१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

थापा नेतृत्वको रेडक्रस केन्द्रीय समितिलाई कारबाही, तदर्थ समिति गठन

माधव बस्नेत

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीको निवर्तमान केन्द्रीय कार्यसमितिलाई सरकारले कारबाही गरेको छ । जेठ ६ गतेबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सञ्जीव थापा नेतृत्वको निवर्तमान समितिलाई कारबाही गरेको हो । 

थापा नेतृत्वको रेडक्रस केन्द्रीय समितिलाई कारबाही, तदर्थ समिति गठन

थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई हटाएर प्रशासन कार्यालयले प्राडा विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति बनाएको छ । समितिको महामन्त्रीमा कमलप्रसाद निरौला र कोषाध्यक्ष सीताराम कोइराला नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागको प्रमुख समेत भइसकेका मास्के रेडक्रस सोसाइटीको केन्द्रीय समितिमा २०३१-२०३२ सह-कोषाध्यक्ष, २०३२-२०३८ कोषाध्यक्ष, २०३८-२०४२ महामन्त्री, ०४३-२०५५ उपाध्यक्ष र ०६८-०७२ उपाध्यक्ष भइसकेका छन् ।


परोपकारी संस्था रेडक्रसमा संजीव थापा १२ वर्षदेखि अध्यक्ष थिए भने देवरत्न धाख्वा ३३ वर्षदेखि महामन्त्री थिए । लामै समयदेखि देवेन्द्रबहादुर प्रधान कोषाध्यक्ष थिए । थापा नेतृत्वको कार्य समितिले ठूलो मात्रामा भ्रष्टाचार गरेको प्रमाणित भएपछि सरकारले उनीहरुलाई कारबाही गर्न बाध्य भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख रामप्रसाद आचार्यले बताए । सिडिओ आचार्यले भने,'थापा नेतृत्वको कार्य समितिलाई कारबाही गरी तदर्थ समिति गठन गरि दिएका छौं । रेडक्रस सोसाइटी जिल्ला प्रशासन कार्यलयभित्रको अधिकार क्षेत्रमा रहेकाले यस्तो निर्णय गर्नु परेको हो ।'


कारबाही गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थापालाई एक पटक मौखिक र ६ पटक लिलित बयान लिएको थियो । उनको बयानबाट समेत भ्रष्टाचार भएको प्रमाणित भएपछि प्रधानमन्त्री केपी ओली, गृह सचिव प्रेमकुमार राईलगायतको प्रत्यक्ष निर्देशनमा जिल्ला प्रशासन कार्यालयले थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई कारबाही गरेको स्रोतले बताएको छ ।


नयाँ तदर्थ समितिले बुधबारबाट कार्यभार सम्हालेको छ । यसअघि नेपाल साप्ताहिक र कान्तिपुर दैनिकले रेडक्रसभित्रका अनियमितताहरुलाई श्रृंखलाबद्ध रुपमा सार्वजनिक गरेका थिए । अमेरिकन, बेलायती, क्यानेडियन, डेनिस, चीन र थाइल्याण्डको रेडक्रस सोसाइटीले आफ्नो दुतावास र नेपालमा रहेको कार्यालय मार्फत् परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी नेपाल रेडक्रसभित्र भएको भ्रष्टाचार छानबिन र कारबाही गर्न सरकारलाई दबाब दिदै आएका थिए । तर, सरकार लामै समयदेखि मौन थियो ।


चिनियाँ रेडक्रसको सहयोगमा केन्द्रीय गोदाम घर निर्माण गर्न भक्तपुरमा खरिद गरिएको जग्गामा थापा नेतृत्वको कार्यसमितिले अनियमितता गरेको पाइएपछि प्रशासन कार्यालयले कारबाही गरेको हो । थाई रेडक्रसको सहयोगमा भृकुटीमण्डपमा निर्माणाधीन केन्द्रीय रक्त संचार केन्द्र तथा विभिन्न जिल्लामा रेडक्रसले संचालन गरेको खानेपानी परियोजनामा भएको भ्रष्टाचारमा समेत अख्तियारको निर्देशनमा जिल्ला प्रशासन कार्यलयले छानबिन गरिरहेको छ ।

यो पनि पढ्नुहोस्ः

रेडक्रसको साधारण सभा र निर्वाचन स्थगित गर्न निर्देशन

प्रशासनकाे निर्देशन पछि रेडक्रस महाधिवेशन स्थगित, कानूनी उपचारमा जाने निर्णय

प्रकाशित : जेष्ठ ८, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?