भुटानी मन्त्रीले ‘हह.. माले हह...’ भनेपछि...

रमेश लम्साल/रासस

काठमाडौँ — “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढौं, हामीले जानेको ज्ञान तपाईंहरुलाई दिन्छौँ, तपाईंहरुले सिकेको सीप हामीलाई सिकाउनुस्” यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो ।

नेपालीभाषी शर्मा स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ मा भाग लिन बिहीबार नेपाल आएका हुन् । इपानले कार्यक्रम तालिका सार्वजनिक गर्दा नै शर्माको नाम राखेपछि पक्कै पनि उनी नेपाली भाषी होला भन्ने लख काटिएको थिए । भूटानमा नेपालीभाषी अल्पसङ्ख्यक छन् । त्यही अल्पसङ्ख्यकमध्येका शर्माले भूटानको ढुकुटी हेर्ने निकायको प्रमुख हुने सौभाग्य पाएका छन् । समिटमा अतिथिका रुपमा भएका शर्माले उद्घाटनको दिन मन्तव्य सुरु गर्दा नेपाली भाषामा नै ‘नमस्ते’ गरेका थिए तर उनीले भाषण भने अङ्ग्रेजीमा नै गरे । धेरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै केही शब्द नेपालीमा बोलेका होलान् भनेर लख पनि काटेका थिए तर उनी नेपाली भाषी नै हो भन्ने कुरा कमैलाई थाहा थिए ।

राजनीतिमा लाग्नुअघि उनीले सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेर आफ्नो योग्यताको परीक्षण गरेका थिए । पछिल्ला दिनमा भूटानमा भारतीय लगानी भित्रिएको छ । जलविद्युत्‌का मेघा परियोजना अगाडि बढेका छन् । डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट विजयी सतचालीस वर्षीय शर्मा भूटानको राष्ट्रिय पोशाकमा सजिएका थिए । शर्माको आफ्नो राष्ट्रिय पोशाकप्रतिको लगाव र नेपाली भाषीप्रतिको सम्मान साँच्चै अनुकरणीय थिए ।


विश्वमा नागरिकलाई खुसी राख्ने देशहरुमध्ये भूटान अग्रपङ्क्तिमा छ । पर्यटन, कृषि उद्यममा पनि क्रमशः भूटानको नाम अन्तरराष्ट्रिय बजारमा स्थापित हुँदै गएको छ । शिक्षा, स्वास्थ्य तथा आधारभूत विषयलाई भूटानले निःशुल्क गरेको छ । रोजगारीका विविध स्रोतको खोजीमा पनि अब्बल सावित भएको छ ।


मन्त्री शर्माले यही मङ्सिर ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका थिए । “लौ है मन्त्रीज्यू स्वागत छ”, ऊर्जा, मन्त्री पुनले भुटानी मन्त्रीको स्वागत गर्दा उनीले पनि नेपाली शैलीमा नै ‘स्वागत छ मन्त्रीज्यू’ मात्रै भनेन, एउटा नेपालीले अर्को नेपाली भेटेको जस्तै लागेको भनी खुसी भए । “मलाई त मेरै घरमा आएजस्तो भएको छ । असाध्यै खुसी छु” भुटानी मन्त्री शर्माको भनाइ थिए ।

सम्मेलनमा विश्वभरका ६०० बढी सहभागी थिए । त्यसमा अधिकांशजसो नेपाली नै थिए । चीन, भारत, बङ्गलादेश, नर्वे, अष्ट्रियाका प्रतिनिधि पनि सहभागी थिए तर, यस पटकको समिटको आकर्षणमा भुटानी मन्त्री शर्मा नै थिए ।

उद्घाटनसत्रको सम्बोधनलाई बिट मार्दै भुटानी मन्त्रीले भनेका थिए, “यस उपस्थितिमा आउनुभएका मन्त्रीज्यू र माहानुभाव सबैमा म खुसी व्यक्त गर्न चाहन्छु । नेपालमा आएर धन्यवाद भन्न चाहन्छु । मलाई यो मौका दिनुभएकामा पनि सबैमा धन्यवाद !”


भुटानी मन्त्री शर्माले मन्त्री पुनसँगको शिष्टाचार भेटमा समेत आफ्नो सम्बोधनको प्रसङ्ग जोडे र भने, “नेपालीमा नै कुराकानी गरौं है मन्त्रीज्यू ।” उनीहरुबीच हालखबर र सञ्चो बिसञ्चोको सोधखोजपछि सुरु भएको औपचारिक संवादमा मन्त्री पुनले नेपालले पछिल्ला दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा देखिने गरी काम गरेको र चालू आर्थिक वर्षको अन्त्यसम्म करीब एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप हुने जानकारी दिए । “हामीले केही रणनीतिक योजनाका साथ काम सुरु गरेका छौँ । यसले आगामी दिनमा राम्रो प्रतिफल दिन्छ । भूटानले जलविद्युत्‌को क्षेत्रमा गरिरहेको प्रगतिबाट हामी पनि पाठ सिक्न सक्छौँ”, मन्त्री पुनको भनाइ थियो ।

नेपालका व्यवसायीले भूटानको विद्युतीकरणका लागि ट्रान्सफर्मर, प्रसारण केवलसमेत उपलब्ध गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको उद्योग नेपाल इकरात इञ्जिनीयरिङले उत्पादन गरेको ट्रान्सफर्मरको उच्च माग छ–भूटानमा । यस विषयलाई समेत मन्त्री पुनले स्मरण गरे । “ठूला आयोजना अगाडि बढाउँदाको अनुभव तपाईंहरुबाट हामी पनि सिक्न चाहन्छौँ, त्यसबाट हामी पनि ठूला परियोजना सुरु गर्नुपूर्व अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी लिन सक्छौँ” मन्त्री पुनले भने, “केही ठूला आयोजना हामी सुरु गर्दैछौं, मन्त्रीज्यूले त्यसमा सहजीकरण गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।”


नेपालले ऊर्जा क्षेत्रमा गरिरहेको पछिल्ला प्रगति र योजनाबद्ध प्रयासको मन्त्री शर्माले मुक्तकण्ठले प्रशंसा गरे । “ठूला परियोजना आफैँमा एउटा विश्वविद्यालयजस्तो हुँदोरहेछ, काम गर्दै जाने, सिक्दै जाने नै हुँदोरहेछ । हामीले त्यही गरिरहेका छौं । हामीले पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्यौं, जमीनसँग खेल्दै गर्दा अनेकन जटिलता आउँदोरहेछ, हामीले ५० प्रतिशत मात्रै लक्ष्य पूरा गर्न सकेका छौँ” आफ्नो वस्तुगत यर्थाथताबारे मन्त्री शर्माले जानकारी दिए ।


“भौगोलिक कठिनाइ त्यस्तै, प्राविधिक जटिलता त्यस्तै, तर काम भएन भनेर हरेश खानुहुन्न भन्ने हामीले सिकेका छौं । दुई हजार ३०० मेगावाट क्षमताको परियोजना सकिन लागेको छ । राजधानी थिम्पु नजिकै दुई ठूला परियोजना सकिन लागेको छ । काम गर्दै सिक्दै जाने विषय नै महत्वपूर्ण रहेछ” उनीले आफ्नो अनुभव मात्रै सुनाउनु भएन, काम गर्दाका जटिलता पनि उल्लेख गरे ।

दुई हजार ५०० मेगावाट क्षमताको सुनकोश नामक परियोजना सुरु गर्न लागेको र त्यो परियोजनामा आफैँमा महत्वाकाङ्क्षी रहेको मन्त्री शर्माको भनाइ थिए । भूटानको कूल जलविद्युत् क्षमता ३० हजार मेगावाट छ । आर्थिकरूपमा सम्भाव्य आयोजनाको क्षमता भने २३ हजार ७६० मेगावाट छ ।

भूटानले १०२० मेगावाट क्षमताको ताला, ३३६ मेगावाटको चुखा, १२६ मेगावाटको दागचुखालगायतका परियोजना सञ्चालन गरिरहेको छ । भूटानको जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीले ७० प्रतिशत ऋण र ३० प्रतिशत अनुदान दिएका छन् । विद्युत् खरीददर भने परियोजना सम्झौता भएपछि मात्रै तोकिनेछ । अन्तरसरकारी सम्झौताका आधारमा भूटान र भारत सरकारले लगानी गरेका छन् । सामान्यतया चार रुपैयाँ १२ पैसा भारतीय मुद्रामा भूटानले भारतले विद्युत् बिक्री गरेको छ । आयोजनाको लागत र समय हेरेर खरीददर तय हुन्छ, मन्त्री शर्माको भनाइ थियो ।

दक्षिण एशियाको पावरहाउस नेपाल र भूटान बन्न सक्ने मन्त्री शर्माको भनाइ थियो । “हामीसँग स्रोत छन्, त्यसलाई सदुपयोग गरौं, त्यसबाट हामीलाई त लाभ हासिल हुन्छ नै त्यसबाट समग्र दक्षिण एशियालाई समेत लाभ हासिल हुनसक्छ”, मन्त्री शर्माले भने ।


मन्त्री पुनले समेत दक्षिण एशियामा विशेषगरी भारत, बङ्गलादेश, म्यान्माजस्ता देशसँग साझा हित र चासोका साथ सँगसँगै काम गर्न भुटानी मन्त्रीलाई आग्रह गरे । विश्वव्यापीरूपमा नै दक्षिण एशिया आर्थिक केन्द्रको रूपमा विकसित हुँदै गएको सन्दर्भमा त्यसले थप ऊर्जाको स्रोत खोज्ने अवस्था छ ।


नेपालमा आगामी तीन वर्षभित्र सबैको घरमा ऊर्जाको स्रोत पुर्‍याउने सरकारको लक्ष्य छ । तर भूटानमा मात्रै दुई हजार घरधुरीमा विद्युत् पु¥याउन बाँकी छ । भूटान सरकारले घरायसी ग्राहकलाई १०० युनिट विद्युत् निःशुल्क दिएको छ । यस्तै अवस्था हेरेर २०० युनिटसम्म निःशुल्क दिने गरिएको मन्त्री शर्माले जानकारी दिए । विद्युत् उत्पादनभन्दा प्रसारण तथा वितरण शुल्क बढी लाग्ने समस्याले आफूहरुलाई पनि पिरोलेको मन्त्री शर्माले यर्थाथता सुनाए ।


साना तथा मझौला आयोजना अब आफैँ र आफ्नै लगानीमा शुरु गर्न लागेको जानकारी दिँदै मन्त्री शर्माले भने, “मेगा प्रोजेक्टमा विदेशी लगानी पनि जरुरी छ, तर आफ्नै पनि केही गरौँ भनेर लागेका छौं ।”

ठूला परियोजनाको अनुभव हासिल गर्न उनीले मन्त्री पुन र नेपाली अधिकारीलाई भूटान भ्रमणको निम्तोसमेत दिए । नेपालका तर्फबाट मन्त्री पुनले भूटानले ऊर्जाको क्षेत्रमा गरेको प्रगतिका लागि बधाई दिँदै नेपाली उत्पादन र नेपाल–भारत–बङ्गलादेशका बीचमा बन्न सक्ने पावर ग्रिडबारे चर्चा गरे ।


भूटान र नेपालको भौगर्भिक अवस्था उस्तै रहेको र ऊर्जा उत्पादनमा समान समस्या झेल्नुपरेको भन्दै दुई देशबीचको सम्बन्धलाई थप परिस्कृत बनाउनुपर्ने बताए । नेपाल र भूटान दुवै देशको विकासका लागि ऊर्जामा लगानी बढाउनुपर्ने र ऊर्जाको क्षेत्रीय व्यापारमा सहजीकरण गर्नुपर्नेमा मन्त्री पुनको भनाइ थियो ।


भूटानको राजश्वको मुख्य स्रोत नै जलविद्युत् रहेको भन्दै भारतको सहयोगमा जलविद्युत विकासमा सफलता मिलेको भन्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार नै ऊर्जा भएको भुटानी मन्त्रीको जोड थियो । भूटानको भूबनोटका कारण कृषि क्षेत्र आधुनिकीकरण हुन नसकेको भन्दै मन्त्री शर्माले संवादको अन्तिममा ठट्टा गर्दै भने, “नेपाल कृषिको आधुनिकीकरणको दिशामा गएको छ । त्यो मेरो जानकारीमा पनि छ । तपार्इंहरुको प्रयास सह्रानीय छ, हाम्रो त उही गोरु नै धपाएर हह..माले हह.. मालेमा नै छौँ ।” उनीले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न भूटानको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।


प्रकाशित : मंसिर ७, २०७६ १६:५६

प्रतिक्रिया
पठाउनुहोस्

ऊर्जामा हुँदैछ धमाधम काम

रमेश लम्साल/रासस

काठमाडौँ — काम गर्ने निकायको सार्थक प्रयास भयो र निर्माण व्यवसायीले पनि इमान्दार भएर काम गर्‍यो भने जतिसुकै अप्ठ्यारा समस्या पनि समाधान हुने दृष्टान्त पछिल्ला दिनमा स्थापित हुन थालेका छन् । सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिँदै त्यसलाई प्रमुख प्राथमिकतामा राखेका कारण एक दशकभन्दा बढी समय व्यतित भइसकेका आयोजना धमाधम सम्पन्न हुन थालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिरकण र निजी क्षेत्रले धमाधम जलविद्युत् आयोजना सम्पन्न गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा जोडेका छन् ।

चालू आर्थिक वर्षको हालसम्म १६ वटा प्रसारण लाइन निर्माण सम्पन्न भई त्यसबाट विद्युत् प्रवाहसमेत भइसकेको छ । आर्थिक वर्ष सकिन अझै एक महीना बाँकी रहेको सन्दर्भमा थप छ प्रसारण लाइन पनि सम्पन्न हुने अवस्थामा पुगेका छन् । यस्तै एक दर्जन बढी सवस्टेशन पनि निर्माण सम्पन्न भएका छन् । रणनीतिक महत्वका प्रसारण लाइन तथा सवस्टेशनको निर्माणले सहज विद्युत् आपूर्तिको मार्ग प्रशस्त मात्रै गरेको छैन, आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त गरेको छ । प्राधिकरणले रुग्ण ठानेका माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको छ । सो आयोजनाको पहिलो युनिटले ३० मेगावाट विद्युत् उत्पादन शुरु गरेको छ भने दोस्रो युनिटले पनि यही असारभित्रै उत्पादन सुरु गर्नेछ ।

त्यस्तै कुलेखानी तेस्रोले पनि पहिलो युनिटबाट सात मेगावाट विद्युत् उत्पादन शुरु गरेको छ । निरन्तरको अनुगमन, आयोजना प्रमुखलाई जिम्मेवार बनाइनु तथा तालकुदार मन्त्रालयको निगरानीका कारण विगतमा रुग्ण भनेर छाडिएका र समस्याको चक्रब्यूहमा फसेका आयोजना सम्पन्न भएका छन् । यसले निरन्तर काम गरे प्रतिफल पनि प्राप्त गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरिदिएको छ । कुरा मात्रै गर्ने, काम नगर्ने प्रवृत्ति क्रमशः ऊर्जा क्षेत्रमा हट्दै गएको छ । त्यसैको परिणाम स्वरुप आगामी आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण प्रणालीमा करीब एक हजार २०० मेगावाट क्षमताको जल ऊर्जा थप हुनेछ ।

विगतमा विद्युत् नपाएर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्थ्यो, मन्त्रालय र प्राधिकरणलाई । अब भने प्राप्त भएको ऊर्जालाई कसरी व्यवस्थापन गर्ने र बढीभन्दा बढी खपत कसरी गर्ने भन्ने विषयमा योजनाबद्ध प्रयास गर्नुपर्ने अवस्था आएको छ । विसं २०७५ वैशाखमा मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र अवस्था समेटिएको श्वेतपत्र, सरकारले घोषणा गरेको ऊर्जा दशक तथा ऊर्जा क्षेत्रमा निरन्तर बढ्दै गएको चासोका कारण पनि राष्ट्रिय लक्ष्य पूरा हुने अवस्थामा पुगेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निर्माण व्यवसायीको लापरवाही तथा स्थानीय स्तरमा वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्यामा अल्झिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको गत वैशाख २४ गते चार्ज गरिएको छ ।

यस्तै तेस्रो खण्ड कुल २६.६६ किलोमिटर पनि यही असार मसान्तभित्र चार्ज हुने क्रममा रहेको छ । मध्य मस्र्याङदी डुम्रे–दमौली खण्ड पनि चार्ज भइसकेको छ । प्राधिकरणका अनुसार चमेलिया–स्याउले अत्तरिया १३२ केभी क्षमताको प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ । कुश्मा–तल्लो मोदी १३२ केभी प्रसारण लाइन पनि असार मसान्तस्म्म चार्ज हुने क्रममा छ । लमही घोराही १३२ केभी, कसुम हापुरे १३२ प्रसारण लाइन आयोजनाको पनि निर्माण सम्पन्न भइसकेको छ । यस्तै माथिल्लो त्रिशूली थ्री एसँग जोडिएका चार वटा साना ठूला प्रसारण लाइनको पनि निर्माण सम्पन्न भइसकेको छ । त्यसमा तीन किलोमिटर लामो त्रिशूली थ्री ए देखि त्रिशूली थ्री बी हब, त्रिशूली थ्री बी हबदेखि बाँड भन्ज्याङ ७६ सर्किट किलोमिटर, बाँडभन्ज्याङदेखि मातातीर्थ २२० केभी क्षमताको २२ सर्किट किलोमिटर र भूमिगत केवल मातातीर्थ पनि सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार कुल ६६८ सर्किट किलोमिटर बराबरको प्रसारण लाइन निर्माण सम्पन्न भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन स्वयम् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष छन् । अध्यक्ष भएकाले हरेक जसो आयोजनामा चासो लिँदै काममा कुनै समस्या हुन नदिने गरी आवश्यक निर्देशन दिएका छन् । यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हरेक दिन जसो नै प्रत्येक आयोजनाको अवस्था र समस्याको निरुपणका लागि आफै निर्माणस्थलमा खटिएका छन् । जसका कारण आयोजनाहरु एकपछि अर्को गर्दै सम्पन्न हुने चरणमा पुगेका छन् । केही आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग, निर्माण व्यवसायीको लापरवाहीले पनि जटिलता पैदा गरेको छ ।

समस्या भएका आयोजनालाई गति दिन अपनाउनुपर्ने सबै प्रकारका उपाय अवलम्ब गरिएको छ । हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सबैभन्दा बढी समस्यामा परेको छ । कुल ११ जिल्ला पार गर्नुपर्ने सो आयोजनाको हरेक टावर एउटा आयोजना जस्तो बन्दा केही समस्या देखिएपनि त्यसलाई समाधान गर्ने प्रयत्न गरिएको छ । हालैको मन्त्रिपरिषद्को बैठकले वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको छ ।

सोलु करिडोरमा देखिएको समस्या पनि क्रमशः समाधान भई निर्माण कार्य अगाडि बढिरहेको छ । सरकारले गरेको सार्थक प्रयासले केही आयोजना सम्पन्न भए पनि केही आयोजनामा देखिएको समस्या समाधान गर्न पहल गरिरहेको छ । मन्त्री पुनका अनुसार समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट पनि सार्थक प्रयत्न गरिएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×