कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

सर्वोच्चले दिएन आदेश : सन्दीप लामिछाने विदेश जान नपाउने

लामिछानेको मागमा आइतबार थप सुनुवाइ हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — विदेश जान पाउनुपर्ने क्रिकेटर सन्दीप लामिछानेको मागमा सर्वोच्च अदालतले शु्क्रबार कुनै आदेश दिएन । उनको मागमा आइतबार थप सुनुवाइ हुने भएको छ । थप आदेश नआउँदासम्म लामिछानेको विदेश जान नपाउने उच्च अदालत पाटनको आदेश यथावत् रहने भएको छ ।

सर्वोच्चले दिएन आदेश : सन्दीप लामिछाने विदेश जान नपाउने

लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।

लामिछानले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनि बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबारबाट सुरु हुने नेपालको आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई-दुई खेल खेल्दैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।

नेपालले यसैसाता स्कटल्यान्ड र नामिबियासँग लिग-२ मा सबै चार खेल जितेको थियो । लामिछानले नेपालबाट सर्वाधिक १३ विकेट लिएका थिए ।

बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेशसँगै उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।

नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

केन्यामा ५ वटा टी–२० खेल खेलेर लामिछाने क्यारेबियन प्रिमियम लिग खेल्न जमैका पुगेका बखत भदौ २१ मा नाबालिगले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामिछाने जमैकाबाट अमेरिका गएका थिए । असोज २० मा नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?