कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोडमा मिटु 

नेपालमा मिटुका छिटफुट कथा आउँदै, सेलाउँदै, बिलाउँदै गइरहेका बेला पुरूषहरुलाई उनीहरुको अनुचित व्यवहारप्रति थोरबहुत जवाफदेही बनाउने प्रयास नेपाली रंगमञ्चबाट भयो
भृकुटी राई

काठमाडौँ — गत महिना नेपाली रंगकर्मीबारे यौन दुर्व्यवहारको समाचार आउँदा टेकुस्थित 'कौसी' नाटकघरको चौथो तल्लामा झन्डै एक दर्जन कलाकार 'प्राइभेट इज् पोलिटिकल' नाटकको तयारीमा जुटिरहेका थिए । महिला हिंसा र रंगमञ्चमा यौन दुव्र्यवहारबारे संवाद कण्ठ गरिरहँदा उस्तै उस्तै लाग्ने वास्तविक घटनाको समाचारले नेपाली रंगमञ्चमा तरंग ल्याइरहेको थियो ।

मोडमा मिटु 

एउटा साप्ताहिकमा छापिएको रंगमञ्चमा यौन दुव्र्यवहारबारे समाचारमा महिला नाट्यकर्मीहरूले वान वल्र्ड थिएटरका राजकुमार पुडासैनी, मण्डलाका राजन खतिवडा र हाल निष्त्रिmय रहेको गुरुकुलका संस्थापक सुनील पोखरेलमाथि आरोप लगाएका छन् । पुडासैनी र खतिवडाले भने आफ्नो व्यवहारका लागि माफी मागिसकेका छन् । समाचार प्रकाशन भएको केही दिनमा वान वल्र्ड थिएटरले पुडासैनीलाई 'सुधारवादी निलम्बनमा' राख्ने निर्णय पनि गर्‍यो ।

'कौसी' मा मञ्चन भइरहेको नाटक र मिडियामा आएको समाचारको टाइमिङ मिल्नु संजोग मात्र हो । नेपालमा मिटुका छिटफुट कथा आउँदै, सेलाउँदै, बिलाउँदै गइरहेका बेला पुरुषहरूलाई उनीहरूको अनुचित व्यवहारप्रति विरलै जवाफदेही बनाउने प्रयास नेपाली रंगमञ्चबाट भयो । त्यसैले यही 'टाइमिङ' ले यस्तो कदम चाल्ने समय जुराइदिएको भान हुन पुगेको छ ।

नयाँ बाटो पहिल्याउँदै

संसारभरि मिटु आन्दोलनले अनेक स्वरूप लियो, कतै सामाजिक सञ्जाल हुँदै फैलियो भने कतै खोज पत्रकारिताको माध्यमबाट । तर यस्ता घटना बाहिर आएपछि प्रायः पीडकका वक्तव्यमा झल्किने भाव उस्तै हुन्छ । सुरुमा ठाडै अस्वीकार गर्ने र त्यसपछि सामाजिक सञ्जालमा यी कुरा उछालिने क्रम बढेसँगै आउने वक्तव्यमा पीडकको भाषा नरम हुँदै गएको देखिनु सामान्य हो । कोही भने उल्टै पीडितहरूमाथि नै औंला ठड्याउँछन् । त्यसपछि कतिपय आत्मालोचना गर्ने भन्दै सार्वजनिक जीवनबाट केही समय टाढिन खोज्छन् ।

नेपालमा भने मिटुका भोगाइ सार्वजनिक भएपछि आत्मालोचना कम र औंला ठड्याइ बढी देखियो । काठमाडौंका पूर्वमेयर केशव स्थापितले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोप खण्डन गर्दै 'यस्ता आरोप पुरुष अधिकारको बलात्कार हो' भने । प्राध्यापक कृष्ण भट्टचनले छात्रालाई अनुचित व्यवहार गरेको समाचार आउँदा उनले पनि उल्टै ती महिलाहरूको नियतमाथि प्रश्न उठाए र त्यसलाई जनजाति आन्दोलनमाथिको आक्रमण भने ।

नेपाली रंगमञ्चमा आरोप पछिको घटनाक्रम अलि भिन्न तरिकाले अगाडि बढ्यो । पीडकहरूले सामाजिक सञ्जालमा आफ्नो व्यवहारका लागि माफी मागे, केहीले ती महिलालाई प्रत्यक्ष रूपमा भेटेरै माफी मागे । यस्ता घटनाबारे महिला रंगकर्मीहरूबीच पहिले पनि गाइँगुइँ नभएको होइन ।

चार वर्ष अगाडि 'योनिका कथाहरू' तयार गर्ने क्रममा महिलाहरूले आफूमाथि दिग्गज् कलाकार र पुरुष सहकर्मीहरूले यौन दुव्र्यवहार गरेको कथा एक-अर्कालाई सुनाएका थिए । कसैलाई अप्ठ्यारो हुने गरी छोइएको थियो भने कसैलाई रात बेरात फोन गरेर 'मनको बह' सुन्न बाध्य तुल्याइएको थियो । कतिजनाले त आफूलाई नानाथरी म्यासेज पठाएको प्रमाण देखाए ।

तर गएको महिनामा जे जस्तो घटना बाहिर आए र त्यसपछिका घटनाले जुन मोड लियो, त्यसलाई धेरै महिलाले सकारात्मक रूपमा लिएका छन् ।

आफ्ना पीडकसँग आँखा जुधाएर बोल्दा, केही हल्का महसुस भएको बताए ती महिलाहरूले । बहस सुरु हुनु 'सराहनीय' भए पनि समग्र रंगमञ्चमा यौन दुव्र्यवहारको विषय सम्बोधन गर्नेतर्फ ठोस कदम चाल्ने बेला आइसकेको पनि उनीहरूको मत छ । 'हाम्रा नाटक घरहरूले यौन दुव्र्यवहारबारे आफ्ना विद्यार्थी र कलाकारलाई सिकाउन जरुरी छ', रंगकर्मी सृजना अधिकारी भन्छिन्, 'त्यस्ता व्यवहार ती संस्थाहरूमा कदापि हुँदैन पनि भन्नुपर्छ ।'

पुडासैनीलाई 'सुधारवादी निलम्बनमा' राख्ने वान वल्र्ड थिएटरको निर्णय र मण्डलाले राजन खतिवडालाई 'कम्तीमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त' बनाउने कदमले यस्तो घटनामा सम्बन्धित संस्थाले पीडकलाई जवाफदेही कसरी बनाउन सकिन्छ भन्ने बहस सुरु पनि भयो । रंगमञ्चले यी कदम चाल्न सक्छ भने अरू क्षेत्रमा किन हुन सकेन ?

'रंगकर्मी पुरुषहरूको तुलनामा अरू क्षेत्रका पीडकमा पैसा र प्रभाव बढी छ होला' कथा घेराकी आकांक्षा कार्की भन्छिन् । आफ्नो भोगाइबारे बोल्ने आँट गरेका अन्य क्षेत्रका महिलालाई नेपाली रंगमञ्चमा भइरहेका नौलो उपलब्धिले खुसी त बनाउला, तर आफूलाई दुव्र्यवहार गरेका पुरुषलाई जवाफदेही बनाउने झिनो प्रयाससम्म नदेख्दा दिक्क पनि लागेको उनीहरू बताउँछन् । तीमध्ये २८ वर्षीया स्मृति पनि पर्छिन् जसले केही समयअघि काठमाडौं पोस्टलाई आफू प्राध्यापक कृष्णबहादुर भट्टचनबाट दुव्र्यवहारमा परेको बताएकी थिइन् । 'शक्तिशाली पुरुषले जे गरे पनि केहीले नछुने रहेछ,' उनले भनिन् ।

गत साता ललितपुर माध्यमिक विद्यालयका केही पूर्वछात्रालाई पनि त्यस्तै महसुस भयो । आफूहरूलाई सानो छँदा यौन दुव्र्यवहार गरेका शिक्षक बोधराज 'वासु' त्रिपाठी, सुम्नता 'सुमन' केसी र गोकुल शर्माबारे उनीहरूले बोलेपछि विद्यालयले एउटा छानबिन समिति बनायो । तर समितिले 'पर्याप्त प्रमाणको अभावमा' तीनैजना शिक्षकमाथि कारबाही गर्न नसक्ने ठहर गर्‍यो । 'हामीलाई ती पुरुषले छोएर अप्ठ्यारो बनाएको अझै याद छ', २१ वषर्ीय रचना दाहाल भन्छिन्, 'हाम्रो भोगाइबाहेक अरू के प्रमाण हामीबाट आस गर्नुहुन्छ ?' विद्यालयमा यौन दुव्र्यवहारको बहस सुरु भएकोमा भने खुसी छिन् दाहाल ।

न्याय नपाएको भान भइरहँदा यी सबै कुरामाझ मिटुका विषयबारे मिडियाको बदलिँदो नजरिया एकमात्र आशाको किरण भएको छ स्मृति र रचनाका लागि । गएका केही दिनमा यौन दुव्र्यवहारका विषयले नेपाली मिडियामा धेरै स्थान पाउन थालेको छ । 'मिटु सुन्न र पढ्न मानिस तयार हुन थालेको जस्तो लाग्छ,' स्मृति भन्छिन् ।

जवाफदेहिताको खोजी

केहीको तर्क भने मिडियाले यौन दुव्र्यवहार र लैंगिक हिंसालाई दिने 'टि्रटमेन्ट' अरू विषयभन्दा फरक हुनु हुँदैन भन्ने छ । यी विषयवस्तुलाई पनि गहिराइसम्म केलाएर सत्यतथ्य बाहिर ल्याई सम्बन्धित संस्था वा व्यक्तिलाई जवाफदेही बनाउन मिडियाले खेल्नुपर्ने भूमिका बलियो हुनुपर्छ भन्नेहरू पनि छन् ।

'विशेषांक वा विचार स्तम्भमा मात्र सीमित गर्नु हुँदैन', पूर्वविद्यार्थी नेत्री मानुषी यमी भट्टराई भन्छिन्, 'खोज पत्रकारिताबाट यस्ता विषय बाहिर आउन जरुरी छ ।' यौन दुव्र्यवहारबारे सोचाइमा परिवर्तन आउन समय लाग्ने बताउँछिन् भट्टराई । र, त्यो तबसम्म सम्भव छैन जबसम्म संस्थाहरूमा यो विषय सम्बोधन गर्ने तीव्र इच्छा हुँदैन ।

दुई महिनाअघि त्रिभुवन विश्वविद्यालयमा यौन दुव्र्यवहारलाई कसरी सम्बोधन गर्नेबारे छलफल भयो । गत सातामात्रै टीयूकै 'जेन्डर स्टडिज' संकायमा अर्को कार्यक्रम गरियो । 'हामीले जति झक्झकाए पनि टीयूजस्तो संस्थाको निणर्ायक तहमा बस्ने व्यक्तिका लागि यौन दुव्र्यवहार प्राथमिकतामा नपरेको देख्दा दिक्क लाग्छ', भट्टराई भन्छिन् । टीयू जस्ता जेठो संस्थाले यौन दुव्र्यवहारलाई प्राथमिकतामा नपारिरहेको अवस्थामा, नेपाली रंगमञ्चले तुलनात्मक रूपमा छिटो छरितो सम्बोधन गर्नु सकारात्मक रहेको उनी बताउँछिन् ।

'हामी यसबारे बहस र संवाद अघि बढाउन अग्रसर छौं,' मण्डला नाटकघरका कलाकार सोमनाथ खनाल भन्छन् । विज्ञप्तिबाजी भन्दा एक कदम अघि बढेर अब ठोस कदम चाल्नुपर्ने बेला आइसकेको आवाज नेपाली रंगमञ्चबाटै आउन थालिसक्यो । 'परिवर्तनको कुरा गरेर मात्र पुग्दैन अब, हामी नै परिवर्तन हुनुपर्छ', 'प्राइभेट इज् पोलिटिकलका कलाकार सुधाम सिके भन्छन् ।

खनालका अनुसार मण्डलाले अब आफ्नो अभिनयका कोर्सहरूमा यौन दुर्व्यवहारबारे बहस र सिकाइ अनिवार्य बनाउनेछ । र, आफ्नो कार्यस्थलमा यस्तो विषय सम्बोधन गर्न नीतिनियम तर्जुमा गर्न पनि अग्रसर हुनेछ । 'विगतमा हामी यी कुरा बुझ्न र समयमै सम्बोधन गर्न चुक्यौं तर अब यौन दुव्र्यवहारको विषय हाम्रो प्राथमिकता हो,' उनले भने ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?