कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित नर्सले हेरेको बिरामी आएपछि बीपीको प्रसूति विभाग सिल

धनकुटाको जिल्ला अस्पतालमा कार्यरत नर्सले हेरेका प्रसूतिमध्ये यसअघि पनि ६ जनालाई प्रतिष्ठान पठाइएको खुलेको छ ।
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभाग सिल गरिएको छ । धनकुटाको जिल्ला अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सले रिफर गरेको बिरामी विभागमा भर्ना भएको खुलेपछि सोमबार सिल गरिएको हो ।

संक्रमित नर्सले हेरेको बिरामी आएपछि बीपीको प्रसूति विभाग सिल

प्रतिष्ठानले बिहानदेखि नै स्त्री तथा प्रसूति विभाग, ओपिडी र वार्डलाई सिल गरेको छ । विभागीय प्रमुख प्राडा. मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पतालमा ज्वरो आएका दुई महिलामध्ये एकलाई कोरोना संक्रमित नर्सले प्रतिष्ठानमा रिफर गरेकी थिइन् । ती नर्सले हेरेका प्रसूतिमध्ये यसअघि पनि ६ जनालाई प्रतिष्ठानमा पठाइएको खुलेको छ ।

‘ती महिला गत शुक्रबार गाइनो वार्ड विभागमा भर्ना भएकी थिइन् । उनको दुई साताअघि शल्यक्रियामार्फत धनकुटा अस्पतालमा बच्चा भइसकेको छ,' उनले भने, 'डिस्चार्ज भएर घर गएकी सुत्केरी इन्फेक्सन भएपछि पुनः अस्पताल आएकी थिइन् ।’ ती महिलालाई प्रतिष्ठानकै आइसोलेसन वार्डमा राखिएको छ ।

प्रमुख रेग्मीका अनुसार भर्ना भएकी बिरामीको पीसीआर रिपोर्ट नआएसम्म सिल गरिएको छ भने नयाँ बिरामी भर्ना नगर्ने र भएका विरामीलाई पनि डिस्चार्ज नदिने निर्णय गरिएको छ ।

प्रतिष्ठानको प्रसूति विभागमा दैनिक ३० देखि ४० जना बिरामी आउने गरेका थिए । विभागका वार्डहरुमा अहिले पनि सुत्केरी भइसकेका र हुन बाँकी गरी ९० महिला रहेका छन् । उनीहरुलाई पहिलेकै चिकित्सक र नर्सको टिमले हेर्नेछन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?