कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक भारतीय पत्रकारको सम्झनामा २०४६ सालको जनआन्दोलन

‘नेपालको लोकतन्त्रिक आन्दोलनको कोसेढुंगा हो’
भारत भूषण

काठमाडौँ — म त्यसताका भारतीय अंग्रेजी दैनिक ‘द टाइम्स अफ इण्डिया’को विशेष संवाददाता थिएँ । एक दिन कार्यकारी सम्पादक दिलीप पद्गावँकरको फोन आयो । उनले ‘चन्द्रशेखर नेपाल जाँदै छन् र केही भारतीय पत्रकारहरुलाई पनि लैजान चाहन्छन् । तिमी जाने हो ?’ भनेर सोधे । 

एक भारतीय पत्रकारको सम्झनामा २०४६ सालको जनआन्दोलन

त्यतिबेलासम्म मलाई नेपाल एउटा हिन्दु राष्ट्र हो र राजा छन् भन्ने मात्र थियो । छिमेकी भए पनि अरु थप जानकारी थिएन । बेलायत र अन्य मुलुक घुमेको भए पनि छिमेकी मुलुकहरु जान पाएको थिइनँ । त्यही भएर मैले ‘हुन्छ’ भनेँ । त्यसपछि नेपाल कस्तो होला भन्ने कौतूहलता जाग्न थाल्यो ।

चन्द्रशेखर नेपालमा प्रजातन्त्र पुनर्बहाली हुनुपर्छ भन्नेमा थिए । भारत सरकारको साथ नभए पनि उनले नेपालका राजनीतिक दलहरुलाई धेरै पहिलेदेखि सघाइरहेको कुरा मैले पछि थाहा पाएँ । चन्द्रशेखरजस्तो नेतासँग जान पाउनु आफैंमा एउटा अवसर पनि थियो । हाम्रो टोलीमा नेपाल बुझेका अन्य पत्रकार पनि थिए । तीमध्ये मोहन रामलाई सम्झन्छु । उनी ‘फार इस्टर्न इकोनोमिक रिभ्यु’का साउथ एसिया ब्यूरो प्रमुख थिए । उनले पनि मलाई नेपालका बारेमा बुझ्न धेरै सघाए ।


काठमाडौं करीब एक हप्ता बसें । त्यो त मेरो नेपाल र नेपालीसँगको सम्बन्धका हिसाबले सुरुआत मात्र रहेछ । २०४६ सालको गणेशमान सिंहको चाक्सीबारीस्थित घरमा भएको भेला अहिले पनि सम्झिन्छु । ५ माघ २०४६ (१८ जनवरी १९८९) को दिन उक्त भेलालाई चन्द्रशेखरले सम्बोधन गर्नु भएको थियो । त्यहाँ सुब्रमण्‍यम स्वामी, कमल मुरारकालगायतका भारतीय नेताहरु पनि थिए ।


कार्यकर्ताहरुले पुरै आँगन ढाकिएको थियो । उभिने ठाउँसमेत थिएन । सबैलाई भारतीय नेताहरुले के भन्छन् भन्ने चासो थियो । चन्द्रशेखरले राजासामु नेपालमा प्रजातन्त्र बहालीको विकल्प छैन भनेर भाषण गरे ।

त्यहाँ गणेशमान सिंह, मनमोहन अधिकारी पनि हुनुहुन्थ्यो । गणेशमान सिंहको घरमा भएको उक्त भेला नै नेपालको लोकतन्त्र बहालीका लागि कोसेढुंगा साबित भयो । त्यसले राजालाई प्रजातन्त्र पुनर्स्थापना गर्न ठूलो दबाब पर्‍यो । र, आन्दोलनले पनि ठूला रुप लियो ।

दिल्ली फर्केपछि नेपाली कांग्रेसका केही युवा नेताहरुलाई चन्द्रशेखरले गोप्य रुपमा नरेन्द्र निकेतनमा बस्ने व्यवस्था मिलाएको कुरा मैले थाहा पाएँ । चक्र बाँस्तोला, किशोर नेपाल र हरि शर्मालाई त्यहीँ गएर भेट्न थालें । उनीहरुलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा वातावरण निर्माण गर्न पठाइएको रहेछ । काठमाडौं गएको बेला उनीहरुसँग राम्रो सम्बन्ध बनेको थियो ।

आइतबारको दिन थियो । म बच्चाहरुलाई घुमाउन चिडियाखाना गएको थिएँ । त्यही बेला नेपालमा आन्दोलनकारीमाथि गोली चलेको र धेरै हताहत भएको खबर पाएँ । त्यो सुनेपछि अब नेपालमा प्रजातन्त्र आयो भन्नेमा म ढुक्क भएँ । किनभने, आन्दोलनकारीमाथि गोली चल्नु भनेको राजाले हार मान्नु थियो । त्यसपछि म बच्चाहरुलाई लिएर नरेन्द्र निकेतनतिर सोझिएँ । बाटोमा एक किलो काँक्रो र एक किलो पेडा लिएर गएको अझै पनि सम्झन्छु । खुशीको कुरा भएकाले साथीहरुलाई मिठाई खुवाउन चाहन्थे । तर, त्यहाँ पुग्दा चक्रजी पुरै तनावमा थिए ।

मैले चक्रजीलाई ‘बधाई छ मिठाई खानुस्’ भनेको मात्र थिएँ उनी झनक्क रिसाए । ‘भूषणजी के ठट्टा गरेको ?’ भने । मैले आन्दोलनकारीमाथि सेनाले गोली चलाउनु भनेको राजा हारेको हो भन्ने तर्क गरें । त्यसपछि म फेरि बच्चाहरुलाई लिएर चिडियाखानातिरै लागें ।

साँझ ‘टाइम्स अफ इण्डिया’ पुगें । आखिर नभन्दै राति अबेर राजाको घोषणा आयो । नेपालमा प्रजातन्त्रबहाली भयो । तत्कालै चक्रजीलाई फोन गरें । तुरुन्त अफिस आउनु भने । सबैजना ‘टाइम्स अफ इण्डिया’को अफिस आइपुगे । र, उनीहरु सबैको भनाई लियौं । त्यसपछि मैले पार्टी दिनुपर्छ भनें । त्यतिबेला निकै ढिलो भइसकेको थियो । प्रेस क्लबमा मात्रै रक्सी पाइन्थ्यो । र, त्यो पनि पहिले नै भन्नुपर्थ्यो । अफिसबाटै फोन गरेर हामी आउँदैछौं भन्यौं । प्रेस क्लबमा गएर केही समय बिताएपछि कनाटप्लेसको एउटा ढावामा गएर खाना खाएको अझै पनि सम्झना छ ।


नेपालको त्यो भ्रमणले मलाई नेपालका राजनीतिज्ञहरुसँग परिचित मात्र गराएन, धेरै मित्रहरु पनि कमाएँ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालासँग व्यक्तिगत सम्बन्ध बन्यो । त्यहीबेला मैले गणेशमान सिंहको अन्तर्वार्ता पनि लिएँ । उहाँ त साहसको प्रतीक हुनुहुन्थ्यो । साथै मनमोहन अधिकारीको राजनीतिक व्यक्तित्वबाट पनि पनि निकै प्रभावित भएको थिएँ । दुवैजना नेपालको राजनीतिको आदर्श हुनुहुन्थ्यो । त्यो भेला र काठमाडौंको यात्रा मेरा लागि जीवनकै अविस्मरणीय क्षण बन्यो ।

नेपाली कांग्रेसका युवा नेताहरुसँग त घनिष्ट सम्बन्ध नै स्थापित भयो । विशेषगरी चक्र बाँस्तोला, जयप्रकाश गुप्ता र हरि शर्मा । चक्रजीसँग त मेरा लागि ठूलो दाजुजस्तो सम्बन्ध थियो । पारिवारिक सम्बन्ध थियो । हरि शर्मा र किशोर नेपाल दुवैसँग अहिलेसम्म पनि उत्तिकै घनिष्ट सम्बन्ध छ । दुःखको कुरा चक्रजी अहिले हुनुहुन्न तर, काठमाडौं गएको बेला भाउजूलाई भेट्छु । उहाँहरुकै कारण मैले नेपालको राजनीति बुझ्न पाएँ । र, त्यसले मलाई भारतको राजनीतिलाई पनि नयाँ कोणबाट बुझ्न सघायो ।

गिरिजाप्रसाद कोइरालासँग पनि त्यत्तिकै राम्रो सम्बन्ध थियो । उहाँको निधन हुँदा म ‘मेल टुडे’को सम्पादक थिएँ । अफिसले मलाई छुट्टी दिने सम्भावना थिएन । तर, मैले आफूलाई रोक्न सकिनँ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन भनेर नै काठमाडौं पुगेको थिएँ । त्यसैगरी कृष्णप्रसाद भट्टराई (किसुनजी) सँग पनि धेरैपटक भेट भएको छ ।


अहिले पछाडि फर्केर हेर्दा नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनको साक्षी बन्न पाएकोमा खुशी लाग्छ । मेरो विचारमा नेपालले अहिलेसम्म जेजति राजनीतिक परिवर्तन हासिल गरेको छ त्यसको प्रस्थान विन्दु भनेको २०४६ सालकै आन्दोलन हो । र, त्यसको सुरुआत गणेशमान सिंहको घरबाटै भएको हो । अहिले नेपालमा गणतन्त्र छ । त्यसको पहिलो पाइला पनि त्यही घरबाट थालिएको थियो ।

त्यो आन्दोलनले अहिंसाको शक्ति देखाएको थियो । नेपालमा राजनीतिक परिवर्तनका लागि विमान अपहरणदेखि सशस्त्र विद्रोहसम्म भए । तर, जेजति राजनीतिक उपलब्धि हासिल भएको छ, त्यसको अन्तिम निकास शान्तिपूर्ण वार्ताबाटै सम्भव छ । त्यसकारण पनि गणेशमान सिंह र उहाँको त्यो घरको महत्व नेपालको राजनीतिक परिवर्तनका लागि सँधै नै रहिरहन्छ जस्तो लाग्छ । र, मलाई विश्वास छ नेपाली जनताले पनि त्यो घटना र उपलब्धिलाई सधैँ सम्झिरहनेछन् ।

(भारतका वरिष्ठ पत्रकार भूषणसँग कान्तिपुरका नयाँदिल्ली संवाददता सुरेशराज न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र २६, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?