कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षालयलाई लक्षित गरी धरानमा बम विस्फोट, चन्द समूहले गरेको आशंका

प्रदीप मेन्याङ्बो

(सुनसरी) — सुनसरीको धरान उपमहानगरपालिका १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातभित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी उपमहानगरस्थित सुष्मा गोदावरी कलेजलाई लक्षित गरेर अज्ञात समूहले बम विस्फोट गराएका छन् । 

शिक्षालयलाई लक्षित गरी धरानमा बम विस्फोट, चन्द समूहले गरेको आशंका

इटहरी सुष्मा गोदावरी कलेजमा सुतली बम र दिल्ली पब्लिकमा प्रेसर कुकर बम प्रयोग गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति करिब १२ बजे भएको विस्फोटले दिल्ली पब्लिक स्कुलको मुख्य प्रवेशद्वारमा क्षति पुगेको छ । विस्फोटले उक्त प्रवेशद्वार नजिकै बीपी प्रतिष्ठानको चिकित्सकहरु बस्ने आवासीय भवनहरुका सिसाका झ्यालहरु समेत फुटेका छन् । बिरामी उपचार गर्ने चिकित्सकहरु बसेको आवासीय भवनमा समेत क्षति पुगेको र शैक्षिक संस्थाहरुमा बम विस्फोट गरिनुले सुनसरीमा सुरक्षा चुनौती थपिएको छ ।


प्रहरीले इटहरी र धरानमा गरेको विस्फोट चन्दा नदिँदा तर्साउने नियतले नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने अनुमान गरेको छ । सुनसरी जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले बम विस्फोट गर्ने समूहको खोजी भइरहेको बताए । उनले भने, ‘मानवीय क्षति नभए पनि बम विस्फोटमा संलग्नको खोजी र अनुसन्धान गरिरहेका छौं ।’


शैक्षिक संस्थालाई लक्षित गरेर बम विस्फोट गराएकोमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरी (हिसान)का अध्यक्ष मुकुन्द घिमिरेले जुनसुकै बहानामा शिक्षालयमा बम विस्फोट गर्नु आततायी क्रियाकलाप भएको बताए । उनले भने, ‘यस्तो क्रियाकलाप निन्दनीय मात्र होइन राजनीतिक वा अन्य आवारणमा गरेको भए वैचारिक विचलन र क्षयीकरण मात्र हो ।’ हिसानले घटनामा सम्लग्नलाई कडा कारबाहीको माग गरेको छ ।


यसैबीच सुनसरी कांग्रेसले मध्यराति इटहरी र धरानको शैक्षिक संस्थामा भएको बम विस्फोटको विरोध र भर्त्सना गरेको छ ।


प्रकाशित : भाद्र २०, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?