कम्युनिष्ट सरकार विरुद्ध लड्न देउवाको आह्वान
सुनसरी — कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारविरुद्ध लड्नु पर्ने बेला आएको बताएका छन् । उनले विगतमा एकदलीय शासनसँग लडेर प्रजातन्त्र ल्याएको तर फेरि कम्युनिष्टको सरकारले एकदलीय सर्वसत्तावादी शासन ल्याउन लागेकाले त्यसकालागि फेरि कम्युनिष्ट सरकारविरुद्ध लड्ने बेला आएको बताएका हुन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर कांग्रेस धरान उपमहानगर समितिद्वारा बुधबार आयोजित नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘प्रजातन्त्रको लागि राणा शासन हटायौं, पञ्चायती व्यवस्था हटायौं । अहिले कम्युनिष्ट सरकारले जनताको बोल्न पाउने अधिकार, लेख्न पाउने अधिकार, स्वतन्त्रतामाथि कुण्ठित पारिरहेको छ । यस्ता मानव अधिकार विरोधी काम गरिरहेको सरकार विरुद्ध फेरि लड्ने बेला आएको छ ।’
देउवाले प्रजातन्त्रको लागि लड्ने नेपाली कांग्रेसले आउँदो उपनिर्वाचनमा धरानबाटै विजयको दियो बाल्ने दाबी गरे । उनले विगतमा राम्रो काम गरेको कांग्रेसको सरकारले गरेको काम र योजनालाई उल्टाउदै विकासको बाधकको रुपमा कम्युनिष्ट सरकार उभिएको आरोप लगाए ।
उनले नेकपाको सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका, सञ्चार लगायतका क्षेत्रमा हस्तक्षेप गरिरहेको बताए । भने, ‘अहिलेको अवस्था जनताको भावना अनुसारको लोकतन्त्रलाई मजबुत पार्ने र संघीयतालाई पूर्ण कार्यान्वयन गर्नुपर्ने समय हो । तर कम्युनिष्ट सरकार भने त्यसको विपरीत भाषणमा एउटा र काम व्यवहारमा अर्कै गर्ने गरेकाले नेपाली जनता निराश बनेका छन् ।’