो रातो कपडाले बेरेर राखिएको अवस्थामा कालो रङको एक साईडमा ७ दशमलब ६५ अटो पेस्तोल र ७७०११ नम्बर लेखिएका ९ राउण्ड गोली र अर्काे साइडमा पेस्तोबेराता मेड इन इटली लेखिएको म्याग्जिन सहितको एक थान पेस्तोल फेला परेको थियो ।

यस्तै कोठाको खाटमुनि रेबन चस्माको खोलभित्र के एफ ७ दशमलब ६५ लेखेको ३ राउण्ड गोली भेटिएको थियो ।

घटनापछि वडा अध्यक्षलाई पुनः नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा रोल्पा जिल्ला अदालतबाट आइतबार नै १४ दिनका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सरकारी गाडीमाथि तोडफोड गरेका वडा अध्यक्ष वलीमाथि पुनः अनुसन्धान गर्दा हतियार भेटिएपछि थप गहिरो अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

प्रकाशित : वैशाख ४, २०८० १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?