कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगञ्जमा छात्रामाथि एसिड प्रहार

भुषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–४ बिर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गरेका छन् ।

वीरगञ्जमा छात्रामाथि एसिड प्रहार

घाइते खातुनको नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौंको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइतबार शल्यक्रिया गरिनेछ । एसिड छ्याप्ने सम्साद पक्राउ परेको डीएसपी अनन्तराम शर्माले बताए । सम्सादका साथी माजिद मियाँ पनि पर्साको छपकैयाबाट समातिएका छन् । त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जाने बेला बाटोमा रोकेर एसिड प्रहार गरिएको हो ।


मुस्कानले प्रेम प्रस्ताव स्वीकार नगरेकाले साथी माजिदको सल्लाहमा आफूले एसिड प्रहार गरेको सम्सादले प्रहरीसमक्ष बयान दिएका छन् । सम्साद र माजिद मिल्ने साथी हुन् ।


पाँच महिनादेखि माजिदले मुस्कानलाई पछ्याइरहेका थिए । ‘माजिदले प्रेम प्रस्ताव राखे तर मुस्कानले स्वीकारिनन्,’ सम्सादको बयान उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने, ‘यो कुरा मुस्कानले आफ्ना बुबा रसुल अलीलाई जानकारी गराइन् । बुबाले माजिदलाई भेटेर छोरीलाई दुःख नदिन सम्झाएका थिए ।’ १७ वर्षीय माजिद मुस्कानकी दिदीका भान्जा हुन् । मुस्कानको एकतर्फी प्रेममा माजिद परेको सम्सादले बयान दिएका छन् ।


तर प्रेम अस्वीकार गरेपछि आफूहरूले बिहीबार राति एसिड हाल्ने योजना बनाएको उनले बताएका छन् । ‘सम्साद र माजिदले बिहीबार राति करिब एक बजेसम्म छपकैयामा भइरहेको गणेश चतुर्थी पूजा हेरेका थिए,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यहाँबाट उनीहरू गणेशमान चोकमा रहेको सैलुनमै सुतेका थिए । सम्साद सैलुनमा पार्ट टाइम काम गर्थे । त्यसैले त्यसको एउटा साँचो उनीसँगै हुन्थ्यो ।’ प्रहरीका अनुसार राति सुत्ने बेला माजिदले सम्सादलाई भोलि बिहान मुस्कान स्कुल जाने बेला माजिदसँग किन नबोलेको सोध्नू, बोल्न भन्नू, नबोले एसिड फाल्नू भनेर आग्रह गरेको अनुसन्धानबाट खुलेको छ ।


योजनाअनुसार शुक्रबार बिहान उनीहरू मालपोत चोकमा रहेको एक चिया पसलमा गए । चिया पिए । मुस्कान विद्यालय जाने बाटोमा पर्ने सैलुनमै ढुकेर बसे । मुस्कान आएपछि सम्साद सडकमा गएर भावी (भाउजू) भन्दै रोके । ‘भावी माजिदसँग किन नबोलेको, बोल न भने,’ सम्सादको भनाइ उद्धृत गर्दै ती अनुसन्धान अधिकृत भन्छन्, ‘मलाई स्कुल जान ढिला भो, कुरा गर्नु छैन भनेर मुस्कान जान खोजेपछि सम्सादले उनको शरीरमा एसिड फ्याँके ।’


मुस्कान चिच्याउन थालेपछि केही अगाडि रहेका उनका स्कुलका साथी तरबेजले उद्धार गरी रिक्सामा राखेर नारायणी अस्पताल लगेका थिए । प्रत्यक्षदर्शी र सैलुन सञ्चालकको बयानका आधारमा एसिड प्रहार गर्नेको पहिचान भएको हो । घटनाको करिब दुई घण्टापछि सम्सादलाई प्रहरीले छपकैयाबाट नियन्त्रणमा लिएको डीएसपी शर्माले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?