२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नगद अपचलन गरेर फरार रहेका सहकारी अध्यक्ष बुटवलबाट पक्राउ

बचतकर्ताहरुको ६ करोड ३ लाख रुपैयाँको माग दाबी
प्रदीप मेन्याङ्बो

सुनसरी — सहकारीमा बचत गरेको करोडौं रुपैयाँ अपचलन गरी असार २३ गतेदेखि ‘बेपत्ता’ भएका धरान-१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण दर्नाल विश्वकर्मा बुटवलबाट पक्राउ परेका छन् ।

नगद अपचलन गरेर फरार रहेका सहकारी अध्यक्ष बुटवलबाट पक्राउ

पक्राउ परेका विश्वकर्माले बचतकर्ताको रकम अपचलन गर्न आफ्नो छोरा मोहनलाई प्रबन्धक र साली कमलादेवी विकलाई लेखा प्रमुख बनाएको रहस्य पनि खुलेको छ । मोहन र कमला यसअघि नै पक्राउ परेका थिए । तीनजनाको मिलोमतो अनुसार बचतकर्तालाई सहकारीको पासवुक बनाइदिएपनि अधिकांशको नाम सहकारीमा दर्ता नगरी अध्यक्ष कृष्णको नाममा रहेको शिखर सगरमाथा ज्वेलरी प्रालिमा लगानी गरेको रहस्य पनि खुलेको छ । शिखर सगरमाथा उनका माइला छोरा महेश दर्नालले हेर्ने गरेका थिए । उनी हाल फरार छन् ।

बचतकर्ताहरुले सहकारीमा बचत गरेको ठाने पनि उनीहरुले बचत गरेको रकम सहकारीमा जम्मा नगरी विकले सुनचाँदी पसलमा जम्मा गर्न पासवुक दुरुपयोग गर्दै आएको खुलेको छ । बुटवल उपमहानगरपालिका-५ न्यूरोडमा कोठाभाडामा लिएर लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका उनलाई प्रहरीले बिहीबारमात्र सार्वजनिक गरेको थियो ।

विकको साथबाट प्रहरीले सुनका गरगहनाहरु १६३.२९६ ग्राम बराबर (करिव १४ तोला) र चाँदीका गहना २७९.९३६ ग्राम (करिव २४ तोला) बरामद गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । यसअघि असार २४ गते उनका छोरा मोहनले बाबु कृष्ण हराएकाले खोजतलास गरिपाउँ भनेर इलाका प्रहरी कार्यालय धरानमा निवेदनसमेत दिएको नाटक पनि गरेका थिए ।

प्रहरीले अध्यक्ष विश्वकर्माले छोराहरु र सालीसँग मिलेर सहकारीको रकम हिनामिना गरेको भन्दै ८५ जना बचतकर्ताहरुले उजुरी दिएको जनाएको छ । उनीहरुको मागदाबी कुल ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैयाँ रहेको प्रनाउ न्यौपानेले बताए । उनले भने, ‘पक्राउ परेका तीनै जनालाई सहकारी ऐनअर्न्तगत ठगी मुद्दा दायर गरेको र अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं ।’

यसअघि अध्यक्ष विक वेपत्ता भएलगतै उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सञ्चालक समितिका सदस्यहरुले हिसाव किताव खोजीनीति गर्न धरान उपमहानगरको सहकारी विकास समितिमा निवेदन दिएका थिए । त्यसपछि उपमहानगरपालिकाले टंक सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले सहकारीका अध्यक्ष कृष्ण, प्रबन्धक मोहन र शिखर सगरमाथा ज्वेलरी प्रालिले बदमासी गरेको ठहर गरेको प्रतिवेदन बनाएको थियो ।

छानविन समितिले सहकारीले करिव ७ करोड रुपैयाँ अपचलन गरेको ठहर गर्दै सहकारी विकास समिति धरान उपमहानगरपालिकामा आफ्नो प्रतिवेदन बुझाएको थियो । समितिले आर्थिक अचलन गर्ने कृष्ण विकको नेपालभरी रहेका सम्पूर्ण चल अचलन सम्पती, बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । छानविन समितिका संयोजक सुवेदीले भने, ‘छानवीन गर्दा सहकारीका अध्यक्ष विकले बदमासी गरेको देखियो । हामीले सहकारी तिरको मात्र छानवीन गर्दा सहकारीमा २ करोड ३६ लाख रुपैयाँ बचत र शेयर भएको पाइयो । त्यसमा ८८ लाख रुपैयाँ शेयर सदस्यहरुलाई नै ऋण दिएको, ६८ लाख रुपैयाँ शिखर सगरमाथा सुनचाँदी पसलमा सापटीको रुपमा दिएको र ५३ लाख रुपैयाँ घाटामा गएको देखाइएको छ ।’ सहकारीमा २ हजार २ सय शेयर सदस्य रहेपनि करिव ७ सय जनाले बचत गर्ने गरेको पाइएको थियो ।

उनले भने, ‘तर सहकारीले बचतकर्ताबाट संकलन गरेको लाखौं रुपैयाँ सहकारीको पासवुकमार्फत संकलन गरेपनि शेयर सदस्यमा दर्ता नगरेकाले त्यस्ता कति संख्यामा थिए भन्ने नै पत्ता लगाउन सकिएको छैन ।


विक वेपत्ता भएकै बेला श्रीमतीले धरान-१५ मा रहेको घर पनि असार २७ गते एक करोड ५० लाख रुपैयाँमा बिक्री गरेको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो । सहकारीमा ८ लाख रुपैयाँदेखि ८० लाख रुपैयाँसम्म बचत गर्नेहरु पनि छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?