कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महरा सर’ को राजनीतिक ‘बहिर्गमन’, ४८ घण्टामा जे जे भयो

महरा अध्यक्ष दाहालका विश्वास पात्र थिए । भूमिगत कालको मुख्य राजनीतिक मोर्चा, पटक–पटकका शान्तिवार्ता, मूलधारको राजनीतिमा आएपछिको सरकार र संसद्को मोर्चा कुनैमा पनि दाहालले महरालाई छुटाएनन् । उनी मात्रै पटक–पटक किन लाभको पदमा भन्ने प्रश्न तत्कालीन माओवादीभित्र धेरै नेताले अनौपचारिक रुपमा राख्ने गर्थे । 
दुर्गा खनाल

काठमाडौँ — प्रतिनिधिसभाको सभामुखमा २०७४ फागुन २६ गते निर्वाचित भएपछि कृष्णबहादुर महराले भनेका थिए, ‘संसद्भित्र कुशलतापूर्वक भूमिका निर्वाह गर्छु, पदको गरिमा र संसदीय मर्यादालाई ख्याल गरेर संघीयता कार्यान्वयन गर्ने कानुन निर्माणमा विशेष ध्यान दिनेछु ।’ तर डेढ वर्षमै पदको गरिमा र संसदीय मर्यादामै आँच आउने घटनामा जोडिएर उनले मंगलबार राजीनामा दिनुपरेको छ । 

‘महरा सर’ को राजनीतिक ‘बहिर्गमन’, ४८ घण्टामा जे जे भयो

महिलामाथि दुर्व्यवहारको आरोपमा सभामुख पदबाट बाहिरिएको घटना नेपालको संसदीय इतिहासमै नयाँ हो । संसद् सबै पार्टीको साझा थलो हो । त्यसको नेता सभामुख हुन् । सभामुख निर्वाचनमा महरा निर्विरोध चयन भएका थिए । महरालाई सदनको नेता मान्नेहरूले अहिले सख्त कारबाहीको माग गरिरहेका छन् ।


महराको विगतलाई नजिकबाट चिन्नेहरू उनले दुर्व्यवहार गरे होलान् भनेर पत्याउन सकेका छैनन् । सभामुख हुनुअघि उनी तत्कालीन माओवादीको राजनीतिक मोर्चामा धेरैका लागि ‘आदर्श’ थिए । रोल्पालीका लागि ‘कुशल शिक्षक’ पनि । सक्रिय राजनीतिमा आउनुअघि रोल्पामा उनले विज्ञान र गणित विषय पढाए । उनले पढाएका व्यक्तिहरू उपराष्ट्रपतिदेखि मन्त्रीसम्म भएका छन् ।


अध्यापन छाडेपछि महराले तत्कालीन माओवादीको भूमिगतदेखि हालसम्मको ‘राजनीतिक हिसाब किताब’ मिलाउने भूमिका निर्वाह गरे । उनलाई राजनीतिक र बौद्धिक मान्नेहरू धेरै थिए । ‘पार्टीभित्र सबैलाई मिलाएर लैजाने उहाँलाई सबैले राम्रो नेताका रूपमा सम्झिन्थे,’ नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘अहिले यस्तो के घटना भयो, केही भन्न सकिँदैन ।’ उनका अनुसार कम्युनिस्ट पार्टीभित्र विचलनका केही घटना अहिले हुन थालेका छन् । ‘उहाँको सन्दर्भमा के भएको हो, अनुसन्धानले बताउला तर जे भएको भए पनि राजीनामा दिनुपर्ने स्थितिले राम्रो गरेन, यसको असर पार्टी र आन्दोलनमा पनि पर्छ,’ गजुरेलले भने । नेकपा नेता कालीबहादुर मल्लका अनुसार महराले राजनीतिक रूपमा योगदान गरेकैले भूमिगतदेखि अहिलेसम्म धेरै अवसर पाए । ‘उहाँको व्यक्तित्व र जिल्लामा उहाँप्रति गर्ने सम्मान नै फरक थियो,’ रोल्पाका नेकपा केन्द्रीय सदस्य गोकुल घर्तीले भने, ‘महरा सरले यस्तो गर्नुहोला भनेर त्यहाँका जनताले पत्याउँदैनन् ।’ उनका अनुसार धेरै नेता महराबाट प्रशिक्षित भएका छन् ।


महरा राजनीतिक रूपमा पटक–पटक अवसर पाउने नेतामा पर्छन् । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि बनेका १० मध्ये ५ सरकारमा सहभागी उनले ३ पटक उपप्रधानसहित शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले । पछिल्लो चुनावबाट त्योभन्दा माथिल्लो सभामुख पद हात पारे । तत्कालीन माओवादीभित्र महरा अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र हुन् । भूमिगत कालको मुख्य राजनीतिक मोर्चा, पटक–पटकका शान्तिवार्ता, मूलधारको राजनीतिमा आएपछिको सरकार र संसद्को मोर्चा कुनैमा पनि दाहालले महरालाई छुटाएनन् । पछिल्लोपटक तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीबीच कसले सभामुख लिने भन्ने रस्साकसी चल्दा दाहालले महरालाई नै लक्ष्य गरी आफ्नो भागमा सभामुख पारेका थिए । दाहालले चाहना राखेपछि तत्कालीन माओवादीमा महराका नाममा सर्वसम्मत निर्णय भएको थियो । महरा मात्रै पटक–पटक किन लाभको पदमा भन्ने प्रश्न तत्कालीन माओवादीका धेरै नेताले अनौपचारिक रूपमा राखेका थिए । तर अध्यक्ष दाहालको शक्तिशाली कमान्ड रहेको पार्टीमा उनका विश्वास पात्र महराको विकल्पमा उभिन कोही तयार भएन ।


दाहाल पनि राजनीतिक मोर्चामा महराको साथका कारण आफूलाई बलियो ठान्थे । आफूले विश्वास गरेको राजनीतिक सहयात्रीमाथि गम्भीर आचरणको प्रश्न उठेपछि दाहाल सोमबारदेखि नै विक्षिप्त बनेको उनीनिकट स्रोतले बतायो । ‘पूर्वमाओवादी पक्षमा विचलन छ भनेर पार्टीभित्र पनि पूर्वएमालेहरूले खिसिट्युरी गर्थे,’ पूर्वमाओवादी एक नेताले भने, ‘उपल्लो नेताकै हालत यो भएपछि पार्टीभित्रै पनि हाम्रो पक्ष अलिक ‘अपसेट’ हुने अवस्था सिर्जना भएको छ ।’ कम बोल्ने, भद्र र शालीन देखिने महरा २०४८ सालमै सांसद भएका थिए । पछि माओवादी भूमिगत भएपछि खुला राजनीतिको अनुभव भएका महरालाई दाहालले विश्वास गरेर धेरै भूमिका दिए ।


२०५८ सालमा पहिलोपटक तत्कालीन सरकारसँग वार्ता गर्ने जिम्मेवारी दाहालले महरालाई नै सुम्पेका थिए । पहिलोपटक वार्ता टोलीको संयोजकका रूपमा सार्वजनिक भएदेखि उनी कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहिरहे  । तीनवटा शान्तिवार्ता टोलीमा महरा संलग्न थिए ।


रोल्पाका महराले भूमिगत कालमा भूगोलको भन्दा प्रवासको काममा बढी जिम्मेवारी लिए । अध्यक्ष दाहाल पनि प्रवासमै बसेर आन्दोलनको नेतृत्व गरिरहेकाले सामीप्यता बढ्यो, जुन सामीप्यता फाइदा महराले सधैं लिए । २०५२ बाट तत्कालीन माओवादी भूमिगत भएपछि सैन्यभन्दा पार्टीभित्रको राजनीतिक फाँटमा महरा सक्रिय थिए । विस्तृत शान्ति सम्झौतापछि २०६३ सालमा गठन भएको तत्कालीन अन्तरिम संसद्‌मा माओवादी पनि संलग्न भयो, जसको नेतृत्व माओवादीले महरालाई नै सुम्पिएको थियो । माओवादी संसदीय दलको नेताका रूपमा काम गर्दागर्दै उनलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बन्ने अवसर मिल्यो ।


२०४८ र २०६३ को अन्तरिम संसद्, दुइटा संविधानसभा निर्वाचन र हालको प्रतिनिधिसभा निर्वाचन गरी पाँचपटक उनी सांसद भइसकेका छन् । पहिलो संविधानसभा र हालको प्रतिनिधिसभामा उनी दाङबाट निर्वाचित भएका हुन् । २०४८ र २०७० मा भने उनी रोल्पाबाटै निर्वाचित भएका थिए ।


अन्तर्मुखी स्वभावका महराको नाम राजनीतिक अन्तरकुन्तरमा हुने खेलमा खेलाडीका रूपमा पनि जोडिन्थ्यो । पछिल्ला १० वर्षका विभिन्न घटनाक्रममा महराको दौडधुप अग्रपंक्तिमै देखिन्थ्यो । सत्ता फेरबदलका क्रममा ‘५० करोडको टेप काण्ड’ पनि महरासँगै जोडिएर आएको थियो । सत्ता फेरबदलको निकट समयमा दिल्ली दौडाहाको दृश्यमा पनि महराको तस्बिर हुन्थ्यो । पार्टीभित्र र बाहिरी राजनीतिक दलहरूसँगको संगत पनि उनको राम्रो थियो । त्यही भूमिका र सक्रियताका कारण उनी राजनीतिक शिखर चढिरहेका थिए । यसपालि भने चिप्लिएका छन् ।




प्रकाशित : आश्विन १५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?