कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ दिन क्‍वारेन्टाइन ‘पर्याप्त’ होइन

चीनबाट फर्किएकाहरुले १४ दिन क्वारेन्टाइन बसेपछि घर फर्केर पनि बाँकी २० दिन ‘स्वयं अलग’ बस्नुपर्छ । अवधिभित्र कुनै संक्रमण देखिएन भन्नुको अर्थ सबैसँग हेलमेल गर्न र सँगै खानपिन गर्न मिल्छ भन्ने होइन ।
डा. दिलजान मन्सुर

काठमाडौँ — वुहानमा देखापरेको कोरोना भाइरसबारे नेपालमा चालिएका सुरक्षाका कदम न्यूनतम पनि अपर्याप्त छन् । चीनमा दैनिक एक सय जनाको हाराहारीमा मानिसको ज्यान लिइरहेको कोरोना भाइरस नेपाल छिर्‍यो भने यसबाट उत्पन्न परिणाम निकै भयावह हुनेछ ।

१४ दिन क्‍वारेन्टाइन ‘पर्याप्त’ होइन

त्यतिखेर नेपालको कुनै पनि स्रोत साधनले रोग प्रतिरोध वा उपचार गर्न सक्ने क्षमता राख्दैन । अतः नेपालले जिम्मेवारीपूर्वक रोग लाग्नुभन्दा रोग लाग्नै नदिने कदम चाल्नु बुद्धिमानी हुन्छ ।


पहिलो कुरा, कोरोना भाइरस प्रतिरोधका लागि पूर्वतयारी आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठन र चीन आफैंले परीक्षणबाट बताएबमोजिम यो भाइरसको उत्पत्ति दुई दिनदेखि १४ दिनभित्रमा हुने भनेको थियो । चीनले पनि सोहीबमोजिम एक महिनाजति हेर्‍यो तर वुहानमा एक व्यक्तिमा २७ दिनपछि पनि संक्रमण देखिएपछि भने कोरोना देखापर्ने अवधिलाई लम्ब्याइयो । जापानमा डाइमन्ड क्रुजबाट लगिएका व्यक्तिको अवस्था १४ दिनको क्वारेन्टाइनमा नेगेटिभ देखिएको थियो तर ३० दिनपछि पुनः भाइरस देखापर्‍यो । अतः विशेषज्ञले भाइरस देखापर्ने समय बढाएका छन् ।


कोरोनाको अवधि व्यक्तिको रोग प्रतिरोधी क्षमताअनुसार फरकफरक हुन्छ । रोग प्रतिरोधी क्षमता नभएका, छातीसम्बन्धी कुनै रोग भएका, क्यान्सर वा एचआईभी भएका व्यक्तिमा भने ३० दिन नपुग्दै कोरोनाको लक्षण देखापर्न सक्छ । रोग प्रतिरोधी क्षमता भएको र दीर्घरोग नभएको मानिसले लामो समयसम्म दबाएर राखे ३० देखि ४० दिनको बीचमा पनि संक्रमण देखापर्न सक्छ । तसर्थ १४ दिनमै ढुक्क हुन सकिँदैन ।


कोरोना भाइरसको उद्गमस्थल वुहानबाट शंका गरिएका वा सामान्य व्यक्तिलाई सम्बन्धित देशमा फर्किएपछि १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ । तर स्वस्थ व्यक्तिलाई पनि ‘आइसोलेसन’ मा राख्नुपर्छ । चीनबाट फर्किएकाहरूले १४ दिन क्वारेन्टाइन बसेपछि घर फर्केर पनि बाँकी २० दिन ‘स्वयं अलग’ बस्नुपर्छ । आइसोलेसनको अर्थ एक्लै रहनु हो । त्यसको अर्थ घरमा रहँदा पनि मास्क लगाएर बस्ने, घरका सदस्यसँग सम्पर्कमा नआउने र शौचालय अलग प्रयोग गर्ने उपाय अपनाउनुपर्छ । रुमाल र टुथपेस्ट पनि सबैको उही हुनु भएन । अर्काको कोठामा जानु भएन । मास्कको आयु हुने भएकाले प्रयोग गरिसकेपछि खाल्डोमा पुर्ने वा जलाउने गर्नुपर्छ । भाइरस हावामा उडेर अरूलाई संक्रमित बनाउन सक्छ । र्‍याल र थुकका कण उडेर नजाओस् भनेर सतर्क रहनुपर्छ । क्वारेन्टाइनमा संक्रमण देखिएन भन्नुको अर्थ सबैसँग हेलमेल गर्न र सँगै खानपिन गर्न मिल्छ भन्ने होइन ।


नेपालमा मास्क लगाउनेबारेमा यथोचित ध्यान पुर्‍याएको देखिँदैन । सबैभन्दा पहिला मास्क लगाउँदैमा संक्रमण रोकिन्छ भन्ने होइन । मास्क लगाउनुपूर्व स्यानिटाइजर वा डिटोल पानीले हात धुनुपर्छ । मास्क उल्टो/सुल्टो के हो त्यसमा ध्यान दिनुपर्छ । सामान्य सर्जिकल मास्क ४ घन्टाभन्दा बढी लगाउन सकिँदैन । मास्कको सेतोपट्टिको भाग भित्र पार्नुपर्छ ताकि त्यसमा खोकी, र्‍याल, थुक सोस्ने क्षमता हुन्छ । घर फर्किएपछि मास्क उतार्नुपर्छ र तुरुन्तै हात धोइहाल्नुपर्छ । मास्क नभएका मानिसले रुमाल वा सलको फेरो मुखमा बेरेका हुन्छन्, यसले धूलो, धूवाँबाट जोगाए पनि भाइरसबाट जोगाउन सक्दैन । उपाय भएन भने रुमालभित्र टिस्यु पेपर टाँस्न सकिन्छ ।


कोरोना भाइरस जनावरको संसर्गबाट नभएर मानिसबाट सर्ने हुँदा व्यक्तिको अनुशासित सरसफाइ जीवनशैली नै धेरै उपयोगी हुन्छ । राज्यले कुनै पनि विपत्तिपूर्व जनताका लागि पूर्वसचेतनाका कार्यक्रम गर्नुपर्छ । कोरोनाविरुद्ध लड्नका लागि राज्यले जनतालाई मास्क लगाउन प्रेरित वा अनिवार्य गर्नुपर्छ । मास्क कसरी लगाउने भनेर समुदाय वा सानो–ठूलो प्रसारको माध्यम अपनाएर सुसूचित गराउनुपर्छ । घरबाट बाहिर निस्केपछि भीडभाडबाट जोडिने पद्धति अपनाउनुपर्छ । बाटोमा हिँड्दा मानिसको हूलमूलमा के रहेछ भनेर हेर्ने, सार्वजनिक यातायात वा बाटोघाटोमा खकार्दै, सिँगान फ्याँक्दै वा रेलिङ समात्दै हिँड्नुभएन । पाका र बालबच्चाको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनी झन् सजग हुनुपर्‍यो । बालबालिकादेखि नै मास्क लगाउने तरिका सिकाउनुपर्‍यो । विद्यालय, क्याम्पसले गेटमै विद्यार्थीलाई ज्वरो आए/नआएको जाँच्नुपर्‍यो । हरेक क्षेत्रमा थर्मल स्क्यानर वा डिजिटल थर्मोमिटर राख्ने परिपाटी बसाल्नुपर्‍यो ।


कुनै व्यक्तिमा लक्षण देखियो भने आफैं अस्पताल जान खोज्दा बाटोभरिमा उसले कैयौंलाई संक्रमित पारिसकेको हुन्छ । होटल/रेस्टुरेन्टमा चेकिङ गर्नुपर्‍यो, शंकास्पद भए अलग्गै खाने व्यवस्था गर्न सक्नुपर्‍यो । सरकारले हटलाइनमा तालिमप्राप्त जनशक्ति परिचालन गर्नुपर्छर् । जुन पायो त्यही अस्पताल होइन कि यस्ता रोगका लागि निश्चित अस्पताल व्यवस्था गर्न सकिन्छ । घरमा कसैलाई ज्वरो भयो भने प्यारामेडिक्सको टिम आएर डिस्इन्फेक्ट गराएर लैजानुपर्छ ।


नेपालमा छिमेकी मुलुकमा महामारीको रूपमा फैलिएको कोरोनाप्रति स्वास्थ्य निकायहरू उति चनाखो भएको देखिँदैन । टाउको दुखेको, श्वासप्रश्वासमा समस्या वा अक्सिजनको कमीजस्तो लाग्छ भने हटलाइनमा खबर गर्नेजस्तो सामान्य व्यवस्थापन पनि सरकारले गर्न नसक्ने भन्ने होइन । भिजिट नेपालभन्दा ठूलो कुरा मानिसको स्वास्थ्य हो ।

विमानस्थलमा चीन वा अन्य संक्रमित भएका मुलुकबाट आउने पर्यटकको र्‍याल र खकारको स्वाबसँगै उनीहरूको सम्पर्क इत्यादि लिन सक्ने एउटा मेडिकल टिम खटाउन जरुरी छ । साँझ–बिहान वा मध्यराति भनेर रोगलाई स्वतन्त्र छोडिदिनुभएन । रुघाखोकीको मौसम पूर्ण रूपमा गइसकेको छैन । कोरोना भाइरसको संक्रमण घट्नेभन्दा पनि बढ्ने क्रम जारी रहेकाले बेलैमा सचेत र भयावह अवस्था भित्रिनबाट रोक्न गम्भीर बन्नैपर्छ ।


(चीनको फुच्यान मेडिकल युनिभर्सिटी युनियन हस्पिटलका डा. मन्सुरसँग लक्ष्मी लम्सालले गरेको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?