२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युद्ध मैदानभन्दा डरलाग्दो इटाली

हामीले अपनाइरहेको मोडेलमाथि सोचविचार गर्नुपर्छ । कडा अनुशासनमा बस्नुपर्छ । सकेसम्म शंकास्पद बिरामीको घरसम्म एम्बुलेन्स लगेर उनीहरुको जाँच र उपचार गर्नुपर्छ । बिरामीलाई घरघरबाट उठाएर ल्याउने व्यवस्था मिलाउनुपर्छ । सावधानी नै रोगबाट जोगिने उचित उपाय हो, त्यसैमा जोड दिनुपर्छ ।
शैलेन्द्र श्रेष्ठ

सशस्त्र प्रहरी बलबाट अवकाश भएपछि मैले आफ्नै रहरले कानुनमा स्नातकोत्तर (एलएलएम) गरेँ र केही पहिले मास्टर्स तहको अन्तर्राष्ट्रिय कोर्षका लागि अप्लाई गरेँ । त्यसैको सिलसिलामा अन्तर्राष्ट्रिय कानुनको सम्पदा संरक्षणसम्बन्धी कानुन (हेरिटेज ल) पढ्न करिब डेढ महिनाअघि म इटालीको तुरिन विश्वविद्यालय गएँ । म पुग्दा तुरिन सिटीमा खासै संक्रमण फैलिएको थिएन । बरु रोम र भेनिसतिर व्यापक भइसकेको थियो ।

युद्ध मैदानभन्दा डरलाग्दो इटाली

त्यहाँ जानुअघि नै चीनको खबर थाहा पाएकाले सुरक्षाका लागि पञ्जा र मास्कहरू बोकेको थिएँ । सहपाठी र चिनेजानेका सबैले हात मिलाउने अभिवादनको सामान्य प्रक्रिया थियो । मचाहिँ सबैलाई नमस्कार गर्थें । मेरो त्यो व्यवहारप्रति धेरै साथीहरूले टिकाटिप्पणी गरे । कतिले ‘डरपोक’ भने, कतिले केही हुँदैन भन्दै हात अघि सारे । सबैलाई नमस्कार गर्दा म हाँसोको पात्र बनेँ ।

डढेलोजस्तो संक्रमण

त्यहाँ फेब्रुअरीको अन्तिम सातातिर एक जनाको निधन भयो । त्यसलगत्तै संक्रमितको संख्या ह्वात्तै बढ्यो । सरकारले सावधानी अपनाउन सार्वजनिक अपिल जारी गर्‍यो । त्यहाँका मानिसहरू अनुशासनमा बस्दैन रहेछन् भन्ने मेरो बुझाइ रह्यो । दिनहुँ संक्रमितको संख्या बढ्यो । दुई सातामा यसरी बढेर गयो कि विश्वास गर्नै नसकिने खालको भयो । तैपनि मानिसहरूले चेतेनन् । सामान्य अवस्था जस्तो व्यवहार र क्रियाकलाप जारी राखे । बजारमा जाने, भेला र जमघट गर्ने, खाने फर्कने भइरहेको थियो । म चीनको अवस्था देखेर अलि सतर्क थिएँ तर साथीहरू ‘जाऊँ हिँड, बाहिर गएर खाएर आऊँ’ भनिरहन्थे, म मान्दिनथें ।


केही दिनमै अवस्था निकै भयावह हुन थाल्यो । छिनछिनमा एम्बुलेन्स जाने, एकै छिनमा फर्कने गर्न थाले । अर्कोपट्टि त्यस्तै साइरन बजाएर एम्बुलेन्स र सुरक्षाकर्मीका गाडी दौडने गर्न थाले । हामीले राष्ट्रिय संकट र विपत्तिमा सेना र प्रहरीले काम गर्ने भनेर सिद्धान्तमा पढेका थियौं । सेवामा हुञ्जेल यसको वास्तविक अर्थ बुझ्न सकेको थिइनँ । अब म पनि मर्ने भएँ कि क्या हो भनेर सबैजना भयभित हुने अवस्था आउन थालेपछि बागडोर सम्हाल्नुपर्ने सुरक्षाकर्मीले नै रहेछ ।

विपत् व्यवस्थापनमा सुरक्षा निकायलाई जिम्मेवारी दिने चलनबारे जहिले पनि म सोचमग्न हुन्थें । बन्दुक बोक्ने र युद्धमा जाने मान्छेलाई किन युद्धबाहेकका विपत व्यवस्थापनको जिम्मेवारी दिने होला भन्ने सोच्थें । इटालीका सुरक्षा निकाय (खासगरी सेना) का मान्छेको काम देखेर म चकित परें । लडाइँभन्दा दर्दनाक अवस्था थियो, लडाइँ बरु सजिलो होला जस्तो लाग्छ । त्यस्तो अवस्थामा सुरक्षाकर्मीले अग्रपंक्तिमा बसेर काम गर्दा रहेछन् । परिवारका सदस्यसमेत नगएको अवस्थामा अस्पतालमा मरेकाहरूको शव व्यवस्थापनलगायतका जोखिमपूर्ण काममा सैनिकहरू परिचालित थिए ।


जनताले अटेर गरेपछि

त्यहाँ संक्रमण सुरु भइसकेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको थियो तर दैनिकी नियमित रुपमा चलिरह्यो, कसैले गम्भीरतासाथ लिएनन् । उनीहरुको जीवनशैली, स्वस्थता, सरसफाइ र स्वास्थ्य सुविधा हामीसँग तुलना हुँदैन, निकै राम्रो छ । तर उनीहरूले यो महामारीको पूर्वसन्ध्यामा आवश्यक सावधानी नअपनाउँदा संक्रमण डढेलोझैं फैलियो ।


त्यहाँको सरकारले संक्रमण नियन्त्रणको केही प्रयास गरेकै हो तर नराम्रोसँग चुक्यो । बेलैमा लकडाउन नगर्दा र नागरिकले सरकारका निर्देशनलाई सामान्य ठानिदिँदा महाभूल भएको देखियो । म पढ्न जाने युनिभर्सिटीको क्लासमा सेनाका अधिकृतहरूलगायत अरु पनि थिए । नेपालमा पनि सेनाकै स्कुलमा पढेको हुनाले फौजी अनुशासनसँग परिचित थिए । आफू सतर्क भएर हात नमिलाउँदा म साथीहरुको सोसाइटीबाट बाहेक भएजस्तो देखियो । ‘तँ डराउँदो रहेछस्’ भनेपछि मैले जवाफमा ‘म लड्न डराएको होइन, यो लडाइँजस्तो होइन । यो बहादुरी देखाउने नभइ सावधानी देखाउने बेला हो’ भनें । यसो भन्दा उनीहरुलाई जोक सुनाएजस्तो हुन्थ्यो । मेरो भनाइ उनीहरुले सुन्ने र टेर्ने त कुरै थिएन ।


त्यसपछि सरकारले मास्क लगाउनुपर्ने नियम ल्यायो । भीडमा नहिँड्नु भन्यो, कसैले सुनेनन् । ‘चीनले अलि जोरजबर्जस्ती शैलीमा नियन्त्रण गरेको हो । हामी त प्रजातान्त्रिक प्रणाली भएको मुलुक हो, कहाँ जबर्जस्ती हुन्छ ?’ भन्ने शैलीमा मानिसहरू प्रस्तुत भए । उनीहरुको बोली, व्यवहार र प्रतिक्रियासमेत त्यस्तै खालको थियो । सबैले नटेरेपछि प्रधानमन्त्रीले विशेष आदेश नै जारी गर्नुपरेको थियो । त्यो आदेश भएको कागज सबैलाई बाँडियो । त्यही कागजमा साथमा राख्ने र कहीं जाँदा त्यो देखाउनुपर्ने नियम बसाइयो । मैले पनि बाहिर हिँड्दा त्यो कागज लिएर ठाउँ–ठाउँमा देखाएँ । यो कामका लागि यतिबेला यहाँ जान्छु भनेपछि उनीहरुले जाँचपड्ताल गरेर मात्रै जान दिन्थे । त्यति गर्दा पनि लकडाउनको नियम प्रभावकारी भएन । अनि सरकारले ठूलो रकम जरिवानाको घोषणा गरेपछि घुमफिरको बन्देज अलि पालना भयो ।


म त्यहाँ रहँदा भात आफैं पकाएर खान्थें । त्यसका लागि सामान किन्न बाहिर निस्कनुपर्थ्यो । पसल जाँदा मास्क लगाएर हिँड्थेँ । मानिसहरू मदेखि टाढा हुने, डराउनेजस्तो व्यवहार गर्न थाले । ‘किन मास्क लगाएर आएको, तिमी बिरामी हौ ?’ भनेर सोध्न थाले । भोलिपल्ट मास्क सकिएपछि औषधि पसलमा मास्क किन्न गएको थिएँ । ‘तिमी बिरामी भएर पनि यति नजिक किन आएको, अलि परै बस’ भने । जवाफमा मैले ‘म स्वस्थ छु, मैले सावधानीका लागि मात्रै मास्क लगाएको हुँ’ भनेर स्पष्टीकरण दिनुपर्‍यो । मास्क लगाउनेलाई बिरामी ठान्ने उनीहरु सरकारले जारी गरेको आदेशसमेत उल्लंघन गरिरहेका थिए ।


पर्यटकहरुको भीड हुने सहरहरु संक्रमण बढ्दै गएपछि रित्तिइसकेका थिएँ । निश्चित समयमा अत्यावश्यक सामानका लागि पसल खुल्थ्यो । भीड नगरी सामान किन्न पाइने नियम बनाइएको थियो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अहिले पनि संक्रमितहरूको ट्रेसिङ गरिरहेका छन् । तर स्वतन्त्रताको अत्यधिक उपभोग गरेका आमनागरिकलाई ‘क्वारेन्टाइन’ जस्तो कठोर अवस्थामा ल्याउन सरकारलाई निकै हम्मेहम्मे पर्‍यो । त्यही अवधिमा संक्रमण व्यापक फैलिएको देखिन्छ ।


त्यही दिन साथीहरूले फेरि मलाई बाहिर गएर बेलुकीको खाना खाने अफर गरे । ‘म त जाँदिनँ’ भनेर प्रतिक्रिया दिँदा उनीहरु ‘कहाँ यो फ्लु (रुघाखोकी) सँग पनि डराएर हुन्छ, पेल्नुपर्छ’ भनेर ठट्यौली शैलीमा प्रस्तुत भए । त्यसको भोलिपल्टदेखि सरकारले बन्देज उल्लंघन गर्नेलाई तीन महिना जेल हाल्ने चेतावनी दियो । त्यसलाई पनि कडाइको भाषामा प्रधानमन्त्रीको आदेश भनिएको थियो ।


क्वारेन्टाइनमा छु

म मार्च १७ तारिख (चैत ७ गते मध्यराति) नेपाल आइपुगेँ । नेपाल आउनु २/३ दिन अघिदेखि बजारमा फाट्टफुट्ट मास्क लगाएका मानिसहरू देखिन थालेका थिए । म हिँड्नु अघिल्लो दिन पनि केही कामले बजार गएको थिएँ । त्यतिबेला चाहिँ पसलहरूमा ग्राहकलाई दूरीमा राखेर सामान बिक्री गरिरहेका थिए । म आएको ९ दिन भयो । आएपछि परिवारका सदस्यसँग पनि बसेको छैन । घरको तलपट्टि बसेर आफैं खाना पकाएर खाने गरेको छु । संक्रमणको त्रासका कारण म विमानस्थलदेखि घरसम्म आउँदा गाडीमा पनि प्लास्टिक ओढेर आएको थिएँ । अहिले मैले सशस्त्र प्रहरी अस्पतालमा समन्वय गरेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको छु । म क्वारेन्टाइनको अवधिभर कतै पनि जान्न ।


फर्केर आउने क्रममा जर्मनीमा पुलिसले अलि बढी सोधपुछ र केरकार गरेको थियो । मेरो फ्लाइट छुटेपछि कतार हुँदै आएँ । म कतार आएपछि त्यहाँ स्वदेश फर्कन लागेका थुप्रै नेपाली भेटिए । उनीहरू अधिकांश मास्क र चस्माबिना बसेका थिए । तपाईंहरू सोझै घर नजानु, क्वारेन्टाइनमा बसेर सुरक्षित भएपछि मात्रै घरमा घुलमिल हुनुहोला भनेर सुझाव दिए । विमानमा पनि मैले त्यही सुझाव दिएँ । हामी त घर फर्किने हो, बाँचे सँगै बाँच्ने, मरे सँगै मर्ने हो भनेर जवाफ दिन थाले । उनीहरूलाई मैले सकेको सम्झाएर आफू पनि जोगिनुपर्छ, परिवार र छिमेकीलाई पनि संक्रमणबाट जोगिन दुई साता अलग बस्नुपर्छ भन्ने सल्लाह दिएँ तर उनीहरु त्यो ‘मुड’ मा थिएनन् ।


इटालीबाट के सिक्ने ?

नेपालको भन्दा १० औं गुणा गुणस्तर र सेवा प्रवाह क्षमता भएको इटालीमा स्वास्थ्य प्रणालीले मात्रै नसकेर सेना परिचालन गर्नुपरेको छ । त्यहाँ कसैले शव उठाएको छैन, सेना नै खटिनुपरेको छ । मसँगै पढ्ने एउटा सहपाठी त्यहाँको सेनाको उच्च अधिकारी पनि हो । ऊसँग कहिलेकाहीँ कुराकानी हुँदा अवस्था अझै जटिल रहेको बताउँछ ।


इटालीको अनुभवले के देखायो भने मानिस आफैं अस्पताल जाने होइन रहेछ । सबैका लागि एउटा टोल फ्री नम्बर बनाइदिने अनि त्यसमै बिरामी र लक्षण देखिएका मानिसहरूले खबर गर्नुपर्ने रहेछ । बरु सबैलाई पायक पर्ने ठाउँमा स्क्रिनिङ सेन्टर बनाउने, त्यहाँ एम्बुलेन्स पनि राखेर लैजाने । विकसित मुलुकको तुलनामा हामीसँग स्रोतसाधन केही पनि छैन । यहाँ बस्नेहरुले इटालीको समाचार सुनेका मात्रै छन्, त्यसले खासै प्रभाव र असर पर्दैन ।


पछिल्ला दिनहरुमा त्यहाँको अवस्था भयावह थियो । त्यति स्रोत–साधनका बाबजुद स्थिति नियन्त्रणबाहिर गएको थियो । हाम्रोमा त के हाल होला ? सम्झँदा कहाली लाग्छ । इटालीमा कसैलाई लक्षण देखियो वा यो कोरोना संक्रमित हो भन्ने भयो भने एम्बुलेन्समा हालेर लगेको देखियो । किनभने बिरामी आफैं अस्पताल जाँदा ऊबाट अरु संक्रमित हुने डर हुन्छ । त्यहाँ त्यस्ता स्क्रिनिङ सेन्टरबाट अस्पताल लैजाने एम्बुलेन्सहरु पनि संक्रमण नसर्ने गरी सुरक्षाको उपाय अपनाएर व्यवस्थित गरिएको हुन्थ्यो । नेपालले पनि यही मोडेल अपनाउनुपर्छ होला ।


हामीले हाल अपनाइरहेको मोडेलमाथि पनि सोचविचार गर्नुपर्छ । त्यसैले मेरो व्यक्तिगत सल्लाह– सके शंकास्पद बिरामीको घरसम्म एम्बुलेन्स लगेर उनीहरुको जाँच र उपचार गर्नुपर्छ । नभए झनै जोखिम हुन्छ । शंकास्पद बिरामी आफैं अस्पताल पुग्ने र उपचारका लागि पालो पर्खिने अहिलेको तरिका गलत छ । ऊ अरुका सवारीसाधन वा सहायताबाट अस्पताल जाँदा संक्रमण फैलने जोखिम रहन्छ । बिरामीलाई घरघरबाट उठाएर ल्याउने व्यवस्था अपनाउनैपर्छ ।


मैले इटालीको अनुभव देखेर भनिरहेको हुँ, त्यहाँ एकजना मानिस मरेपछि त्यो संख्या १० भएन, झन्डै १०० पुग्यो । डढेलोको शैलीमा संक्रमण बढ्यो । इटालीको पाठ सिकेर हामीले कडा रुपमा अनुशासनको पालना गर्नुपर्छ, त्यसको कुनै विकल्प छैन । हाम्रोमा जसरी लकडाउन भएको छ, त्यो निकै राम्रो काम हो । एकापसमा दुरी बढाउनै पर्छ । त्यसको कुनै विकल्प छैन । यो कडाइका साथ लागू नगरेमा बेहाल हुन्छ, त्यसपछि कसैले बचाउन सक्नेवाला छैन । उनीहरूले ढिलो भए पनि महसुस गरेका कारण लकडाउनकै रणनीतिमा आइपुगेका हुन् । हाम्रोमा सावधानी नै रोगबाट जोगिने उचित उपाय हो र त्यसमै जोड दिनुपर्छ ।


(सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक श्रेष्ठसँग कान्तिपुरकर्मी कृष्ण ज्ञवालीले फोनबाट गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र १५, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?