कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानका पूर्वउपकुलपति दासविरुद्ध भ्रष्टाचार मुद्दा

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बलभद्रप्रसाद दासविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान मंगलबार आयोगले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बीपी प्रतिष्ठानका पूर्वउपकुलपति दासविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वउपकुलति दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले डा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित विगो भर्न माग गरी मुद्दा दायर गरेको हो ।

पूर्वउपकुपति दास प्रतिष्ठानको विभिन्न सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ । फर्माकोलोजिस्ट डा.दासले ०५० सालमा हाउस अफिसरमा नियुक्त भएर प्रतिष्ठानमा प्रवेश गरेका थिए । त्यसपछि उनी प्रतिष्ठानको अस्पताल निर्देशक हुँदै २०६८ सालमा उपकुलपति भएका थिए । उनी प्राध्यापक पदमा प्रतिष्ठानमै कार्यरत छन् ।

अख्तियारले बिशेष अदालतमा यो दोस्रो पटक मुद्दा दायर गरेको हो । यसअघि उनीसहित अन्य पूर्वपदाधिकारीहरुलाई विभिन्न सामग्री खरिदमा प्रतिष्ठानलाई नोक्सानी हुने गरी मिलेमतो गरेको भन्दै भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार डा दासले प्रतिष्ठानमा काम सुरु गरेको ०५० सालदेखि २०७६ असारसम्मको अवधिमा वैध आय ७ करोड ७० लाख १० हजार ४ सय ९८ रुपैयाँ ८० पैसामात्र देखिएको छ । तर लगानी र खर्च भने १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैयाँ पुष्टि हुन आएपछि उनको सम्पत्ति अवैध रहेको भन्दै मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार दासले अवैध सम्पत्ति श्रीमती पुनम दासको नाममा समेत राखेको पाइएको छ ।

दुवैको नाममा रहेकोमध्ये ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्तिको स्रोत नखुलेकाले जफत गर्न पनि अख्तियारले माग गरेको छ । दासले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियाको आरोपपत्रमा भनिएको छ, ‘प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम निज डा. बलभद्रप्रसाद दासको चलअचल सम्पत्तिबाट जफत गर्न मागदावी गर्न काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।’

प्रकाशित : भाद्र ३०, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?