द्वन्द्व सकियो, पीडा सकिएन : पीडित भन्छन्- 'न ज्यान रह्यो, न राहत पाइयो'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्वन्द्व सकियो, पीडा सकिएन : पीडित भन्छन्- 'न ज्यान रह्यो, न राहत पाइयो'

सुदूरपश्चिम ब्युरो

(धनगढी) — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, सुन्दरीफाँटाका लालबहादुर चौधरी अझै अस्पतालमा छन् । कहिले नेपाल त कहिले भारतको अस्पताल धाउँदैमा उनको धेरै खर्च भइसक्यो । सशस्त्र द्वन्द्वमा सुरक्षाकर्मीले पटक–पटक नियन्त्रणमा लिई यातना दिएका कारण उनी दीर्घ रोगी भएका हुन् । पछिल्लोपटक उनी धनगढीमा कोठा भाडामा लिएर उपचार गराइरहेका छन् ।



‘शरीर पूरै दुखिरहेको छ, कोठा भाडामा लिएर फिजियोथेरापी गराइरहेको छु,’ ५१ वर्षीय चौधरीले भने, ‘ढाडदेखि कम्मर तथा पैतलासम्म पूरै शरीर दुख्छ ।’ उनका अनुसार शरीरको बायाँतर्फको भाग दुखेर चिकित्सकको सल्लाहअनुसार नियमित थेरापी गराइरहेका छन् । भारतको बरेलीका चिकित्सकको सल्लाहअनुसार मानसिक रोगको औषधिसमेत सेवन गरिरहेका छन् ।


१७ वर्षदेखि अस्पताल धाउँदै

सशस्त्र द्वन्द्व सकिएको १४ वर्ष पुग्यो । अधिकांशले द्वन्द्व बिर्सिसकेका छन् । तर त्यसका घाउहरू भने अहिले पनि आलै छन् । ग्रामीण भेगमा अहिले पनि लालबहादुर जस्ता धेरै पीडित त्यतिबेलाकै पीडा भोगिरहेका छन् । ‘१६/१७ वर्षदेखि मेरा दिनहरू अस्पतालमै बितिरहेका छन्,’ उनले भने, ‘उपचारकै लागि भएभरको जमिन बिक्री हुने अवस्था आएको छ ।’


पहिलेदेखि नै बिरामी रहेका उनी सशस्त्र द्वन्द्वमा पाएको यातनाका कारण थप थलिएका हुन् । उनका अनुसार हरेक महिना १० हजार बराबरको औषधि भारतबाटै ल्याउनुपर्छ । नियमित स्वास्थ्यजाँच र अन्य उपचारका लागि समेत ठूलै रकम खर्च भइसकेको छ । सरकारबाट कुनै राहत नपाएको उनको गुनासो छ । ज्याला, मजदुरी गरेर परिवार पाल्ने उनलाई आफ्नो उपचारका लागि खर्च जुटाउनुका साथै परिवारको गुजारासमेत गर्नुपर्ने दोहोरो जिम्मेवारीले पिरोलेको छ ।


२०५९ भदौ, बिहान ४/५ बजेको थियो । कृष्णपुर नगरपालिका–१, सुन्दरीफाँटाका लालबहादुर ओछ्यानमै थिए । श्रीमती बेथनियादेवी ढिकीमा धान कुट्दै थिइन् । एकीकृत सुरक्षा फौजको एक हुल आँगनमै पुगेर ‘तेरो श्रीमान् कहाँ छ ?’ भन्दै बेथनियालाई कुटपिट गर्न थाले । त्यसपछि उनले सुरक्षाकर्मीलाई आफ्ना सुतेका श्रीमान् देखाइदिइन् । लालबहादुर अक्क न बक्क भए । ओछ्यानमै पुगेका सुरक्षाकर्मीले उनलाई माओवादी पाल्छस् भन्दै कुटपिट गर्न थालिहाले । दुवै हात पछाडि बाँधेर लात्ती र बन्दुकको नालले कुटपिट गरे । द्वन्द्वकालमा उनी तीनपटकसम्म सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए । बिनाकारण यातना दिने सुरक्षाकर्मीलाई कारबाही भएको हेर्ने चाहना रहेको उनले सुनाए ।


‘सोचेजस्तो भएन’

कृष्णपुर नगरपालिका–६, बञ्जरियाका जीतबहादुर करियाकुंग्रहवा ठूला सपना देखेर सशस्त्र द्वन्द्वमा होमिए । लडाकु भएर उनी देशका विभिन्न ठाउँमा पुगे । ज्यानको बाजी थापेर लडे पनि अहिले सोचेजस्तो नभएकोमा उनलाई पछुतो पनि लागेको छ । ‘लडाइँका क्रममा तीन ठाउँमा घाइते भएँ, बल्लबल्ल ज्यान जोगियो,’ जीतबहादुर भन्छन्, ‘अहिले पनि उपचार चलि नै रहेको छ ।’ उनले उपचारका क्रममा १० लाख बढी खर्च गरिसकेका छन् । शिविरबाट बाहिरिँदा पाएको रकमभन्दा बढी खर्च भइसकेको उनी बताउँछन् ।


‘द्वन्द्व त सकियो तर त्यसका पीडाहरू अहिले पनि ताजै छन्,’ जीतबहादुरले भने, ‘सरकारले यसतर्फ ध्यान दिनुपर्छ, साँच्चै पीडितको पीडामा मल्हम लगाउनुपर्छ ।’ उनले पीडितहरू पनि एकआपसमा जोडिएर पीडा साटासाट गर्नुपर्ने बेला भएको बताए । न्यायका लागि द्वन्द्वपीडित समाज कञ्चनपुरका अध्यक्ष धर्म चौधरीका अनुसार सशस्त्र द्वन्द्वका क्रममा घाइते भएकाहरूको यकिन तथ्यांक नै छैन । उनका अनुसार सबै घाइतेलाई सरकारले प्रमाणित नगर्दा अधिकांशले उपचार खर्चसमेत पाउन सकेका छैनन् । त्यतिबेला घाइते भएका अधिकांशले भारतमा उपचार गरेका कारण पनि खर्च पाउन नसकेका हुन् ।


न ज्यान रह्यो, न राहत पाइयो

‘जनयुद्ध’ कै ठूलो क्षतिका रूपमा लिइएको अछाम आक्रमण एउटा इतिहास बनेको छ । तर त्यही घटनाले क्षति भएको जनधनको अवस्थाबारे फेरि कसैले चासो नदिएको घाइतेहरूको गुनासो छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने पीडित परिवारले सम्बन्धित पक्षसँग माग गर्दै आए पनि न्याय भने पाउन सकेका छैनन् ।


२०५५ मा घरमै बसेका श्रीमान्लाई १८ जनाको समूहले अपहरण गरी लगेको चौरपाटी गाउँपालिका–६, दुनिकी ४० वर्षीया काली विकले बताइन् । ‘घरमा १८ जनाको ठूलै समूह आयो । खाना पकाउनुस् नत्र जे पनि हुनसक्छ भने । हामीले मजदुरी गरेर ल्याएको जति अन्न थियो, सबै पकाएर खुवायौं । हामी भोलि पठाइदिन्छौं भनेर मेरा श्रीमान्लाई घरबाटै लिएर गए,’ उनले भावुक हुँदै भनिन्, ‘काखमा ६ महिनाकी छोरी खेलाइरहेका मेरा श्रीमान् १७ वर्ष भयो फर्किर्एका छैनन् । त्यतिखेर हाम्रो विवाह भएको चार वर्षमात्र भएको थियो ।’ अरूको काम गरेर दुई छोराछोरी हुर्काउन सकस भएको उनको गुनासो छ । आफ्ना दुःख राज्यले नदेख्दा पीडा थपिएको कालीले बताइन् । ‘६ महिनाकी छोरी अहिले १५ वर्षकी भइन् । जहिल्यै बुबा खोज्छिन् । अनुहारसमेत याद नगरेकी छोरीलाई म के जवाफ दिऊँ ?,’ उनी भन्छिन्, ‘न मृत्यु भयो भनेर काजकिरिया गरिएको छ, न त बेपत्ता भएको पूरा राहत पाइयो ।’ राहतस्वरूप १० लाख दिने भनिए पनि अहिलेसम्म पाँच लाख मात्र पाएको उनले बताइन् ।


चौरपाटी गाउँपालिका–५, लुंग्राका चन्द्रराज पाण्डे पनि बेपत्ता भएको १४ वर्ष भयो । तर हालसम्म उनको अवस्थाका बारेमा राज्यले कुनै खोजीनीति नगरेको छोरी टंकी पाण्डेले गुनासो गरिन् । ‘भारतबाट घर फर्किने क्रममा २०६१ सालमा डोटीको बुँडरमा तत्कालीन सरकार पक्षीय सेनाले अपहरण गरेका थिए । साथमा आएका गाउँले घरमा आए । बुबा घर फर्किनुभएन,’ उनले भनिन्, ‘अहिलेसम्म कसैले पनि वास्ता गरेनन् । सास नभए पनि लास भए पनि जानकारी दिनुपर्थ्यो ।’ मारेको हो भने ‘मारेको हो’ भनेर जानकारी दिए संस्कारअनुसार काजकिरिया गर्न तयार रहेको उनले बताइन् । ‘आँसु पिएर दुःखको भुमरीमा जसोतसो प्राण बचाएका छौं । अहिलेसम्म राहतसमेत पाएको छैन,’ उनले भनिन् ।


बान्निगढी गाउँपालिका–४, तिमिल्सैनकी अमृता मिजारका श्रीमान् बेपत्ता भएको पनि १७ वर्ष भयो । ३५ वर्ष भारतमा बिताएका उनका श्रीमान् परिवार भेट्न २०५५ मा अछाम आउन लाग्दा दिपायलमा अपहरणमा परे । ‘साथमा भएका सबै घरमा आए । श्रीमान्ले ल्याएको सबै नासो बसले जयगढ बस काउन्टरमा छोडिदियो । नासो पाएँ, मान्छे पाएन,’ उनले भनिन्, ‘चार छोराछोरीलाई संघर्ष गरेर हुर्काउँदा पनि सरकारले कुनै राहत दिएन ।’


उपचार न राहत

जनयुद्धको चपेटामा परेका मंगलसैन नगरपालिका–५ का काँशीराम ढुंगानाका लागि कालो दिन हो फागुन १ । २०५७ फागुन १ मा उनले २ छोराहरू एकैसाथ गुमाए । तत्कालीन विद्रोही माओवादीले सुरु गरेको जनयुद्धको चपेटामा परेर उनका १२ र १५ वर्षका दुई छोराको एकै दिन मृत्यु भयो ।


दुई घरको बीचमा रहेको पानीको मुहानमा आन्दोलनरत पक्षले सकेट बम राखेको थियो । बिहान सात बजेतिर काँशीरामका २ छोरा पानी ल्याउन धारोमा गए । तर कहिल्यै नफर्किने गरी । डल्लो जस्तो देखिने बमलाई २ भाइले छुनेबित्तिकै पड्किएर उनीहरूको घटनास्थलमै ज्यान गयो । घटनामा घाइते मनसरा ढुंगानाको उपचारका क्रममा २०६२ सालमा मृत्यु भएको थियो ।


‘२०५७ साल माघ मसान्तबाटै लडाइँ चर्किएको थियो । अघिल्लो दिन घरमाथि रहेको कारागारमा फायरिङ भएको थियो । दुई घरको बीचको धारामा भाइहरू पानी लिन गएका थिए । माओवादीले छोडेको बम पड्कियो,’ त्यही घटनाबाट घाइते भएका रोहित ढुंगानाले त्यो दिन सम्झँदै भने, ‘एकाएक बमका छर्राले घरको आँगनमै बसिरहेका मलगायत नौ जना घाइते भयौं । न त हामी सरकार पक्ष थियौं, न विद्रोही ।’ उनका अनुसार घाइते भएका सबैको अंगभंग भएको छ । मानसिक रूपमा क्षति भएको छ । ‘प्रहरीले माओवादीले राखेको बम हो भन्यो, माओवादीले एक शब्द बोलेन । अहिलेसम्म घटनाको जिम्मेवारी कुनै पक्षले लिएको छैन, न त हामीले राहत पाएका छौं,’ रोहितले भने । ‘हाम्रा लागि बोलिदिने कोही भएनन् । सरकारले उपचार गर्न बीचमै छोड्यो,’ उनले भने, ‘अहिलेसम्म हामी आफ्नै खर्चले उपचार गरिरहेका छौं । शरीरभित्र रहेका गोलीका टुक्राहरू अझै निकाल्न सकिएको छैन ।’


ज्यानको मूल्य १० लाख !

घटनामा ज्यान गुमाएका १२ वर्षीय खेमराज, १४ वर्षीय प्रकाश र १९ वर्षीया मनसराको परिवारलाई सरकारले जनही १० लाखका दरले दियो । तर घाइतेहरूले राहत अहिलेसम्म पाएका छैनन् । २०७० मा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले घाइते भएका भूमिनन्द, रोहित र जगतलाई पहिलो किस्ताबापत २० प्रतिशत भन्दै जनही ४० हजार रुपैयाँ दिएको घाइते गोपाल ढुंगाना बताउँछन् । ‘आठमध्ये तीन जनाले अहिलेसम्म ४० हजारका दरले रुपैयाँ पाएका छौं । त्योभन्दा बढी अरू राहतका नाममा केही पाइएको छैन,’ गोपालले भने, ‘घटना भएको १८ वर्ष बितिसक्यो, यही दिन जनयुद्ध दिवस पनि मनाउँछन् । तर, हाम्रा आँखामा बगेका आँसु कुनै दिवस र सरकारले देखेन ।’ राहत दिने आश्वासनमा नेताहरूले झूटो बोलेको उनी बताउँछन् । पीडितका नाममा आएको राहत पहुँचवालाले आफ्नो नियन्त्रणमा लिएको उनको भनाइ छ ।


‘राहतका लागि सयौंपटक फाराम भरियो । तर राहत त आफ्नै अगाडि राजनीतिक दलका नेताहरूले लिएको देख्छौं । यहाँ बोल्न नसक्नेको कोही नहुने रहेछ,’ गोपालले भने, ‘जति आउँछन्, घटनाबारे सोध्छन् । हाम्रा पीडाहरूमाथि खेलबाड गर्छन् । आश्वासन मात्रै दिन्छन् ।’ अछाममा रेडक्रसले संकलन गरेको तथ्यांकअनुसार १४ जना बेपत्ता छन् भने स्थानीय शान्ति समितिमा ५४ जना बेपत्ता भएको भन्दै निवेदन परेको छ । हालसम्म १० जना बेपत्ता परिवारका आफन्तले मात्रै ५ लाखका दरले राहत पाएका छन् ।


कैलालीको लम्कीचुहा नगरपालिका लम्कीका प्रेम विक ‘जनयुद्ध’ का क्रममा घाइते भई अपांग जीवन बिताइरहेका छन् । बैसाखीका भरमा उनी हिँड्डुलसम्म गर्न सक्छन् । काम गर्ने अवस्था छैन । श्रीमतीले तरकारी खेती र बाख्रा पालन गरेर जेनतेन परिवार धानिरहेकी छन् । उनले भने, ‘दुई बच्चा छन् । पढाइलेखाइ धान्न समस्या छ । विद्यालयले अपांग भनेर निःशुल्क पढाइ दिएको छ । मेरो जिन्दगी त सकियो । बच्चाको भविष्यको चिन्ता छ ।’ समयसमयमा उपचार गर्नुपर्ने भए पनि रकम जुटाउनै समस्या खेप्नुपरेको उनले बताए । ‘जिन्दगी घरको न घाटको भएको छ,’ उनले भने ।


जनयुद्धका घाइतेले बिरामी भएपछि उपचार गर्न स्थानीय तहको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय, त्यहाँबाट गृह मन्त्रालयको राहत शाखामा जानुपर्छ । राहत शाखाले स्वीकृत गरेपछि बल्ल उपचार सुविधा पाइने व्यवस्था छ । ‘सामान्य मान्छेले यति लामो प्रक्रिया गरेर कागजात बनाउनै सक्दैन । त्यसैमा बिरामीले त्यति लामो झन्झट गर्दाको बेला उपचार कहाँ गराउने ?’ उनले भने ।


उपचारपछि जनस्वास्थ्य कार्यालयसहितको सरकारी टोलीले उपचारको पुनर्मूल्यांकन गर्ने व्यवस्था गरिएको छ । उनले भने, ‘सरकारले जनयुद्धका घाइतेको उपचारको जिम्मा लिए जस्तो गरेर पूरै अपमान गरेको छ ।’ जनयुद्धमा लागेर अपांग भएपछि अहिले अपांगको क्षेत्रमा आफू क्रियाशील रहेको उनले सुनाए । उनले भने, ‘अपांगका लागि राज्यले बनाएको नीतिअनुसार उनीहरूले सेवा सुविधा नपाइरहेकाले लबिङ गरिरहेका छौं ।’


हिजोका दिनमा परिवर्तनका लागि ज्यानको बाजी लगाएर लडेर देशमा परिवर्तन भए पनि जनताको जीवनमा भने परिवर्तन नभएको उनको भनाइ छ । ‘देशमा व्यवस्था परिवर्तन भएकामा खुसी लागेको भए पनि केही सीमित व्यक्तिको जीवनमा मात्र परिवर्तन भएको छ, जनताको जीवनमा केही परिवर्तन आएन,’ उनले भने । जनयुद्धका अर्का घाइते बालकृष्ण थारू ‘विकास’ को पीडा पनि उस्तै छ । उनले भने, ‘जनयुद्धका घाइतेले परिचयपत्र पनि पाएका छैनन् ।’


भवानी भट्ट (कञ्चनपुर), मेनुका ढुंगाना (अछाम) र गणेश चौधरी (टीकापुर)


प्रकाशित : फाल्गुन २, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

हिमपातले सास्ती, घर बाहिर ननिस्कन प्रशासनको अनुरोध

डडेलधुरा र बैतडीका बेंसी क्षेत्रमा समेत हिमपात 
हिउँले पुरिएर बझाङमा एकको मृत्यु 
सुदूरपश्चिम ब्युरो

(धनगढी) — सुदूरपश्चिमका पहाडी जिल्लामा ३ दिनदेखि लगातार भएको वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । दार्चुला, बझाङ, डडेलधुरा, बाजुरा र बैतडीका उच्च पहाडी क्षेत्रमा यो सिजनमा मात्रै तेस्रोपटक हिमपात भएको हो ।


हिमपातका कारण बझाङमा १ जनाको मृत्यु भएको छ । बझाङको सुर्मा गाउँपालिका–३ का ४० वर्षीय देउसिंह बोहराको हिउँमा पुरिएर मृत्यु भएको छ । दौलीचौर बजारबाट घर फर्किंदै गर्दा हिउँमा पुरिएर उनको मृत्यु भएको हो । सोमबारदेखि हिउँमा फसेका बोहराको शव बुधबार साँझ फेला परेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष समिता पुजाराले बताइन् । मृतक बोहरा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेदवार थिए । यसअघि मंसिर अन्तिम साता परेको हिमपातमा सुर्मा गाउँपालिकाकै २ युवाको जडिबुटी संकलनका क्रममा मृत्यु भएको थियो ।

पाइपमै जम्यो पानी
झन्डै ४० वर्षपछि डडेलधुरा र बैतडीका बेंसी क्षेत्रमा समेत हिउँ परेको छ । समुद्री सतहदेखि ११ सय मिटर उचाइमा रहेका ती क्षेत्रमा बुधबार राति पुन: हिमपात भएको हो । यसअघि मंसिर अन्तिम साता र पुस दोस्रो साता हिमपात भएको थियो । ‘करिब ४० वर्षअघि बेंसी क्षेत्रमा यसपटक भन्दा भारी हिमपात भएको थियो,’ अमरगढी–३ का जयराज पाण्डेयले भने, ‘महाभारतको फेदीमा रहेका बस्तीमा यस पटक पुन: हिमपात भएको छ ।’ उनले त्यसबेला बगरकोट, भागेश्वरको अधिकांश क्षेत्र, चीपुरको तल्लो भेग र देवलको डागेश्वरी क्षेत्रमा ठूलो हिमपात भएको सुनाए ।

मौसम विभागका पूर्व अधिकृत दिगम्बर मिश्र बेंसी क्षेत्रमा यसरी हिमपात हुनु आश्चर्यजनक घटना भएको बताउँछन् । उनले भने, ‘यसरी औल क्षेत्रमा हिमपात भएको रेकर्ड देखिँदैन ।’ डडेलधुराको साविक बगरकोटको ऐडुंग्रा, चुल्लको तल्लो भेग खेतगाउँसम्म हिमपात भएको छ । यसैगरी साविक चिपुर गाविसको तल्लो भेगमासमेत हिमपात भएको छ ।

बैतडी र डडेलधुरा सिमानामा रहेका अनारखोली, खोड्पे, भालुमारे, घनधस्या लेक, सदरमुकाम डडेलधुरा र डोटी सीमानामा रहेको हगुल्टे तथा महाभारत पर्वत शृंखलामा बुधबार रातिदेखि लगातार हिमपात भएको हो । डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानीको आपूर्ति ठप्प छ । महाभारत लेकमा रहेका मुलबाट आपूर्ति हुँदै आएको पिउनेपानी सबैजसो गाउँमा अवरुद्ध भएको स्थानीय बािसन्दा बताउँछन् ।

दार्चुलामा गत सोमबारदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । नौगाड गाउँपालिका–१, इयरकोटका स्थानीय जनकराज भट्टका अनुसार केही दिन बिराएर फेरि बाक्लो हिमपात भएको हो । बुधबार रातिदेखि बैतडी सदरमुकाम खलंगास्थित गोठलापानी, शाहीलेक र गढी बजारमासमेत हिउँ परेको छ । यी ठाउँमा समेत धेरै वर्षपछि हिमपात भएको स्थानीय बासिन्दाले बताए । पहिले फाट्टफुट्ट हिउँ पर्ने गरेको भए पनि यो वर्ष सदरमुकाममा पनि जम्नेगरी हिउँ परेको स्थानीय जेष्ठ नागरिक जंगदेव भट्टले बताए । उनले भने, ‘यस ठाउँमा जम्नेगरी हिउँ नपरेको २० वर्ष जति भइसकेको थियो ।’

विद्यालय र सरकारी कार्यालय बन्द
दार्चुलाका बेसी क्षेत्रमा सोमबारदेखिको वर्षा र लेकाली क्षेत्रमा भएको हिमपात बुधबार साँझसम्मै जारी थियो । अपी हिमाल, ब्यास र नौगाड गाउँपालिकाका विभिन्न बस्तीहरूमा बाक्लो हिउँ थुप्रिएको छ । ‘इयरकोटमा सोमबार बिहानसम्म डेढ फुटसम्म हिउँ जमेको थियो,’ भट्टले भने, ‘हिमाली बस्तीहरूमा बाक्लो हिउँ जमेको हुनाले स्थानीयले निकै सास्ती खेप्नु परेको छ ।’

दार्चुलामा हिमपातले विद्यालय नियमित खुल्न सकेका छैनन् । बझाङका सबैजसो विद्यालय तथा सरकारी कार्यालयसमेत बन्द भएका छन् । ‘घरबाहिर निस्कने अवस्था छैन, स्कुल कसरी चलाउनु?,’ धुली निमाविका प्रधानाध्यापक नवराज जोशीले भने, ‘हिउँ नपग्लेसम्म विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन ।’

अपी हिमाल गाउँपालिका–६, सितोलाका महेन्द्र बुढाथोकीले यस वर्ष विगतभन्दा चाँडै भारी हिमपात भएको जनाए । धेरै दिनसम्म घाम नलाग्दा लेकाली भेगमा बसोबास गर्ने बालबालिका र वृद्धवृद्धालाई चिसोले सताएको छ । घरपालुवा जीवजन्तुको स्याहारमा समेत समस्या भएको उनले बताए । दार्चुला प्रहरीका अनुसार इयरकोट, सुचखोला, स्याकु, सिप्टी, दल्लेक, सिना, सुन्सेरा, राप्ला, दुम्लिङ, व्यास लगायतका बस्तीमा बाक्लो हिउँ जमेको छ ।

बैंकिङ सेवा ठप्प
प्रदेशका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएको छ । दार्चुलाको व्यास र दुहु गाउँपालिकामा हिमपातका कारण एक सातादेखि टेलिफोन सेवा अवरुद्ध छ । सोलार प्रणालीबाट ग्रामिण भेगमा टेलिफोन टावरहरू सञ्चालनमा थिए । ४ दिनदेखि घाम नलागेकोले सोलार प्रणालीमा समस्या देखिएको हो । सोलार पेलेटमा हिउँ पनि जमेको र उच्च लेकाली स्थानमा जान नसकिने हुनाले सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।

कैचुलाको टावरमा समस्या आएपछि व्यास र दुहुमा फोन सेवा अवरुद्ध भएको एक हप्ता भएको दुहु गाउँपालिका–२, हिकिलाका प्रेमराज जोशीले बताए । टेलिकमको एडिएसएल इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवामा समेत समस्या आउँदा सरकारी तथा बैंकिङ कारोबार लगायतका कामहरू प्रभावित भएका छन् ।

बझाङमा इन्टरनेट सेवा अवरुद्ध भएकाले त्यसबाट सञ्चालन हुने सार्वजनिक सेवासमेत प्रभावित छन् । बैंकले रकम जम्मा गर्ने, पठाउने र भुक्तानी दिने कामहरू रोकेका छन् । सबै एटिम मेसिन बन्द गरिएका छन् । ‘नेटवर्क नआउँदासम्म बैंकिङ कारोबार सञ्चालन गर्न सकिने अवस्था छैन,’ राष्ट्रिय वाणिज्य बैंक, बझाङका भरत गिरीले भने, ‘सबै बैंकको कारोबार पूर्णरुपमा अनलाइन प्रविधिमा आधारित भएका कारण यो समस्या आएको हो ।’

‘हिमपात पूर्णरुपमा नरोकिएसम्म सञ्चार सेवा पुन: सुचारु गर्न सकिने अवस्था छैन,’ नेपाल टेलिकम बझाङका गंगबहादुर सिंहले भने, ‘लगातार घाम नलाग्दा र सोलारका पाताहरू हिउँमा पुरिँदा उर्जा आपूर्ति नभएर सेवा अवरुद्ध भएको हो ।’ उनले टेलिकमका प्राविधिकहरूले सञ्चार सेवा सुचारु गर्न प्रयास गरिरहेको भए पनि भारी हिमपातका कारण सम्भव नभएको बताए । हिमपातकै कारण बझाङको विद्युत सेवा पनि एक सातादेखि अवरुद्ध छ । बैतडीदेखि बझाङसम्म विद्युत प्रवाह गर्ने मुख्य लाइनको तारले हिउँको भार थाम्न नसकेका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।

तापक्रम शून्यभन्दा तल
बझाङमा लगातार हिमपात भएकोले अधिकांश ठाउँको तापक्रम शून्यभन्दा तल झरेको छ । जिल्लाको सबैभन्दा होचो स्थान केदारस्यूँ गाउँपालिकाको देउरा (समुन्द्र सतहबाट ८ सय मिटर) आसपाससमेत हिमपात भएको छ । स्थानीयका अनुसार देउरा नजिक २५ वर्ष पहिला यही अनुपातमा हिमपात भएको थियो । बझाङ सदरमुकाम चैनपुरमा पनि १० वर्षपछि हिमपात भएको छ । हिमपातका कारण यहाँको यातायात सेवा सबैभन्दा बढी प्रभावित भएको छ । आइतबार केही घण्टामा हिमपात बन्द भएपछि सञ्चालनमा ल्याइएको जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । स्थानीय रुटमा समेत यातायात सेवा ठप्प छ । डडेलधुरा र बैतडी जोड्ने मुख्य राजमार्ग पनि अवरुद्ध छ । धनगढी–डडेलधुरा भिमदत्त राजमार्गको गैरादेखि डडेलधुरासम्मको ३५ किलोमिटर सडकखण्ड हिउँले पुरिएको छ । यसैगरी डडेलधुरादेखि बैतडी जोड्ने दशरथ चन्द राजमार्गको भालुमारे, अनार खोली, खोड्पे सडकखण्ड पनि बन्द छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

अैँचोपैँचो गरेर गुजारा
उत्तरवर्ती क्षेत्रमा पाइपमा हिउँ जमेपछि पिउनेपानी आउनै बन्द भएको छ । स्थानीयले हिउँ पगालेर पानीको समस्या टारिरहेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए । यहाँका विभिन्न ठाँउमा १० फिटसम्म हिउँ जमेको र हिउँ थपिने क्रम जारी रहेको उनको भनाइ छ । साइपाल, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाका उत्तरी क्षेत्रका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । कतिपय गाँउमा खाद्यान्नलगायत बन्दोबस्तीका सामग्रीको समेत अभाव हुन थालेको छ । ‘घरहरू पुरिन थालेका छन्,’ साइपाल गाउँपालिका–४ का वडाध्यक्ष धनन्जय रोकायाले भने, ‘कतिपयका घरमा खानेकुराहरू सकिएको छ । उनीहरू अैँचोपैँचो गरेर काम चलाइरहेका छन् ।’

हिउँ थपिँदै गएकाले गम्भीर खालका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजान नसकिएको उनले गुनासो गरे । चरन अभावका कारण पशुचौपायासमेत मरेका छन् । हिमपातसँगै चिसो बढेपछि दार्चुला सदरमुकाम आसपासका क्षेत्र सुनसान बनेका छन् । जाडोबाट बच्न प्रशासनले स्थानीयलाई घर बाहिर ननिस्कन, आगो बालेर बस्न र न्यानो कपडा लगाएर बस्न सुझाएको छ ।

मनोज बडू (दार्चुला), डीआर पन्त (डडेलधुरा), वसन्तप्रताप सिंह (बझाङ) र तृप्ति शाही (बैतडी)

प्रकाशित : पुस २५, २०७६ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×