कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइनमा राख्‍नै मुस्किल

सुदूरपश्चिम ब्युरो

धनगढी — भारतबाट पछिल्ला दिनहरूमा फर्केकालाई सम्बन्धित जिल्ला र पालिकामै क्वारेन्टाइनमा राख्ने निर्णय कार्यान्वयन गर्न मुस्किल देखिएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै मंगलबार नेपाल भित्रिएका १ हजार १७ जनालाई प्रदेश सरकारले राति सम्बन्धित जिल्लामा पठाएको थियो ।

क्‍वारेन्टाइनमा राख्‍नै मुस्किल

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनिएकामा अधिकांशले बस्नै नमानेको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन् । सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणका अनुसार चैत ६ देखि ११ सम्म भारतका विभिन्न सहरबाट कैलालीका विभिन्न नाका हुँदै ५२ हजार ५ सय ८७ जना नेपाल भित्रिएका छन् ।


कतिपयले क्वारेन्टाइनमा बस्न नमानेको खबर आएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । ‘सबै पालिकालाई अनिवार्य रूपमा क्वारेन्टाइन बनाउन भनेका छौं,’ उनले भने, ‘तर धेरैजसोले क्वारेन्टाइनमा बस्नै नचाहेको जानकारी आएको छ । त्यस्तो अवस्थामा सुरक्षा निकायसँग समन्वय गरेर भए पनि उनीहरूलाई त्यहाँ राख्नुपर्छ भनेर सर्कुलर गरेका छौं ।’

‘भारतबाट पालिकामा आएकाको संख्या कति हो भन्ने यकिन हुन सकेन,’ बाजुराको बूढीगंगा नगरपालिका प्रमुख दीपकविक्रम शाहले भने, ‘संख्या यकिन भएपछि क्वारेन्टाइन तयार गर्ने कुरा त छ । तर हामीलाई जानकारी भएका कतिपय भने क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन् ।’


बैतडीमा दुई दिनमा भारतबाट ९० जना भित्रिएका छन् । जिल्लाको मुख्य झुलाघाट नाका बन्द भए पनि, मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा महाकाली नदी तरेर उनीहरू आएका हुन् । ट्युबबाट तरेर आएका उनीहरूमध्ये अहिलेसम्म ३५ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ । अन्यको तथ्यांक संकलन गरेर सम्बन्धित पालिकाको जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । उनका अनुसार २२ जनाभन्दा बढीलाई जिल्ला सदरमुकामको जगन्नाथ बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

पञ्चेश्वर गाउँपालिकाले पनि भारतबाट फर्केर पालिएकामा आएका ३ जनालाई एक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनका राखिएको जनाएको छ । गत सातासम्म भारतबाट आएका २ हजार ३ सय ६ जना भने आफ्नै घर गएका छन् ।


केही दिनअघि धनगढीबाट आएकी दशरथचन्द नगरपालिकाकी एक महिलालाई उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको छ । मंगलबार महाकालीमा ट्युब तरेर आएका ५ जनामध्ये एकमा उच्च ज्वरो देखिएको बैतडी अस्पताल प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । जिल्लाबाट दुई जनाको नमुना जाँचका लागि काठमाडौं पठाइएको छ । रिपोर्ट नआउँदासम्म उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने जोशीले बताए ।

डोटीका ९ वटै स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था मिलाएका छन् । जनप्रतिनिधि, प्रशासन र नागरिक समाजको लामो प्रयासपछि भारतबाट फर्किएकाहरूलाइ क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । बुधबार घर आइपुगेकाहरूलाई स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था गरे पनि खाना र शौचालयको प्रबन्ध मिलाउन कठिनाइ भइरहेको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।


दिपायल राजपुरस्थित डोटी सभाहलमा बुधबार केआईसिंह गाउँपालिकाका ११ र दिपायल सिलगढी नगरपालिकाका २२ गरी ३३ जनालाई राखिएको छ । राजपुरमा निर्माणधीन डोटी सभाहलको भुइँतलामा दिपायल सिलगढी नगरपालिकाका, माथिल्लो तलामा केआईसिंह गाउँपालिकालाई छुट्टाछुट्टै राखिएको छ । उनीहरूलाई सम्बन्धित स्थानीय तहले बाहिरबाट नै खाना पकाएर सभाहलमै खुवाउने व्यवस्था गरेका छन् ।

शिखर नगरपालिकामा ७२ जना आइपुगेका छन् । उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको नगरप्रमुख सीताराम जोशीले बताए । आदर्श गाउँपालिकाका ५६ जनालाई वडामै क्वारेन्टाइन व्यवस्था गर्न बुधबार दुईवटा बसमा लगिएको छ । मंगलबार आइपुगेका ११ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । बोगटान गाउँपालिकाका ३३ जनालाई दिपायलको बसपार्कमा राखिएको छ । ‘महिला र बालबालिका रहेकाले उनीहरूलाई खाना खुवाएर बसपार्कमै राखिएको हो,’ गाउँपालिका अध्यक्ष कमल गड्सिलाले भने, ‘उहाँहरूलाई गाडीको प्रबन्ध गरी सम्बन्धित वडाको क्वारेन्टाइनमा पुर्‍याइनेछ ।’ बोगटान गाउँपालिकाका १६ जना बड्डीकेदार पुगेका थिए । उनीलाई त्यहाँबाट फिर्ता गरिन लागेको छ ।


सायल गाउँपालिकाका–५, पूर्वीचौकीमा २ र जोरायलमा एक जना भारतबाट आइपुगेका छन् । उनीहरूलाई वडा कार्यालयमा राखिने भएको छ । बुधबार पुगेकाले क्वारेन्टाइनमा बस्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरूहरू आफू संक्रमित नभएको दाबी गर्दै आएका छन् । क्वारेन्टाइनमा बस्दा कोही संक्रमित भए सबैलाई सर्ने डर भएकाले आफूहरूलाई घरमै सुरक्षित राख्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् ।

अछाममा सीमामा अलपत्र भएपछि गृह जिल्ला पठाइएका ३९ जना यात्रुलाई मंगलसेनस्थित साविकको कृषि विकास कार्यालय भवनको क्वारेन्टाइनमा राखिने भएको छ । लकडाउनपछि भारतबाट अछाम आएकालाई मंगलसैनमा नै राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । ‘सम्बन्धित स्थानीय तहको जिम्मा लगाउँदा बीच बाटोबाटै हराउने सम्भावना भएकाले मंगलसैनमा नै राख्ने व्यवस्था गर्दै छौं,’ उनले भने, ‘धेरैपछि घर फर्केकाहरू गाउँमा जान चाहने भएकाले भेटभाट गर्ने, चहलपहल बढेर भीडभाड गर्ने सम्भावना धेरै हुन्छ ।’


चैत ५ देखि १० सम्म चौखुट्टे, बेलखेत र साँफेबगर एयरपोर्टबाट आएका ३ हजार ८ सय ९१ मध्ये ४२ जनालाई ज्वरो देखिएको स्वास्थ्य प्रमुख झनक ढुंगानाले बताए । उनीहरूमध्ये धेरै जनासँग सम्पर्क नम्बर नभएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भएको उनले बताए । ‘भारतबाट आएका अधिकांशको फोन नम्बर नभएकाले समस्या भएको छ । ज्वरो देखिएका यात्रुहरू ठेगाना सबै राखेर सम्बन्धित तहका स्वास्थ्य संयोजकलाई जानकारी गराएका छौं,’ उनले भने, ‘जनचेतनाका गतिविधि बढाउन स्थानीय तहलाई आग्रह गरेका छौं ।’ पछिल्लो साता मात्रै भारतबाट १५ हजार जनाभन्दा बढी अछाम भित्रिएका छन् ।

मंगलबार साँझ घर फर्केका बझाङका १ सय ८३ जनालाई जिल्लाका विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् । बझाडका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार प्रदेश सरकारबाट क्वारेन्टाइन व्यवस्थापनका लागि प्रत्येक पालिकालाई ५/५ लाख पठाइने भएको छ । ‘सोही रकमबाट स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छन्,’ उनले भने, ‘मंगलबार सीमामा अलपत्र परी घर फर्केकाहरूलाई बझाङका स्थानीय तहले उनीहरूकै गाउँको विद्यालयमा क्यारेन्टाइनको व्यवस्था गरेको हो । उनका अनुसार वित्थड चिर गाउँपालिकाले भने स्वास्थ्य संस्थाको निर्माणाधीन भवन प्रयोग गर्ने भएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?