पाठशालामा कृषिशाला

करिश्मा चौधरी

वीरेन्द्रनगर — स्थानीयवासी कलाधर जैसीले आफ्नो टोलछिमेकको विद्यालय कुनै दिन कृषि क्याम्पसका रूपमा विकास होस् भनेर ८ घार मौरी दिएका थिए । ६ वर्षमा अहिले जनज्योति माध्यमिक विद्यालयमा ९१ घार पुगेका हुन् ।

उनी आफैँले मासिक पारिश्रमिक लिएर ती मौरी रेखदेख गर्छन् ।‘मौरी चराउन सुर्खेतका विभिन्न ठाउँदेखि कैलालीसम्म पुर्‍याउँछु,’ उनी भन्छन् ।

एक वर्षमा सात पटकसम्म मह काढ्छन् । स्थानीय सहकारी संस्थासँग सहकार्य गरेर प्रशोधन गरीवरी बजारमा लैजान्छन् । मह स्थानीय बजारसँगै काठमाडौं र पोखरासम्म पुग्छ । जैसीका अनुसार स्थानीय बजारमा मह प्रतिकिलो साढे पाँच सय रुपैयाँमा बिक्री हुन्छ ।

यही शैक्षिक सत्रमा विद्यालयले १२ क्विन्टल मह उत्पादन गरिसकेको छ । प्रधानाध्यापक नारायणप्रसाद सिग्देलका अनुसार ८ क्विन्टल त बिक्री भइसकेको छ । बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित यो विद्याजलय वरपर मौरी, माछा र खसीब्राखा पनि छन् । कृषि र भेटेनरी अध्ययन गर्ने विद्यार्थीले प्रयोगात्मक सीप सिक्दै आएका छन् । विद्यालयले बर्सेनि सरदर २० लाख रुपैयाँ आफैँ कमाउने गरेको छ ।

त्यस्तै अहिले मंगुर जातका करिब चार हजार माछा पनि पालिएको छ । मंगुर माछाको हेरचाह विद्यार्थीले गर्ने गरेका छन् । त्यस्तै रहु, ग्रासकार्प, नैनी, कमलकार गरी करिब आठ हजार माछा पालिएको छ । यी माछाको रेखदेखमा एकजना कर्मचारी राखिएको छ । सिग्देलका अनुसार वार्षिक १० क्विन्टलसम्म माछा बिक्री हुने गरेको छ । उनका अनुसार प्रतिकिलो तीन सयका दरले माछा बिक्री हुन्छ । स्थानीय बजारसँगै विभिन्न जिल्लाका विद्यार्थी रहेकाले उनीहरूले आफ्नो जिल्लामा पनि पठाउने गर्छन् ।

विद्यालयले वार्षिक तीन लाख बराबरको खसी/बाख्रा बेचिरहेको छ । अहिले ५७ बाख्रा छन् । बाख्राको रेखदेखका लागि दुईजना कर्मचारी छन् । त्यस्तै धान खेती पनि गर्दै आएको छ । यस वर्ष ७६ मुरी धान बेचेको प्रअ सिग्देलले जनाए । उनका अनुसार १ हजार २ सय रुपैयाँ मुरीका दरले धान बिक्यो । खेत जोत्न र ढुवानीका लागि टयाक्टर प्रयोग गरिन्छ ।

उनले भने, ‘बीउको नर्सरी बनाएर विद्यार्थी र अभिभावकलाई बेर्ना बेच्ने योजना छ, जसले विद्यार्थी र अभिभावक तरकारी खेतीमा आकर्षित हुनेछन् ।’ विद्यालयका अनुसार स्वआर्जन गरेको रकमले निजी स्रोतमा राखेका शिक्षकलाई तलब खुवाउन सजिलो भएको छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२५ गाउँमा महतवा

करिश्मा चौधरी

वीरेन्द्रनगर — ३५ थारू गाउँ रहेको सुर्खेतको वीरेन्द्रनगरका २५ गाउँमा महतवा र अगह्वा चुनिएका छन् । थारू जातिले माघलाई नयाँ वर्षका रूपमा मनाउनुका साथै अगह्वा र महतवा चुन्ने गर्छन् । यो माघीको दोस्रो दिन हुन्छ ।

सुर्खेत वीरेन्द्रनगर १०, बुदबुदीको थारू गाउँमा बुधबार चुनिएका महतवा चन्द्रबहादुर थारू (बायाँ) र अगह्वा बुद्धि चौधरी । तस्बिर : करिश्मा/कान्तिपुर

विभिन्न सामाजिक, सांस्कृतिक काम गरिने माघमा थारूले अगह्वा र महतवा चुन्ने प्रक्रियालाई निकै महत्त्व दिन्छन् । नयाँ अगह्वा र महतवाले गाउँका लागि नयाँ योजना पनिबनाउने गर्छन् । यसअघि कार्यान्वयन भइरहेका नियम पनि पालना गराउँछन् । अघिल्लो
वर्षका अगह्वा र महतवाकोकाम चित्तबुझ्दो भए उनीहरूलाईनयाँ वर्षमा जिम्मेवारी दिइन्छ । चित्तबुझ्दोनभए अर्को व्यक्ति चुनिन्छ । महतवार अगह्वा चयन गर्दा धेरैजसोसर्वसम्मत हुन्छन् ।

नेतृत्व गर्ने चुन्ने र जिम्मेवारी दिन गाउँका सबैले छलफल गर्छन् । गाउँको भलाइ, सबैको माग र नियमअनुसार नै उनीहरूले काम गर्नुपर्ने हुन्छ । महतवा छनोटमा गाउँको सक्षम व्यक्ति खोजिन्छ । यस वर्षका लागि वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा चन्द्रबहादुर थारू महतवा र बुद्धि चौधरी अगह्वा चुनिए । त्यस्तै नयाँ गाउँमा टोल विकास संस्थाका अध्यक्ष बालकृष्ण चौधरीलाई महतवा छानियो । वीरेन्द्रनगरकै पदमपुरमा पनि दुर्गबहादुर थारू महतवा र गंगाराम चौधरी अगह्वा चुनिएका छन् ।

थारू गाउँमा विकास निर्माणका साथै भोजभतेर, विवाहपर्व तथा मान्छे बित्दा कामको बाँडफाँट र निर्देशन दिने काम महतवाले गर्छन् । अगह्वाले महतवाको निर्देशन पालना गर्छन् । गाउँमा कुनै विषयमा बेमेल भए, झैझगडा भए महतवाको अध्यक्षतामा मिलाउने गरिन्छ । अगह्वा र महतवालाई नेतृत्व विकाससँग जोडिन्छ । अगह्वा/महतवा केन्द्रीय समिति सदस्य दुर्गबहादुर थारूले महतवा टोल विकास संस्थाका अध्यक्षजस्तै नेतृत्वकर्ता रहेको बताए ।

महिला पनि अगह्वा र महतवा बन्ने चलन छ । सुर्खेतमा भने अहिलेसम्म महिला महतवा चुनिएका छैनन् । ‘चलनअनुसार महिला पनि महतवा बन्छन्, सुर्खेतमा छैन,’ उनले भने, ‘अधिकार लिन नखोजे कसले दिन्छ र ?’ महिला पनि अगह्वा, महतवा बने उनीहरूको नेतृत्व विकास हुने थारू बताउँछन् । थारू समुदायमा अगह्वा, महतवा चुन्ने परम्परालाई एकताका रूपमा लिन सकिने अगुवा जागुराम
थारू बताउँछन् ।

प्रकाशित : माघ ३, २०७५ ०८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×