स्कुल भर्ना भए रविन

सुरक्षा र छुट्टै पूर्वाधार बनाएर पढाउने सहमति 
बिना थापा

कास्की — अपांगता भएकै कारण भर्नाबाट वञ्चित रविन परियार आइतबारदेखि स्कुल जान थालेका छन् । सुरक्षाको कारण देखाउँदै घरमै बसेर पढ्न भनेको छोरेपाटन माविले नै ६ वर्षीय रविनलाई केजी कक्षामा पढाउन थालेको हो । 


अभिभावक र विद्यालयबीच रविनको सुरक्षा र छुट्टै पूर्वाधार बनाएर पढाउने मौखिक सहमति भएको छ । वैशाख ११ देखि पढाइ सुरु भए पनि विद्यालयले अपांगता भएकाले सुरक्षा दिन नसक्ने भन्दै पढाउन मानेको थिएन । रविनले पढ्न नपाएको बारे शनिबार कान्तिपुरमा समाचार प्रकाशित भएको थियो ।


विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले रविनका लागि तत्काल हालकै अवस्थामा राखिने र बिस्तारै उनका लागि नयाँ संरचना बनाएर पढाइने बताए । 'बस्ने व्यवस्था नभएसम्म एक-दुई दिन अभिभावक आएर हेरिदिन भनेका छौं,' उनले भने, 'कक्षाकोठामा उनलाई पढाइमा कसरी सहज हुन्छ भनेर फर्निचरको व्यवस्था गर्छौं ।' रविनलाई बाबु कुमारले आइतबार बिहान विद्यालयको केजी कक्षामा पुर्‍याएका थिए । त्यहाँ उनलाई अरू साथीसँगै बेन्चमा राखिएको थियो ।


विद्यालय खुलेको लामो समयसम्म पनि स्कुल जान नपाउँदा दुःखी भएका रविन कक्षामा साथीभाइसँगै बसेर पढ्न पाउँदा निकै खुसी भएका थिए । 'घरमा बस्दा कस्तो-कस्तो हुन्थ्यो । तर आज स्कुल आउन पाउँदा खुसी भएको छु,' रविनले भने, 'अब धेरै पढ्छु । पढेर प्रहरीको जागिर खान्छु । नभए डाक्टर बन्छु ।'


विद्यालयले घरमै राखेर पढाउन आग्रह गरेपछि छोराले पढ्न पाउँदैन कि भनेर बाबु कुमार चिन्तित थिए । 'आज छोरालाई स्कुल पुर्‍याएर कक्षामा राख्न पाउँदा म पनि खुसी छु,' उनले भने, 'यसका लागि विद्यालयलाई धन्यवाद दिन्छु । छोराको पढाइ र सुरक्षामा मेरो पनि चासो नहुने कुरा भएन । विद्यालयको पनि समस्या हेरेर अघि बढ्छु ।'


अबदेखि कुनै पनि अवरोधबिना छोराले निरन्तर पढ्न पाउने उनले विश्वास लिए । छोरालाई बस्न सहज हुने गरी फर्निचरको व्यवस्थामा पनि आफूले सहयोग गर्ने उनले बताए ।


कक्षा शिक्षक अमृता शाहीले पढाउन नसक्ने नभनेको, सुरक्षा दिन सक्दैनौंमात्र भनेको बताइन् । 'रविनलाई कक्षामा सुरक्षासाथ बस्ने व्यवस्था मिलाइदिए पढाउन कुनै गाह्रो विषय होइन,' उनले भनिन्, 'मुख्य कुरा सुरक्षा चुनौती हो ।'


अर्की शिक्षक टीका क्षत्रीले अभिभावकलाई नबुझाएसम्म विद्यार्थीको सुरक्षा जिम्मा विद्यालयले लिनुपर्ने बताइन् । 'अपांगतामैत्री विद्यालय हुनुपर्छ । यो सरकारको पनि काम हो,' उनले भनिन्, 'विद्यार्थीअनुसार शिक्षक दिए यस्तो समस्या हुँदैन ।'


रविनले पढ्न नपाएको समाचार सुनेपछि विद्यालय पुगेका राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपांगता भएकाले पनि अन्य विद्यार्थीसरह पढ्न पाउने वातावरण मिलाउनुपर्ने बताए । 'अपांगता भएकै कारणले विद्यालय, राज्यले विभेद गर्न पाउँदैन,' उनले भने, 'रविनको हकमा उनको सुरक्षाको विषय उठाएर गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पायौं ।' विद्यालयले रविन बस्ने पूर्वाधार बनाउने विकल्प नखोजी कसरी तर्किन सकिन्छ भन्नेमा केन्दि्रत भएको उनले बताए ।


बच्चालाई गाह्रो हुन्छ, लड्छ, विद्यार्थी चल्छन् भन्ने एकदमै मसिना कुरा सबै विद्यालयमा हुने भन्दै शर्माले विद्यार्थीलाई नियन्त्रण र अनुशासनमा राख्ने काम शिक्षकको भएकोतर्फ हेक्का राख्नुपर्ने बताए । 'शिक्षकमा अपांगतासम्बन्धी सामान्य जानकारीसमेत नभएको देखियो, यस्तो अवस्थामा शिक्षकले पढाउँदा विद्यार्थीमा कस्तो चेतना आउला ?,' उनले भने ।


रविन दुवै खुट्टा टेक्न सक्दैनन् । अरूको सहारा वा हिवलचियरमा हिँड्छन् । शरीर हृष्टपुष्ट, बोली प्रस्ट छ भने बोल्न र लेख्न कुनै समस्या छैन । तर विद्यालयले भने नर्सरी कक्षा उत्तीर्ण गरी केजीमा पुगेका उनलाई जिम्मा लिन नसक्ने भन्दै घरमै पढाउन भनेको थियो ।

प्रकाशित : वैशाख ३०, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

मुम्बइले जित्यो आईपीएल उपाधि

एजेन्सी

हैदरावाद — मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को उपाधि जितेको छ । मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइ सुपर किंग्सलाई १ रनले पराजित गर्दै उपाधी जितेको छ। श्रीलंकाली बलर लसिथ मलिंगाले अन्तिम ओभरमा घातक बलिङ गरे र चेन्नाइलाई निश्चित देखिएको जितबाट रोके । 

आईपीएलको उपाधि मुम्बइले चौथोपल्ट जितेको हो । जितको अगाडि चेन्नाइका सेन वाट्सनको अर्धशतक ओझेलमा परेको थियो । वाट्सनले ८० रन बनाए र टिमले २० ओभर ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । वाट्सनले ५९ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरे र रनआउट भए । चेन्नाइले अन्तिम बलमा दुई रन बनाउनुपर्नेमा त्यसलाई हात पार्न सकेन ।


चेन्नाइलाई प्रारम्भिक ब्याट्सम्यान जोडी फाफ डे पलेसिस र वाट्सनले अपक्षित सुरुआत दिलाए । उनीहरूले आक्रामक ३३ रनको साझेदारी गरे । दक्षिण अफ्रिकी ब्याट्सम्यान डे पलेसिसले २६ बलमा ३१ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी इशान किशनको थ्रोमा रनआउट भएपछि खेलमा रोमाञ्चकता थपिएको थियो । टिमका लागि सुरेश रैना र अम्बाती राइडुले खासै गतिलो योगदान दिन सकेनन् ।


यसअघि मुम्बईले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १ सय ४९ रन बनायो । चेन्नाइका बलरको कसिकसाउ बलिङ अगाडि मुम्बईका अधिकास ब्याट्सम्यानले राम्रो सुरुआत लिएपनि त्यसलाई बलियो स्कोरमा परिणत गर्न सकेनन् । मुम्बईका लागि छैटौं क्रममा ब्याटिङ गर्न आएका वेस्ट इन्डिज ब्याट्सम्यान किरोन पोलार्डले सर्वाँधिक ४१ रन बनाए र नटआउट रहे । उनले ३ चौका र ३ छक्का प्रहारगरे ।


त्यस अगाडि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डे ककले २९ रन बनाए । दक्षिण अफ्रिकी ब्याट्सम्यानले पहिलो विकेटका लागि कप्तान रोहित शर्मास“ग ४५ रनको सोझदारी गरेपछि टिमले त्यसको फाइदा लिन सकेन् । मुम्बइका लागि इशान किसनले २३ रन बनँए । चेन्नाइका तर्फबाट दीपक चहारले २६ रनमा ३ विकेट लिए । यस्तै इमरान ताहिर र सारदुल ठाकुरले २/२ विकेट लिए ।


प्रकाशित : वैशाख ३०, २०७६ ००:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×