नेपाललिक्स : ५५ नेपालीको विदेशमा लगानी

खोज पत्रकारिता केन्द्र

काठमाडौँ — ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।

स्केच: खोज पत्रकारिता केन्द्र ।

५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन्। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ।

विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी/व्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन्। केहीको ठेगाना खुल्न सकेको छैन। नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो। गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ।

पूर्व सांसद् वीरेन्द्र महतो

हाल संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, पूर्व सांसद् वीरेन्द्र महतोको बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ मा लगानी छ। चार जना लगानीकर्ता रहेको एम्कोडोरका साझेदारहरूमा गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ, वीरेन्द्रका दाइ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष उपेन्द्र महतो र उनका विदेशी साझेदार रोमियो अब्दो हुन्। नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो कर छली प्रकरण– एनसेलमा पनि जोडिन्छन अब्दो।

एनसेल बिक्री प्रकरणमा झन्डै ६१ अर्ब रुपैयाँ (हाल ७२ अर्ब पुगिसक्यो) कर छली गरेर बाहिरिएको टेलियासोनेराको तर्फबाट एनसेलमा प्रतिनिधित्व गर्थे उनी। अब्दो टेलियासोनेराले नेपालको एनसेल कम्पनीमा लगानी गरिरहेका बेलाका अध्यक्ष हुन्। कागजातहरूले लेवनानी मूलका अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् भन्ने देखाउँछ।

वीरेन्द्र महतोले सात वर्षअघि लगानी गरेको स्वीकार गरे। “करीब सात वर्ष पहिले मेरो लगानी थियो, अहिले छैन” उनले भने, “नेपालबाट अन्य लगानीकर्ता को को थिए त्यसबारे मलाई थाहा छैन।” बेलारुस छाडेर अहिले नेपालमा नै बसिरहेको उनले बताए। महतोले भने “पहिले गैरआवासीय नेपाली थिएँ। अहिले छैन।” आफूले रोमियो अब्दोलाई नचिनेको उनको भनाइ थियो।

निरज, समता र उपेन्द्र

सन् २०१५ मा आईसीआईजेको ‘पनामा पेपर्स’ खुलासामा उपेन्द्र महतोका नाममा ‘ट्याक्स हेवन’ मुलुकमा कम्पनीहरू रहेको उल्लेख थियो। हामीले प्राप्त गरेका कागजातहरूले महतो, उनकी श्रीमती समता र उनका साझेदार निरजगोविन्द श्रेष्ठका नाममा ब्रिटिश भर्जिन आइल्यान्डस्, साइप्रस, बेलारुस, बेलायत र भारतमा लगानी रहेको देखाउँछ।

उनीहरूमध्ये कुनै दुई वा तीनैका नाममा रहेका कम्पनीहरूमा स्पार्टली भेन्चर, पंकुर फाइनान्स, टिपोलोजिया, मनिस्टार, एम्कोडोर, बिएन्डके, यज्ञदिप, युमि नेपाल अर्थक्वेक, नोष्टल बिजनेश कर्व, मावेल एपरेल, युमि अपिल नेपाल अर्थ क्वेक छन्। यसबारेमा महतोले कुनै प्रतिक्रिया दिन मानेनन्।

अजेयराज सुमार्गी र अर्जुन शर्मा

व्यवसायी अजेयराज सुमार्गीको पनि विदेशमा लगानी रहेको भेटिएको छ। आईसीआईजेसँग आवद्ध साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले ट्याक्स हेवन मुलुक साइप्रसको ‘डिपार्टमेन्ट अफ रजिष्ट्रार अफ कम्पनिज एन्ड अफिसियल रिसिभर’ का विवरणहरू खोपकेलाई उपलब्ध गराए। ती दस्तावेजका अनुसार, सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा लगानी गरेको भेटियो।

साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो। ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक ल फर्मले दर्ता गराइदिएको एयरबेलका लगानीकर्ताहरूमा अजयराज सुमार्गी पराजुली, नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिश भर्जिन आइल्यान्डस्को जोधार इन्भेष्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक छन्। सुमार्गीको ठेगाना हेटौंडा–५ मकवानपुर नेपाल लेखिएको छ भने शर्माको कमलादी काठमाडौं–२ उल्लेख छ।

साइप्रसका खोज पत्रकार स्तेलियोसका अनुसार, “साइप्रसमा सुमार्गीको कम्पनी दर्ता हुँदा नेपालको मात्रै हैन, साइप्रसको समेत कानून उल्लंघन भएको छ। विदेशमा लगानी गर्न नपाउने देशका नागरिकले साइप्रसमा पनि लगानी गर्न पाउँदैन। म्याग्नमसर्भ ल फर्मले नेपालीले विदेशमा लगानी गर्न नपाउने कानूनी व्यवस्थाबारे थाहा पाउनु जरूरी थियो।”

सुमार्गी र शर्माले विदेशमा लगानी गरेर कानूनको स्पष्ट उल्लंघन गरे। त्यति मात्रै होइन नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा विदेशको आफ्नै कम्पनीबाट नेपालमा रकम भित्र्याउने काम समेत गरे।

यसअघि सार्वजनिक भएको विवरण अनुसार, उनीहरूले नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीको नाममा आफ्नै एयरबेल कम्पनीबाट नेपाल रकम भित्र्याएका थिए। २०७४ पुसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, “सन् २००८ देखि २०१३ सम्ममा सुमार्गीले ९ पटक गरेर ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैयाँ) एयरबेलबाट आफ्ना नेपाली कम्पनीमा भित्र्याएको देखिन्छ।”

यस बाहेक पनि सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करीब ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब रुपैयाँ) अहिलेसम्म नेपाल भित्र्याइसकेका छन्। सुमार्गीले एयरबेलमा आफ्नो लगानी नभएको बताए। “साइप्रसको एयरबेल भन्ने कम्पनीमा कसरी मेरो लगानी हुनु? तपाईँले पाउनुभएको डकुमेन्टमा त्यही सूचना छ भने लेख्नुस्।” उनले विदेशबाट सबै रकम सरकारमार्फत औपचारिक रूपमा नै ल्याएको दाबी गरे। सुमार्गीले भने, “मेरो टेलिफोन कम्पनीको मालिक नै एयरबेल हो। एयरबेलको मालिक टेलियासोनेरा हो।” उपेन्द्र महतो र टेलियासोनेरासँगको साझेदारीको विषयमा उनले भने, “मलाई थाहा छैन। यसबारे उपेन्द्र महतोलाई नै सोध्नुस्।”

सुमार्गीकै कम्पनीमा काम गर्ने शर्माले चाहिं साइप्रसको एयरबेल कम्पनीमा तपाईँको लगानी रहेछ नि भन्ने प्रश्न सोध्ने बित्तिकै टेलिफोन काटिदिए। दोस्रो पटक फोन उठाए, बोलेनन्। तेस्रो पटक फोन गर्दा काटे। चौथो पटकमा फोन नै अफ गरे।

चौधरी परिवारकै लगानी

चौधरी परिवारका चार जनाको नाममा विदेशमा लगानी रहेको भेटियो। अरुणकुमार चौधरी र उनकी श्रीमती शिला, छोरा करण र सुर्भान्सको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा अर्सिन लिमिटेड कम्पनी दर्ता छ। आईसीआईजेका अनुसार, सन् २००४ मा दर्ता भएको यो कम्पनीको नेपालको ठेगाना सरस्वती सदन, ठमेल उल्लेख छ।

आईसीआईजेका अनुसार, अर्को ट्याक्स हेवन टापु गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनी यो कम्पनीका साझेदार छन्। टेन्बी नोमिनिज लिमिटेड र ब्रोक नोमिनिज लिमिटेड चौधरीका साझेदार कम्पनी हुन्।

टेन्बी र ब्रोक कम्पनीमा को को शेयर होल्डर छन् भन्ने चाहिं खुल्न सकेन। उक्त कम्पनी अहिले अस्तित्वमा नभएको चौधरीको भनाइ छ। चौधरीले भने, “मेरो बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरूले छोरालाई बेलायतमा पढाउने हो भने तिमीलाई सजिलो हुन्छ कम्पनी खोल भनेका थिए तर खोलिन। आईसीआईजेमा कताबाट त्यो खबर आयो थाहा भएन। त्यो आएपछि मलाई धेरै अप्ठेरो पर्‍यो।”

राजेन्द्रकुमार काव्रा र उनकी श्रीमती रेखा काव्रा विदेशमा लगानी गर्ने अर्को परिवार हो। उनीहरूले एउटै कम्पनीमा लगानी गरेका छन्। शुक्रपथ काठमाडौं ठेगाना उल्लेख उनीहरूले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा फ्रेग्रेन्स टाउन लिमिटेड नामक कम्पनी दर्ता गरेका छन्। कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, राजेन्द्र काव्रा भृकुटी कागज उद्योगका लगानीकर्तामध्ये एक हुन्। विदेशमा लगानीबारे काव्रा समूहले केही बताउन चाहेन। रेखाले सबै कुरा श्रीमानलाई मात्रै थाहा भएको बताइन्।

गुमनाम लगानीकर्ता

व्यावसायिक क्षेत्रमा खासै नाम नसुनिएका नेपालीहरूले समेत विदेशमा लगानी गरेको भेटियो। त्यसको उदाहरण हो नवाङ डोल्मा। जोरपाटी–२ ठेगाना उल्लेख डोल्माले सन् २०१२ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा फिक्स युनियन होल्डिङ्स लिमिटेड र गोल्डेन सिम्बल इन्टरनेशनल लिमिटेड कम्पनी दर्ता गरेकी हुन्। त्यस्तै अर्को नाम हो उमादेवी सिंघानिया। उनका नाममा सन् १९९८ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा सिल्भर ट्रि लिमिटेड कम्पनी दर्ता छ।

खासै नसुनिएको अर्को नाम हो रिनुका प्रधान। चुनदेवी, ४ काठमाडौं ठेगाना उल्लेख गरी प्रधानले सन् २००६ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा रेस्ट पार्क क्यापिटल इन्क कम्पनी दर्ता गरेकी हुन्। यो कम्पनीमा अन्य दुई नेपालीको पनि लगानी छ। नेपाली ठेगाना थाहा नभएका पुनम प्रधान र अजयप्रसाद प्रधानले रेस्ट पार्क कम्पनीमा लगानी गरेका छन्। आईसीआईजेको विवरणमा उनीहरूको ठेगाना सिंगापुर मात्रै उल्लेख छ।

नेपाली व्यावसायिक जगतमा नसुनिएको अर्को नाम हो विमलकाजी ताम्राकार। ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनले हिमालयन इन्भेष्टमेन्ट ग्रुप र वर्ल्ड डिष्ट्रिव्युसन नेपाल प्रालि नाम गरेका कम्पनीमा लगानी गरेका छन्। आईसीआईजेका अनुसार, उनले २००२ र २००३ मा यी दुई कम्पनी दर्ता गरेका हुन्। हिमालयन इन्भेष्टमेन्ट ग्रुपमा विमलकाजीसहित विश्ववरसिंह थापा, नवीन्द्र जोशी, विश्वधर तुलाधरको लगानी रहेको देखिन्छ।

सिद्धिभवन कान्तिपथ ठेगाना उल्लेख गर्ने ताम्राकारको वर्ल्ड डिष्ट्रिव्युसन नेपाल प्रालिमा अन्य नेपालीको समेत लगानी छ। नेपाली नागरिक विजेन्द्र जोशी, अरुण श्रेष्ठ, तुलाधर र नवीन्द्रको यसमा लगानी रहेको आईसीआईजेले जनाएको छ।

नेपाली नागरिकको लगानी रहेको ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता गरेकै नाम वर्ल्ड डिष्ट्रिव्युसन नेपाल प्रालि नेपालमा पनि दर्ता भएको भेटियो। २०५१ चैतमा नेपालमा दर्ता भएको यो कम्पनीका शेयर होल्डर पनि उनै छन्। आईसीआईजेले सन् २०१३ अप्रिलमा सार्वजनिक गरेको ‘अफसोर लिक्स’ मा वर्ल्ड डिष्ट्रिव्युशन नेपाल प्रालिका लगानीकर्ता अरुण श्रेष्ठ र नवीन्द्र जोशीको राष्ट्रियता खुल्न नसकेको उल्लेख थियो। तर, नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सोही नाममा दर्ता भएको कम्पनीका शेयर सदस्यहरूको सूचीमा उनीहरूकै नाम भेटिएपछि उनीहरू नेपाली भएको पुष्टि हुन्छ।
अरुणकी श्रीमती कलिनाले पनि यो पुष्टि गरिन्। “यो हाम्रो आइटीसँग सम्बन्धित कम्पनी हो। ब्रिटिश भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता भए/नभएको श्रीमानलाई थाहा छ, उनले भनिन्, “म तपाईंको कुरा श्रीमान्लाई भनेर फोन गर्न लगाउँछु।” तर, अरुण सम्पर्कमा आएनन्।

चर्चामा नरहेको अर्को नाम हो विनु श्रेष्ठ। आईसीआईजेका अनुसार, उनले पनि सन् २००५ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा वेलउड एकज लिमिटेड कम्पनी दर्ता गरेका छन्। आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा नेपाली नागरिक किशोर रानाको नाम पनि थियो।

इचंगु काठमाडौं ठेगाना उल्लेख रानाले ट्याक्स हेवन मुलुक माल्टामा सेलेस्टियल इन्भेष्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन्। माल्टास्थित कम्पनीको पूरै शेयर उनको नाममा छ। काठमाडौं–३ ठेगाना उल्लेख गरेका निर्मल श्रेष्ठले पनि ट्याक्स हेवन मुलुक माल्टामा सन् २००९ मा केआरवी ग्रुप अफ कम्पनीमा लगानी गरेको विवरण फेला परेको छ।

नेपाली व्यावसायिक क्षेत्रमा खासै नचिनिएका श्याममिलन श्रेष्ठको पनि ब्रिटिश भर्जिन आइल्यान्डस्मा दुई कम्पनीमा लगानी छ। सोनेट वर्ल्ड वाइड लिमिटेड र आईलिंकेज इन्टरनेशनल लिमिटेडमा उनको लगानी रहेको भेटिएको छ। सोनेट वर्ल्ड वाइडमा श्याममिलनसहित सात जनाको लगानी देखिन्छ।

नेपाली हुनसक्ने नाम थर भएका अन्य दुई आशिष रौनियार र चिम्पाल रौनियारको पनि सोनेटमा लगानी छ। तर उनीहरूको ठेगाना उल्लेख छैन। अर्को कम्पनी आईलिंकेजमा पनि यिनै दुई, श्याममिलन र अर्का नेपाली खुश्बु सरकारको लगानी रहेको आईसीआईजेको विवरणमा उल्लेख छ।

हाम्रो टेलिफोन सम्पर्कमा आएका श्यामिलनले खुश्बु सरकार श्रेष्ठलाई चिनेको बताए। “उहाँसँग मिलेर हङकङमा १४/१५ वर्ष अगाडि ‘जिरो एकाउण्ट’ को कम्पनी खोलेको हो। अहिले त्यसको अस्तित्व समाप्त भइसक्यो” श्रेष्ठले भने, “केही काम लाग्छ कि भनेर खोलेका थियौं।”

श्रेष्ठको यो प्रतिक्रिया पछि हामीले हङकङको कर्पोरेट रजिष्ट्रिजको विवरण हेर्‍यौं। कर्पोरेट रजिष्ट्रिजका अनुसार, सोनेट इन्टरनेशनल नामको कुनै कम्पनी हङकङमा दर्ता छैन। कर्पोरेट रजिष्ट्रिजको दस्तावेज अनुसार आइलिंकेज इन्टरनेशनल लिमिटेड दर्ता छ। तर, त्यसका लगानीकर्ता दुई मलेशियन नागरिक हुन् श्याममिलन हैनन्।

खुश्बु सरकारले २००१ मा स्टार्ट अप कम्पनीको लागि दर्ता गरेको बताए। “त्यो हङकङमा दर्ता थियो। हङकङका साथीहरूले कर प्रयोजनका लागि ब्रिटिश भर्जिन आइल्याण्ड्समा राखेका रैछन्” उनले भने, “त्यो कम्पनी काम लागेन, तीन महिनामा बन्द भयो।” उनीसँगै नाम जोडिएका श्याममिलन श्रेष्ठ, आशिष रौनियार, चिनपाल रौनियारको लगानी रहेको उनले बताए। नेपालीले विदेशमा लगानी गर्न पाइँदैन नि भन्ने प्रश्नमा उनले भने “२००१ मा हामीलाई विदेशमा कम्पनी दर्ता गर्नुहुन्न भन्ने थाहा थिएन।”

ब्रिटिश भर्जिन आइल्यान्डस्मा लगानी गर्नेहरू अरू पनि छन्। एम्कोडोर अर्थ मुभिङ इक्विपमेन्ट इन्डिया प्रालि र महेश्वर सफ्टेक प्रालिमा पनि नेपाली नागरिकहरूको लगानी देखिन्छ। काठमाडौं महाराजगञ्ज ठेगाना रहेका योगेशलाल श्रेष्ठ र मेनुका श्रेष्ठले यी कम्पनीमा लगानी गरेका हुन्। योगशलाल र अर्का नेपाली राजनलाल श्रेष्ठको नाममा अर्को कम्पनी छ– महेश्वर सप्लायर्स कम्पनी।

सन् २०१७ को आईसीआईजेको प्याराडाइज पेपर्स लिक्सले विकास सिन्हाको नाम पनि सार्वजनिक गरेको थियो। सिन्हाको जन्मस्थान नेपाल हो, विदेशमा कम्पनी खोल्न उनले नेपाली राहदानी प्रयोग गरेका छन्। ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनको युनाइटेड स्पिरिटस् लिमिटेड कम्पनीमा लगानी रहेको भेटियो।

यसले नेपालको चर्चित मदिरा कम्पनी युनाइटेड स्पिरिटस्मा ट्याक्स हेवन मुलुकमार्फत लगानी ल्याएको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सहयोगमा हाल यो कम्पनी नेपालबाट बाहिरिइसकेको छ।

डाक्टर र प्राध्यापक

गैरकानूनी लगानीमा व्यवसायी मात्रै हैन एक डाक्टर र एक प्राध्यापक पनि जोडिएका छन्। डाक्टर श्यामबहादुर कर्माचार्य र प्रोफेसर शतेन्द्र गुप्ताले ट्याक्स हेवनमा लगानी गरेको देखिन्छ। बायोमेडिकल इक्विपमेन्ट विज्ञ डाक्टर श्यामबहादुर कर्माचार्यले ललितपुर–महानगरपालिका २ ठेगाना उल्लेख गरी २००८ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा सर्जि इलेक्ट्रो मेडिका कम्पनी दर्ता गरेका हुन्।

सर्जि इलेक्ट्रो मेडिका नामको कम्पनी नेपालमा पनि दर्ता भएर पोखरामा सञ्चालनमा छ। यो कम्पनीले बायोमेडिकल उपकरण आयात र बिक्री गर्ने काम गर्छ। विदेशमा र नेपालमा एउटै नाममा खुलेको यो कम्पनीले डाक्टर र हस्पिटलहरूलाई चाहिने ‘बायोमेडिकल र सर्जिकल इक्विपमेन्ट’ आपूर्तिको काम गरिरहेको छ।
काठमाडौं र पोखराको सर्जि इलेक्ट्रो मेडिकामा कर्माचार्यकै लगानी रहेको कम्पनी प्रतिनिधि अनिल भुर्तेलले पनि पुष्टि गरे। “उहाँ नेपालको पहिलो बायोमेडिकल उद्योगी हुनुहुन्छ। नेपालको पहिलो कर्पोरेट हस्पिटल, काठमाडौं हस्पिटलको मालिक पनि हो उहाँ” भुर्तेलले भने, “नवलपरासीमा औषधि उद्योग छ। अहिले छोरा राजु कर्माचार्यले हेर्नुहुन्छ।”

प्रोफेसर गुप्ताले सन् २००४ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा ‘वोन्का इन्टरनेशनल इन्क’ कम्पनी दर्ता गरेको आईसीआईजेको विवरणमा देखिन्छ। यो कम्पनीमा युरोप, अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाका १२ जना डाक्टर र प्रोफेसरहरूको लगानी छ। विवरणबाट नेपाली नागरिक प्रोफेसर गुप्ता र चिकित्सा पेशामै संलग्न १२ अन्य विदेशी नागरिकको सोही समूहले बैंकक्, थाइल्याण्डमा कार्यालय रहेको वोन्का नाम गरेको अर्को संस्था पनि खोलेको देखिन्छ।

फेमेली डाक्टर, फिजिसियन तथा चिकित्साशास्त्रीहरूको अन्तर्राष्ट्रिय सञ्जाल वोन्कामा नेपाली नागरिक गुप्ता मध्यपूर्व तथा दक्षिणएशियाका क्षेत्रीय उपाध्यक्ष समेत भइसकेका छन्। कन्चनपुर जन्मस्थान भएका गुप्ता सन् १९७७ मा सरकारी कोटामा एमबीबीएस अध्ययन पूरा गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका प्रमुख भएको वोन्काको रिपोर्टमा उल्लेख छ। सन् २००१ को डिसेम्बरमा प्रकाशित रिपोर्ट अनुसार, उनी जनरल प्राक्टिसनर्स एसोसिएसन अफ नेपाल (जिपान) का संस्थापक समेत हुन्।

ट्याक्स हेवन र चिनी

सरकारी निकायसमक्ष आफ्नो अनुकूलका एजेण्डाका लागि ‘लविङ’ गर्न सक्ने एक व्यवसायीको नाम हो शशिकान्त अग्रवाल। कहिले खेतान र कहिले अग्रवाल थर लेख्ने उनको पनि विदेशमा लगानी छ। आईसीआईजेले उपलब्ध गराएको विवरण अनुसार, शशिकान्त र उनका भाइ सुमितको ‘मल्टी लिंक ट्रेडिङ लिमिटेड’ कम्पनी ब्रिटिश भर्जिन आइल्यान्डस्मा छ। उनीहरूले सन् २००३ मा यो कम्पनी दर्ता गरेका हुन्।

अग्रवालले चाहिं कम्पनी खोल्न प्रस्ताव मात्रै गरिएको बताए। “महोत्तरीमा चिनी कारखाना र इटहरीमा रिलायन्स स्पिनिङ मिल्स छ। विदेशमा मेरो कतै लगानी छैन” अग्रवालले भने, “त्यतिखेर अखबारमा नाम आएको थियो तर लगानी होइन। एउटा कम्पनी खोल्ने भन्ने कुरा भएको थियो, पछि खुलेन।”

नेपाल चिनी उत्पादक संघका अध्यक्ष रहेका शशिकान्तकै जोडबलमा ३१ भदौ २०७५ मा सरकारले आयातित चिनीको परिमाणात्मक बन्देज लगाउने निर्णय गरिदिएको थियो। अग्रवाल संलग्न उद्योग क्षेत्रलाई सरकारले सुविधा दिएको यो पहिलोपटक थिएन। स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्ने नाममा १५ प्रतिशत भन्सार महसुल बढाएर सरकारले ३० प्रतिशत पुर्‍याइसकेको छ। परिणाम उपभोक्ताले महंगोमा चिनी किन्नु परिरहेको छ।

यसअघि खोपकेले सार्वजनिक गरे अनुसार, विवादास्पद कर फछर्योट आयोगबाट समेत उनले कर छूट सुविधा लिएका छन्। उनको रिलायन्स उद्योगले सरकारलाई विभिन्न शीर्षकमा १ करोड १२ लाख २७ हजार ७७३ रुपैयाँ बुझाउनुपर्ने थियो। यसमध्ये आयोगले उनको पूरै रकम मिनाहा दिने निर्णय गरेको थियो।

नेपाली नागरिकता दुरुपयोग

आईसीआईजेबाट प्राप्त विवरणहरूले विदेशमा पैसा राख्न विदेशी नागरिकले नेपाली नागरिकताको प्रयोग गरेको पनि भेटियो। हरिशकुमार तोदी अग्रवाल, बिजेस तोदी र विन्दु तोदीको विदेशी लगानी बारेको विवरणबाट यो स्पष्ट हुन्छ।

सन् २००७ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा उनीहरूको नाममा उडस्टक युनिभर्सल लिमिटेड नाम गरेको कम्पनी दर्ता भएको रहेछ। यसमध्ये बिजेश र हरिशले विराटनगर–९ मोरङको ठेगाना उल्लेख गरी नेपाली राहदानी पेश गरेका थिए। रोचक कुरा, भारतस्थित हरियाणा ठेगाना उल्लेख भएकी विन्दु तोडी पनि यही कम्पनीको लगानीकर्ता हुन्।

हरिश र बिजेश नेपालमा नाम चलेका व्यवसायी हैनन्। खोजी गर्दै जाँदा यी दुईको भारतमा पनि लगानी रहेको भेटियो। बिन्दु तोदीको लगानी रहेको कम्पनीको बारेमा अनुसन्धान गर्दा हरिश र बिजेश पनि भारतीय नागरिक भएको भेटियो। उनीहरूले भारतीय नागरिक भएर ‘जेड निड्स प्रालि’ नामको कम्पनीमा लगानी गरेका रहेछन्।

खेल सामग्रीको कारोबार गर्ने अर्को कम्पनी ‘टि टेन स्पोर्टस्’ पनि भारतमा उनीहरूकै नाममा दर्ता छ। कम्पनीको वेबपेजमा दिइएको जानकारी अनुसार, यो कम्पनीले अहिले नेपाली क्रिकेट टोलीका लागि जर्सी अपूर्ति गर्दै आएको छ।

हामीले उनको भारतीय नम्बरमा फोन गर्‍यौं। ‘तोदीले टी टेन स्पोट्र्स र वुडस्टक दुवैमा आफ्नो लगानी नभएको बताए” तर नेपाली नागरिकता प्रयोग गरेको प्रश्नमा उनले भने, “जुन देशको भए पनि म जहाँ पनि जान र घुम्न सक्छु।”

पर्यटन व्यवसायी बजगाई

विवरणहरूको अनुसार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रदेश सभामा पराजित राजेन्द्र बजगाईको पनि विदेशमा लगानी रहेको देखिन्छ। बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाईले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका छन्।

गोरखा इन्काउन्टर्सलाई पछि नाम परिवर्तन गरी ‘द हिमालयन एडभेन्चर लिमिटेड’ बनाइएको थियो। नाम परिवर्तन भएको कम्पनीका लगानीकर्तामा लन्डन निवासी लेखनाथ पाण्डे, ब्रिटिश नागरिक म्यागी मग्वाया र नेपाली नागरिक बजगाई शेयर सदस्य छन्। पाण्डे गैरआवासीय नेपाली हुन् भने बजगाई नेपालमै बसोबास गर्ने पर्यटन व्यवसायी हुन्।

बजगाईले नेपालमा पनि ‘गोरखा इन्काउन्टर्स’ कम्पनीको नामबाट पर्यटन व्यवसाय गर्दै आएका छन्। प्राप्त विवरणहरू अनुसार उनले नेपालमा २०५५ सालमा कम्पनी दर्ता गरेका हुन्। त्यसको पाँच वर्षपछि अर्थात् सन् २००४ (२०६०) मा नेपालमै व्यवसाय गरिरहेको कम्पनीको नाम राखेर लन्डनमा नयाँ कम्पनी खोलेको देखिन्छ।

बजगाईले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन्। उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ।

बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको देखिन्छ। यो लगानी हङकङ, ब्रिटिश भर्जिन आइल्यान्डस् र बेलायतका तीन कम्पनीसाग सम्बन्धित छ। ती कम्पनीहरूमा हङकङको ‘आईआरपी एशिया लिमिटेड’ अन्तर्गत ‘सिल्भर हेरिटेज लिमिटेड’, ब्रिटिश भर्जिन आइल्यान्डस्को ‘सिल्भर हेरिटेज लिमिटेड’ र बेलायतको ‘सिल्भर हेरिटेज लिमिटेड’ हुन्। बजगाईसँग साझेदारी गर्ने गरी लन्डनका नागरिक डेविड फ्रयांकेलले पनि २ करोड २५ लाख रुपैयाँ विदेशी लगानी ल्याएका छन्।

बेलायतमा आफ्नो नाममा कम्पनी रहेको बजगाईले स्वीकार गरे। “बेलायतको एक पाउन्डको गिफ्टेड कम्पनीमा म पनि संलग्न छु। म आफैंले लगानी गरेको होइन” उनले भने “हामीले यहाँको पैसा त्यो कम्पनीमा लगेका छैनौं।” ब्रिटिश भर्जिन आइल्यान्डस्बाट लगानी ल्याएको सम्बन्धमा बजगाईले भने, “यो देश कर छलीको हिसाबले कालोसूचीमा परेको कुरा मलाई थाहा छैन। सरकारले लगानीको स्वीकृति दिइसक्यो। म त्यसबारेमा बोल्न चाहन्नँ।”

मंगेश र संजीव

आईसीआईजेले उपलब्ध गराएको क्यालिफोर्नियाको कम्पनी दर्ता गर्ने कार्यालयको विवरण अनुसार काठमाडौं ठेगाना उल्लेख मंगेशलाल श्रेष्ठले पनि विदेशमा लगानी गरेका छन्। मंगेशले अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५ मा इन्सेसेन्ट रेन नामक फिल्म र एनिमेसन सम्बन्धी काम गर्ने कम्पनी दर्ता गरेको भेटियो। यसमा दुई नेपाली नागरिक र एक गैरआवासीय नेपालीको लगानी रहेको देखिन्छ।

त्यसमध्ये एक हुन् मंगेशलाल। सूचनाप्रविधि सम्बन्धी कम्पनी मर्कन्टायल अफिस सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिव राजभण्डारी र क्यालिफोर्निया निवासी किरणभक्त जोशी समेत यो कम्पनीका लगानीकर्ता हुन्। उनीहरूको ठेगाना बाँसबारी, काठमाडौं उल्लेख छ।

क्यालिफोर्नियामा दर्ता रहेको इन्सेसेन्ट रेन नामकै कम्पनीले नेपालमा पनि काम गरिरहेको छ। नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाए अनुसार, इन्सेसेन्ट रेन एनिमेशन स्टुडियो प्रालि नाममा कम्पनी दर्ता गरिएको छ। यसका लगानीकर्ता क्यालिफोर्नियाको इन्सेसेन्ट रेन प्रालि, संजिव राजभण्डारी, किरणभक्त र सुप्रभा राजभण्डारी हुन्।

मंगेश नेपाल युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य समेत हुन्। मंगेशलालले आफ्नो विदेशमा लगानी नभएको बताए। “क्यालिफोर्नियामा किरण दाइ र संजिव अंकलको कम्पनी हो। म त्यसमा संलग्न छैन” मंगेशले भने, “कास ट्रेडिङ हाउस हाम्रो पारिवारिक बिजनेश हो। योगेश्वरलाल श्रेष्ठ मेरो बुवा हो। त्यो कम्पनीमा संलग्न हुन खोजेको हो तर, भइनँ।” संजिव राजभण्डारीसँग सम्पर्क गर्न हामीले मर्कन्टायल अफिस सिस्टम्समा फोन गर्‍यौं। कम्पनीकी रिसेप्सनिष्टले भनिन्, “उहाँ अहिले अमेरिकामा हुनुहुन्छ। नेपाल कहिलेकाहीं मात्र आउनुहुन्छ।” इमेलमा उनलाई सम्पर्क गर्ने हाम्रो प्रयास सफल भएन।

आईएमई ग्रुपका चन्द्रप्रसाद ढकाल

प्राप्त विवरण अनुसार, व्यवसायी चन्द्र ढकालले बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालय ‘कम्पनिज हाउस’ मा सन् २००२ अगष्ट ९ मा सनवर्ड कम्प्युटर कन्सल्ट्यान्टस लिमिटेड खरीद गरेको देखिन्छ। आईसीआईजेको सहयोगमा प्राप्त कागजात अनुसार, उनले खरीद गरेको १२औं दिनमा कम्पनीको नाम परिवर्तन गरी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) युके लिमिटेड बनाएका थिए।

यसमा ढकाल, उनका भाइ हेमराज, दुई बेलायती र दुई गैरआवासीय नेपालीले लगानी गरेका छन्। गैर आवासीय नेपालीहरूमा बेलायत बस्ने अनिलकुमार लामिछाने र कमल पौडेल हुन्। २१ अगस्ट २००२ मा बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालयलाई लेखेको पत्रमा ढकालले भनेका छन्, “नेपाल र मलेशिया दुवैमा हामी लिमिटेड कम्पनी हौं। कम्पनीको नाम इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेड हो।”

हेमराज ढकालको लगानी रहेको अर्को कम्पनी आईएमई होल्डिङ लिमिटेड पनि बेलायतमा दर्ता छ। कम्पनिज हाउसले उपलब्ध गराएको विवरण अनुसार, चन्द्र ढकालको नेपालको ठेगाना महाराजगञ्ज–४ काठमाडौं र बेलायतको ठेगाना पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड उल्लेख छ। हेमराजको ठेगाना चाहिं बेलायतको पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड लेखिएको छ।

बेलायतमा गरेको लगानीबारे व्यवसायी चन्द्र ढकालले भने, “आईएमई नाम मात्र हामीहरूको हो, लगानी हामीहरूको होइन, त्यहींका मान्छेको हो।” तपाईंका नाममा बेलायतमा कम्पनी दर्ता छ नि भन्ने प्रश्नमा ढकालले भने, “तपाईंहरूले कहाँबाट पाउनुभयो त्यो थाहा छैन तर त्यो लन्डनकै मान्छेहरूको हो।” ढकालले सनबर्ड कम्प्युटर कन्सल्टेन्ट भन्ने कम्पनीलाई इन्टरनेशनल मनी एक्सप्रेस नबनाएको र आफू त्यसमा संलग्न नभएको पनि दाबी गरे।

सतिशलाल आचार्य र भावनासिंह श्रेष्ठ

प्राप्त कागजात अनुसार, सिंगापुर बस्ने नेपाली व्यवसायी सतिशलाल आचार्यले सन् २००० देखि २००७ सम्म ब्रिटिश भर्जिन आइल्यान्डस्मा विभिन्न चार कम्पनी दर्ता गरेको देखिन्छ। आचार्यले पासा होल्डिङ लिमिटेड, स्क्वायर स्टार इन्क, लासेल होल्डिङ इन्कर्पोरेटेड र लिडिङ फेथ इन्कर्पोरेटेड कम्पनी दर्ता गरेका छन्।

लासेल कम्पनीमा लिडेनवर्ग लिमिटेडको पनि लगानी छ। सतिश आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको नामबाट पनि विदेशमा लगानी भएको देखिन्छ। सन् २०१५ मा उनको नाममा सिंगापुरमा सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेड दर्ता भएको छ। सुनिभेरा क्यापिटल भेन्चर भावनाकै नाममा नेपालमा पनि कम्पनी दर्ता छ। नेपालमा ठूलो कर छली प्रकरणमा मुछिएको एनसेल कम्पनीमा सुनिभेराको (२० प्रतिशत) लगानी छ।

सतिशको लगानी क्याम्बोडियालगायत अन्य मुलुकमा पनि छ। २१ अप्रिल २०१६ मा क्याम्बोडियाको फेनोम पेन्ह पोष्ट मा कार्यरत खोज पत्रकार ज्याक डेभिसको रिपोर्टमा उल्लेख भए अनुसार, सन् २००६ मा आचार्यले क्याम्बोडियामा टेलिकम कम्पनी एप्लिफोन खोलेर सो कम्पनीको अध्यक्षमा पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंहलाई नियुक्त गरेका थिए।


एप्ली फोनले नेपालको स्मार्ट टेलिकममा लगानी गरेको छ। स्मार्ट टेलिकम नेपालमा सतिश र उनका परिवारको लगानी रहेको कम्पनी हो। उनले सिंगापुरमा खोलेको अर्को बिटम्याप प्राइभेट लिमिटेडले एशिया तथा अफ्रिकामा टेलिकमको व्यापार गर्ने गरेको छ। सन् २००२ मा झण्डै एक खर्ब रुपैयाँ बराबरको पूँजी र सम्पत्ति देखाउँदै यो कम्पनी स्थापना भएको हो।

आचार्यको सिंगापुरमा लाल साहु डिष्ट्रिव्युसन र बिटम्याप प्राइभेट लिमिटेड गरी अरू दुई कम्पनीमा पनि लगानी रहेको भेटिएको छ। सिंगापुरको कम्पनी दर्ता गरिदिने कार्यालय ‘रजिष्ट्रिज अफ कम्पनिज एण्ड बिजनेश’ ले दिएको विवरण अनुसार, लाल साहु डिष्ट्रिव्युसन थोक वस्तुको कारोबार तथा खरीद बिक्री गर्ने कम्पनी हो।

यसै कम्पनीले नेपालको स्मार्ट टेलिकम कम्पनीमा ८० प्रतिशत लगानी गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, स्मार्ट टेलिकमले सरकारलाई १ अर्ब ३७ करोड ५० लाख अर्ब राजस्व बुझाउन बाँकी छ। आईसीआईजेले ‘अफसोर लिक्स’ मा सार्वजनिक गरे अनुसार, सिंगापुरका नागरिक न्यो ले हियाङ पामेलाको पनि यी दुवै कम्पनीमा लगानी छ। हियाङले ब्रिटिश भर्जिन आइल्यान्डस्मा २९ कम्पनीमा लगानी गरेका छन्।

सतिशको कारोबार क्याम्बोडियामा पनि छ। क्याम्बोडियाको वाणिज्य मन्त्रालयको सूची अनुसार, राजबहादुर सिंह त्यहाँ दर्ता भएको लासेल प्राइभेट नामक कम्पनीका पनि मालिक हुन्। सन् २०१३ मा भएको आईसीआईजेको अफसोर लिक्सले पनि २००७ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको लासेल होल्डिङ इन्कमा आचार्यको लगानी भएको देखाउँछ। सतिश र भावनासाग सम्पर्क हुन सकेन।

होटल मल्लकी रमा मल्ल

राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर जबराकी छोरी रमा मल्लले पनि बेलायतमा एक कम्पनीमा लगानी गरेको भेटियो। ‘कम्पनिज हाउस’ बाट प्राप्त विवरण अनुसार, लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिसन एटवाटर र उनको संयुक्त लगानी छ। ‘स्विस लिक्स’ प्रकरणमा आईसीआईजेले दिएको जानकारी अनुसार, स्विस बैंकमा रकम जम्मा गर्नेहरूको सूचीमा एटवाटरको पनि नाम थियो।

एटवाटर र मल्लको लगानीमा बेलायतमा सिक्स्टिन अप्पर ब्रुक स्ट्रीट लिमिटेड कम्पनी सञ्चालनमा छ। ३४ वर्षदेखि अस्तित्वमा रहेको उक्त कम्पनीमा सन् २००४ देखि मल्लले लगानी गरेको देखिन्छ। रमा मल्ल ‘होटल मल्ल’ की अध्यक्ष हुन्। एक वर्षअघि उनले कर नतिरेको भन्दै नेपालमा सार्वजनिक सूचना समेत जारी भएको थियो।

मल्लको प्रतिक्रिया लिन हामीले होटल मल्लमा पटक पटक सम्पर्क गर्‍यौँ। आफूलाई मल्लको स्वकीय सचिव बताउने सुरेन्द्र नाम गरेका व्यक्तिले ‘म खबर पुर्‍याइदिन्छु, भोलि कल आउँछ’ भने। तर, चार दिनसम्म पनि सम्पर्क हुन सकेन।

मिनु शाह/छिब्बर

रमा मल्लसँग व्यापारिक साझेदारी गरिरहेका एटवाटरबारे थप विवरण खोजी गर्दै जाँदा नेपाली नागरिक मिनु शाह/छिब्बरको नाम भेटियो। मिनु शाह स्विस बैंकमा रकम जम्मा गर्ने नेपाली नागरिकमध्ये एक हुन्। एटवाटर र मिनुले आजभन्दा १५ वर्षअघि सन् २००३ देखि दुई वर्ष अघिसम्म ट्याक्स हेवन मुलुकमा लगानी गरेका छन्। आईसीआईजेको पनामा पेपर्सले फेला पारेको २०१५ को विवरण अनुसार ब्रिटिश भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ।

इङ्गल्याण्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डस्मा दर्ता भएको सो कम्पनीको बैंक खातामा लगानीको लाभकर्तामा मिनुको नाम छ। ट्याक्स हेवन मानिने जर्सीमा दर्ता भएको कम्पनी सन् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय देखिन्छ।

२०१० को एक दस्तावेज अनुसार, उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका शेयर सदस्यहरू ब्रिटिश नागरिक हुन्। उनीहरूमार्फत मिनु ट्याक्स हेवन मुलुकमा प्रवेश गरेको देखिन्छ। मिनु शाह/छिब्बर परिवारको सम्बन्ध दुबईको पर्ल ग्लोबल फाइनान्स लिमिटेडसँग पनि छ।

मिनुका दुई छोराहरू महेश र पर्वेश यस कम्पनीका लगानीकर्ता हुन्। यो कम्पनीमा लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिसन एटवाटर पनि अन्तरसम्बन्धित छन्। कम्पनीको दस्तावेजमा ‘ग्राहकसँग सम्बन्धित व्यक्तिगत तथा कानूनी संस्थाको रूपमा एटवाटरको नाम उल्लेख छ। मिनु, महेश र पर्वेश तीनै जनाले आफूले इच्छाएको व्यक्तिमा एटवाटरको नाम लेखेका छन्।

मिनुको जेठो छोरा पर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा दर्जन भन्दा बढी कम्पनीहरूमा लगानी छ। लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको लन्डनमै करीब आधा दर्जन कम्पनीमा लगानी छ। कुपन्डोल, ललितपुर ठेगान भएकी मिनु शाह भारतीय नागरिक सिर्वतेरा प्रकाश छिब्बरसँग विवाह गरेर मिनु शाह छिब्बर भएकी हुन्।

‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित दुई जर्नल अनुसार मिनु उक्त सोसाइटीकी सदस्य हुन्। परराष्ट्र मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीका अनुसार, “मिनु छिब्बरले बेलायती दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा मेशिन रिडेबल पासपोर्ट (एमआरपी) लिएकी छिन्।”

कानूनले के भन्छ?

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन– २०२१ अनुसार विदेशमा लगानी गरे जेल सजायसम्म हुने व्यवस्था छ। यो कानून ‘नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक र नेपालभित्र स्थापित भएको सङ्गठित संस्थाहरूलाई लागू हुने’ उल्लेख छ।

ऐनको दफा २ अनुसार, लगानी भन्नाले ‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बाहेक विदेशमा गरिने अरू जुनसुकै किसिमको नगदी वा जिन्सी’ सम्झनुपर्छ। सो परिभाषा अनुसार, ‘नेपालीले विदेशमा सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैंकमा एकाउण्ट, विदेशस्थित घरजग्गा र जुनसुकै किसिमको नगदी वा जिन्सी लगानी गर्न पाउने छैन।’ ऐनमा भनिएको छ, ‘कसैले यो ऐनको आदेश वा निर्देशनको उल्लंघन गरी कुनै काम कुरा गरेमा निजलाई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ।’

(‘पनामा पेपर्स’ सन् २०१५ मा इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस् (आईसीआईजे) ले सार्वजनिक गरेको खुलासा हो। यो खुलासा जर्मनीको पत्रिका ‘जुटच जाइटुङ’ बाट प्राप्त लाखौं गोप्य प्रतिवेदन र सूचनाहरूबाट निकालिएका निष्कर्षहरू हुन्। १ करोड १० लाखभन्दा बढी प्रतिवेदनमा इमेल, रकम पठाएको प्रमाण तथा कम्पनी दर्ता सम्बन्धी विवरणहरू समावेश छन्। मध्य तथा दक्षिण अमेरिकालाई जोड्ने पनामा देशमा अफसोर अर्थात् बाह्य मुलुकमा शेल कम्पनी दर्ता गराइदिने बिचौलिया एजेन्ट कम्पनी मोसेक फोन्सेका र उसले सन् १९७७ देखि २०१५ सम्म गरेका भित्री कामहरूबारे पनामा पेपर्सले खुलासा गरेको थियो।)

प्रकाशित : माघ २, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललिक्स : स्विस बैंक – शंकास्पद धनको नेपाल ‘कनेक्सन’

खोज पत्रकारिता केन्द्र

काठमाडौँ — बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बरको मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मिनु । स्विस बैंक पु¥याइएको ‘शंकास्पद धन’ को नेपाल ‘कनेक्सन ।’

स्केच: खोज पत्रकारिता केन्द्र ।

२७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ। खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको थियो।

यो रहस्यमय सम्पत्ति कसको होला भन्ने बारेमा आ–आफ्ना अड्कलबाजीहरू थिए। धेरैलाई ‘राजनीतिक नेतृत्वले लुकाएको अवैध धन’ हुनुपर्छ भन्ने लागेको थियो। आईसीआईजेले ‘स्विस लिक्स’, ‘अफसोर लिक्स’, ‘पनामा पेपर्स’ र ‘प्याराडाइज पेपर्स’ मा अध्ययन गरेका करीब दुई करोड ८० लाख कागजातमध्ये नेपाल नाम जोडिएका तीन हजार कागजात हामीले अध्ययन गर्‍यौं।

यसमा आईसीआईजेबाट प्राप्त, त्यसका आधारमा गरिएका थप अनुसन्धान, विभिन्न मुलुकका कम्पनी रजिष्ट्रारको कार्यालयका विवरणहरू, विदेशस्थित खोज पत्रकारहरूले उपलब्ध गराएका तथ्यहरू र इमेल पत्राचारबाट संकलन गरिएको सूचनाहरू समावेश छन्। इन्टरनेटमा आधारित थप अनुसन्धानले हामीलाई नयाँ दस्तावेजहरू प्राप्त गर्न र प्राप्त दस्तावेजहरू केलाउन सजिलो बनायो। तीमध्ये ‘स्विस लिक्स’ सँग सम्बन्धित कागजातले केही नेपाली नागरिक र केही चाहिं नेपाली कागजात र ठेगाना प्रयोग गरेर विदेशीले पनि स्विस बैंकमा रकम जम्मा गरेको भेटियो। यो स्टोरी त्यसैको सार हो।

७ अर्बबाट ५२ अर्ब
आईसीआईजेले २०७१ सालमा सन् २००६/०७ को विवरण मात्रै सार्वजनिक गरेको थियो। तर, त्यसपछि पनि स्विस बैंकमा नेपालीको सम्पत्ति बढेको बढ्यै छ। सन् २०१७ मा स्विस बैंकले नै सार्वजनिक गरेको विवरण अनुसार, अहिलेसम्म त्यहाँ नेपालीले राख्ने र झिक्ने गरेको रकम आधा खर्ब रुपैयाँ नाघिसकेको छ।

सन् २०१७ मा स्विस बैंकले आफ्नो बैंकमा नेपालीहरूको बचत रहेको विवरण वेबसाइटमा सार्वजनिक गरेपछि खोज पत्रकारिता केन्द्रले स्विस बैंकलाई इमेल लेख्यो। ‘तपाईंहरूले राखेको विवरणमा नेपालीको बचत कति हो भन्नेबारेमा हामी स्पष्ट हुन सकेनौं। कुन शीर्षकको रकम नेपालीको बचत हो?’ भन्नेलगायतका विषयमा स्विस बैंकसँग पाँच पटक इमेलमा कुराकानी भयो।
स्विट्जरल्यान्ड, ज्यूरिकको स्विस नेशनल बैंकका तथ्यांक अर्थशास्त्री दिमित्रि लेन्जिनले आफ्नो अन्तिम इमेलमा प्रष्ट्याए, कि बैंकले नेपाल देशअन्तर्गत सार्वजनिक गरेका विवरणहरू मध्ये ‘एमाउन्टस डियू इन रेस्पेक्ट अफ कस्टुमर डिपोजिट’ शीर्षकमा रहेको रकम नेपालीको हो। २० जुलाई २०१८ को इमेलमा उनले थपे, ‘यो प्रत्येक वर्ष छुट्टाछुट्टै जम्मा भएको रकम हो।’

उसले सुझाए अनुसारको रकमको योगफल निकाल्दा नेपालीले ४६ करोड ८ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दर अनुसार– ५२ अर्ब ७ करोड २७ लाख ७३ हजार रुपैयाँ) बचत गरेको देखिन्छ। यस बापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रुपैयाँ) ब्याज समेत पाइसके। ‘यो कति जना नेपालीको बचत हो?’ अर्को इमेलमा हामीले प्रश्न गर्‍यौं। जवाफमा उनले लेखे, ‘हामी बचतकर्ताको संख्या सार्वजनिक गर्न सक्दैनौं।’

रोचक कुरा के छ भने नेपालमा द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ। स्विस नेशनल बैंकले २०१७ मा सार्वजनिक गरेको विवरण अनुसार, पहिलो वर्ष १ करोड १० लाख ४२ हजार स्विस फ्र्यांक अर्थात् १ अर्ब २४ करोड ७७ लाख ४६ हजार रुपैयाँ बचत गरेको देखिन्छ। द्वन्द्वकालको १० वर्षे अवधिमा २४ करोड २ लाख ७२ हजार स्विस फ्र्यांक (२७ अर्ब १५ करोड ७ लाख ३६ हजार रुपैयाँ) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन्।

द्वन्द्व सकिएपछिका दुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ। सन् २००६ अर्थात् २०६३ सालमा मात्रै ३ करोड ६७ लाख २७ हजार स्विस फ्र्यांक (४ अर्ब १५ करोड १ लाख ५१ हजार रुपैयाँ) बचत गरेका छन्। सन् २००७ मा ३ करोड ४५ लाख १० स्विस फ्र्यांक (३ अर्ब ८९ करोड ९६ लाख ३० हजार रुपैयाँ) बचत गरेका छन्।

कुल बचतबाट अहिलेसम्म १३ करोड ८९ लाख ३७ हजार स्विस फ्र्यांक अर्थात् करीब १५ अर्ब ५८ करोड ६८ लाख ८१ हजार रुपैयाँ खाताबाट निकालेको देखिन्छ। अहिले पनि नेपालीको ३५ अर्ब ८४ करोड रुपैयाँ स्विस बैंकमा छ। कानून छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको १२ वर्ष भइसकेको छ।

तर स्विस बैंकमा पैसा पुर्‍याउने क्रम रोकिएको छैन। विभाग गठन भएको २०६४ देखि २०७४ सालको अवधिमा मात्रै २२ करोड ५ लाख ४९ हजार स्विस फ्र्यांक (२४ अर्ब ९२ करोड २ लाख ३७ हजार रुपैयाँ) नेपाली बचतकर्ताले स्विस बैंकमा पुर्‍याएका छन्। अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेर राखिएको छ। यति गम्भीर मामिलामा यो निकायले कुनै सक्रियता देखाएको सार्वजनिक जानकारीमा छैन।

विभागका प्रवक्ता विनोद लामिछाने अन्तरदेशीय सूचना संकलनमा कानूनी समस्या रहेको बताउँछन्। “यहाँ बसेर ज्योतिषीले चिना हेरेझैं पत्ता लाग्दैन। अन्य देशहरूसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदान–प्रदान सम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ। अहिलेसम्म त्यस्तो सम्झौता भइनसकेकाले अध्ययनमा कठिनाइ छ।”

तर, विज्ञहरूका भनाइमा विभागले काम गर्न नसक्नुमा संरचनागत कारण पनि जिम्मेवार छ। “यो विभागलाई अर्थ मन्त्रालय वा प्रधानमन्त्री कार्यालय मातहतमा राख्नै हुँदैनथ्यो” राष्ट्र बैंकमा स्रोतमाथि निगरानी र सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइ प्रमुख भएर पाँच वर्ष काम गरेका धर्मराज सापकोटा भन्छन्, “विभाग गठन गर्दा छुट्टै स्वायत्त संस्था बनाउन धेरै प्रयास गरियो, भएन। यो त्यसैको परिणाम हो।”

मिनु शाह/मिनु छिब्बर

अहिले लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु र उनका दुई छोराहरूको नाममा सबैभन्दा बढी रकम स्विस बैंकमा जम्मा छ। हाम्रो अनुसन्धानले के देखाएको छ भने– बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा पैसा जम्मा गर्ने मिनु शाह विवाह पछि मिनु शाह छिब्बर भएकी हुन्। उनको अर्को ठेगाना चाहिं ललितपुरको कुपण्डोल हो। कुपण्डोलस्थित छिब्बर निवासमा भेटिएका शाहका सहयोगीले भने, “महारानी मिनु बेलायत जानु भा’छ। चैतमा आउनुहुन्छ।”

बेलायतमा बसोबास गर्ने नेपाल आउजाउ गरिरहने मिनुले भारतीय नागरिक सिर्वतेरा प्रकाश (एसपी) छिब्बरसँग विवाह गरेकी छिन्। कागजातहरूले एसपी छिब्बरको सन् २००३ मा मृत्यु भएको देखाउँछन्। भारतीय अदालतमा परेको एउटा मुद्दा केलाउँदै जाँदा भेटिएका केही कागजातबाट एसपी छिब्बरकी जेठी श्रीमती पनि छन् भन्ने देखिन्छ। मिनुतर्फ दुई छोरा पर्वेश छिब्बर र महेश छिब्बर छन्।

मिनु र उनका दुवै छोराको नेपाली राहदानी छ। सन् २००६/०७ मा ७८ लाख ५० हजार ९९१ का दरले दुई छोरा र मिनुले २ करोड ३५ लाख ५२ हजार ९७३ अमेरिकी डलर (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ) स्विस बैंकमा जम्मा गरेका छन्। जेठो छोरा पर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा आधा दर्जन कम्पनीहरूमा पनि लगानी छ। लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको पनि लन्डनमै चार वटा कम्पनीमा लगानी रहेको देखिन्छ।

हामीले बेलायतमा व्यवसाय गरिरहेका मिनुका छोरा पर्वेश छिब्बरसँग स्विस बैंकको बचत बारे सोधेका थियौं। उनले भने, “मलाई यसबारेमा कुनै जानकारी छैन, मेरो आमासँग कुरा गर्नुस्।” मिनुसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन।

मिनु र उनका छोराहरूका कतिपय आर्थिक क्रियाकलापहरू शंकास्पद देखिन्छन्। छिब्बर परिवारको भारतको अदालतमा मुद्दा परेको छ भन्ने आईसीआईजेको कागजातबाट देखेपछि एक जना भारतीय पत्रकारको सहयोगमा हामीले दिल्ली उच्च अदालतका केही कागजात प्राप्त गर्‍यौं। प्राप्त विवरण अनुसार सन् २०१२ मा छिब्बर परिवारको सम्पत्ति सम्बन्धी एउटा मुद्दामा दिल्ली उच्च अदालतले मिनु र उनका छोराहरूले नेपाली ठेगाना प्रयोग गरेकोमा प्रश्न उठाएको भेटियो।

स्विस बैंकका अनुसार, छोरा महेशले नेपाली राजदूतावास लन्डनको सिफारिशमा १० फेबु्रअरी १९९७ मा नेपाली पासपोर्ट बनाएका हुन्। पर्वेशले पनि २३ नोभेम्बर १९९९ मा नेपाली पासपोर्ट बनाएका छन्। ‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित गरेका दुईवटा स्मारिका अनुसार, मिनु उक्त सोसाइटीकी सदस्य हुन्।
मिनु शाह छिब्बरका बारेमा बुझ्न हामीले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्‍यौं। मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीले दिएको जानकारी अनुसार, मिनु छिब्बरका नाममा बेलायतस्थित नेपाली दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा ०६७०२५३६ नम्बरको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भएको छ। पासपोर्टमा लेखिए अनुसार, उनको स्थायी ठेगाना ललितपुर बागडोल हो। पासपोर्टमा नजिकको नातेदारमा भतिजा अमोदप्रताप राणाको नाम उल्लेख छ।

सम्बन्धको जालो

छिब्बर परिवारको सम्बन्ध अन्यत्र पनि छ। मिनुका दुई छोराहरू महेश र पर्वेश ‘दुबईको पर्ल ग्लोबल फाइनान्स लिमिटेड’ कम्पनीका लगानीकर्ता हुन्। यो कम्पनीमा लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिशन एटवाटर पनि छन्। कम्पनीले कानूनी रूपमा इच्छाएको व्यक्ति उल्लेख गर्नुपर्ने ठाउँमा मिनु, पर्वेश र एटवाटरको नाम उल्लेख छ। स्विस बैंकको अभिलेख अनुसार मिनुको ‘ग्राहकसँग सम्बन्धित व्यक्तिगत तथा कानूनी संस्था’ मा एटवाटरको पनि नाम हुनुले मिनु, महेश, पर्वेश र एटवाटर चारै जना एउटै कारोबारमा सम्बन्धित व्यक्ति हुन् भन्न स्पष्ट हुन्छ।

यसबारेको थप विवरणको खोजी गर्दै जाँदा मिनुको कारोबार स्विस बैंकमा मात्रै सीमित छैन भन्ने देखिन्छ। अवैध धन राख्न, स्रोत लुकाउन र गैरकानूनी आर्जनको खोजीनितीबाट बच्न सुरक्षित मानिने ‘ट्याक्स हेवन’ मुलुकको लगानीमा पनि मिनु जोडिएकी छिन्। आईसीआईजेको पानामा पेपर्सले फेला पारेको २०१६ को विवरण अनुसार ब्रिटिश भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले मिनुको नाममा रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ।
इङ्गल्यान्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डस्मा दर्ता भएको यो कम्पनीको बैंक खातामा लगानीको लाभकर्तामा मिनुको नाम छ। ट्याक्स हेवन मानिने जर्सीमा दर्ता भएको यो कम्पनी सन् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय रहेको देखिन्छ। रुनी होल्डिङ्स कम्पनीको शेयर सदस्य सम्बन्धी सन् २०१० को एक दस्तावेज अनुसार, उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका शेयर सदस्यहरू ब्रिटिश नागरिकहरू थिए। उनीहरूमार्फत मिनु ‘ट्याक्स हेवन’ मुलुकमा प्रवेश गरेको देखिन्छ।
दुबईको पर्ल ग्लोबलसँग सम्बन्धित एटवाटर पनि स्विस बैंकका बचतकर्ता हुन्। उनले दुई फरक–फरक खातामा रकम जम्मा गरेका छन्। एउटा खातामा ९ लाख ७ हजार ७७ अमेरिकी डलर (९ करोड ६३ लाख रुपैयाँ) रकम जम्मा देखिन्छ। अर्को खातामा भने ५ करोड ६५ लाख १६ हजार ९७९ डलर अर्थात् करीब ९ अर्ब रुपैयाँ रकम देखिन्छ। अहिले उनी बेलायतमा बस्दै आएका छन्। स्विस बैंकको विवरण अनुसार, बेलायतमा एटवाटरको पाँच वटा कम्पनीमा लगानी देखिन्छ।

एटवाटर र छिब्बर परिवारको कथाको साइनो नेपालसँग यहाँनेर जोडिन्छ। नेपालका राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेरकी छोरी रमा मल्लसँग पनि एटवाटरको सम्बन्ध देखिन्छ। बेलायतमा एटवाटर र मल्ल व्यावसायिक साझेदार हुन्। उनीहरूको संयुक्त लगानीमा ‘सिक्स्टीन अप्पर ब्रुक स्ट्रीट लिमिटेड’ कम्पनी सञ्चालनमा छ। ३४ वर्षदेखि अस्तित्वमा रहेको उक्त कम्पनीमा सन् २००४ देखि मल्लको लगानी देखिन्छ। रमा नेपालस्थित ठमेलको ‘मल्ल होटल’ की अध्यक्ष हुन्। एक वर्षअघि रमाले नेपालमा ८ करोड १० लाख रुपैयाँ कर नतिरेको भनेर कर कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो। हामीले होटल मल्लको टेलिफोन नम्बरमा पटक पटक सम्पर्क गर्‍यौं तर रमासँग सम्पर्क हुन सकेन।

नेपाली कागजातको प्रयोग

कतिपय विदेशी नागरिकले नेपाली कागजात प्रयोग गरेर स्विस बैंकमा सम्पत्ति राखेको पनि फेला परेको छ। आईसीआईजेले उपलब्ध गराएको विवरण अनुसार, ५३ वर्षीय इजरायली नागरिक लिवर जोहार येहुदाले नेपाली पासपोर्ट प्रयोग गरेर स्विस बैंकमा पैसा जम्मा गरेका छन्। येहुदाले पाटन, काठमाडौं ठेगाना उल्लेख गरी स्विस बैंकमा रकम जम्मा गरेका हुन्। केमिकल (रसायन) को आयात निर्यातका व्यापारी भनिने येहुदाको नाममा ४ लाख ९७ हजार २४६ अमेरिकी डलर (५ करोड ३५ लाख ७३ हजार २८४ रुपैयाँ) जम्मा देखिन्छ।

नेपाली ठाउँसँग मिल्ने ठेगाना उल्लेख गरी थप तीन जना विदेशीले पनि स्विस बैंकमा रकम जम्मा गरेका छन्। आईसीआईजेको सन् २००६/०७ को विवरण अनुसार, युएई ठेगाना भएका भारतीय नागरिक सुजलप्रकाश साहले ३ लाख ३२ हजार ७४० डलर (३ करोड ५८ लाख ४९ हजार ४०७ रुपैयाँ) जम्मा गरेका छन्।

भारतका अरुणकुमार रामनिकलाल मेहताले ४ करोड ४ लाख अमेरिकी डलर (४ अर्ब ८४ करोड ४४ लाख १५ हजार ९७३ रुपैयाँ) जम्मा गरेका छन्। स्विस बैंकमा रकम जम्मा गर्ने खातावालाको ‘व्यक्तिगत विवरण’ सम्बन्धी दस्तावेजमा मेहताको ठेगाना ‘पाटन’, व्यवसाय मुम्बईको हीरा कम्पनीको डाइरेक्टर उल्लेख छ। नेपालमा नाम नसुनिएका मेहता को हुन् भनेर पत्ता लगाउन थप अनुसन्धान गर्‍यौं। यसमा खोपकेले प्राप्त गरेको दस्तावेजमा उनको व्यक्तिगत ‘प्रोफाइल’ सँग सम्बन्धित सूचीमा भेटिएका अन्य सात जनाको नाम र विवरणहरूका बारेमा डिजिटल अनुसन्धान गर्‍यो। त्यसबाट अरुणकुमार भारतीय नागरिक भएको र ती सातै जना उनको परिवारको सदस्य रहेको पुष्टि भयो। दस्तावेजमा उल्लेख भएको उनको ठेगाना पाटन भन्ने ठाउँ भारतको गुजरात राज्यमा पर्दछ जहाँ मेहता जन्मेका थिए।

रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार, मेहताको भारतमा सात वटा कम्पनीमा लगानी छ। मुम्बईको रोजी ब्लू प्राइभेट लिमिटेड नामक उनको कम्पनी हीराको व्यापार गर्ने भारतकै ठूलामध्येको एक भएको भारतको आर्थिक दैनिक ‘द इकोनोमिक टाइम्स’ ले २०१८ मार्चमा प्रकाशित एउटा समाचारमा उल्लेख छ। सोही पत्रिकाले २०१६ अप्रिलमा प्रकाशन गरेको अर्को एउटा खबरमा मेहता र उनको परिवारका अन्य ६ सदस्य स्विस बैंकसँग जोडिएको ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड नामको ट्रष्टका लाभकारी ‘बेनिफिसियल ओनर’ भएको आरोप लागेपछि भारतको मुम्बई उच्च अदालतमा मुद्दा चलेको थियो।
अदालतले ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड नामको ट्रष्टसँग आवद्ध कुन व्यक्तिले ४४ मिलियन डलर स्विस बैंकमा जम्मा गरेका हुन् भन्ने पत्ता लगाउन नसकेपछि २०१६ अप्रिलमा सो मुद्दा खारेज गरेको थियो। बम्बई उच्च अदालतले भनेको छ, “एचएसबीसी (स्विस बैंक) जेनेभाले उक्त ट्रष्टसँग सम्बन्धित खाताको विवरण उपलब्ध गराएको खण्डमा मात्र रकम जम्मा गर्ने स्रोतको बारेमा खुल्न सक्छ।” खोपकेलाई आईसीआईजेबाट प्राप्त मेहताको व्यक्तिगत विवरणमा ग्राहकको प्रोफाइलसँग सम्बन्धित व्यक्तिको सूचीमा ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड पनि छ। उसको नाममा ४ करोड ४८ लाख ६१ हजार १७१ अमेरिकी डलर स्विस बैंकमा जम्मा भएको भेटिएको छ।

अरुणकुमार रामनिकलाल मेहताको नाता भारतका अर्बपति व्यापारी मुकेश अम्बानीसँग पनि जोडिन्छ। द इकोनोमिक टाइम्स मा प्रकाशित रिपोर्ट अनुसार, मेहताकी नातिनी श्लोका मेहताको विवाह मुकेश अम्बानीका छोरा आकाश अम्बानीसँग हुने तय भइसकेको छ।

त्यस्तै गोविन्दभाई लालझिभाई ककडिया नाम गरेको व्यक्तिले स्विस बैंकमा २ हजार १८६ अमेरिकी डलर (२ लाख ३५ हजार ५१९) रुपैयाँ जम्मा गरेका छन्। सुजल, अरुण र गोविन्द तीनै जनाको ठेगाना पाटन, काठमाडौं लेखिएको छ। यही ठेगानाका भरमा स्विस बैंक र आईसीआईजेले उनीहरूले राखेको पैसालाई ‘नेपालीले गरेको बचत’ को सूचीमा राखेको देखिन्छ।

तर, गुजरात, पाटनमा जन्मेका गोविन्दभाई लालझिभाई ककडिया भारतका प्रतिष्ठित सुन तथा हीरा व्यापारी हुन्। रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार भारतमा सुन र हीराको कारोबार गर्ने पाँच कम्पनीमा उनको लगानी छ। भारतमा हीराको कटिङ, प्रशोधन तथा उत्पादनमा अग्रपंक्तिमा रहको उनको कम्पनी हो, शीतल म्यानुफ्याक्चरिङ प्रालि।

भारतको दैनिक पत्रिका इन्डियन एक्सप्रेस ले २०१५ को फेब्रुअरी महिनामा प्रकाशन गरेको एउटा समाचारमा ककडिया सामेल भएको शीतल ग्रुपले सन् २००६/०७ मा ९ हजार १०० अमेरिकी डलर स्विस बैंकमा राखेको खुलासा गरेको थियो। सो खातामा भएको रकमको लाभग्राही ‘बेनिफिसियल ओनर’ मा ककडिया र उनका तीन भाइको नाम छ। तर आईसीआईजेले नेपालअन्तर्गत उपलब्ध गराएको दस्तावेज अनुसार, उनको नाममा २००६/०७ मा २ हजार १८६ अमेरिकी डलर स्विस बैंकमा जम्मा भएको देखिन्छ।

के हो स्विस बैंक?

स्विट्जरल्यान्डमा सन् १८५४ मा ‘स्विस बैंक कर्पोरेशन’ का रूपमा स्थापित स्विस बैंकका शाखा ५० देशमा छन्। स्विस बैंकले आफ्नो बारेमा ‘उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको’ दाबी गरेको छ। आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानूनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ। स्विट्जरल्याण्डको अनलाइन पत्रिका स्विस इन्फो न्यूज डट सिएचका अनुसार, ‘खासगरी सम्बन्धविच्छेद (डिभोर्स), गम्भीर आपराधिक कार्य, बैंक टाट पल्टिंदा, अंशबन्डा गर्दा प्राप्त रकम यो बैंकमा मौज्दात गर्नु सुरक्षित मानिन्छ।’

बैंकका अनुसार, विश्वका २०० भन्दा बढी देशका नागरिकको मौज्दात छ। बैंकले जुन कुनै प्रयोजनका लागि कुनै पनि निकायलाई खातावालको विवरण दिंदैन। तर, सन् २०१५ मा स्विस सरकार र युरेपियन युनियन (इयु) बीच भएको सम्झौता अनुसार ‘असाधारण गोपनीयता अन्त्य गरी स्विट्जरल्यान्ड र अन्य युरोपियन मुलुकका खातावालहरूको विवरण माग भएमा आदान/प्रदान गर्नुपर्ने’ सम्झौता छ। सन् २०१५ मा आईसीआईजेले गरेको ‘स्विस लिक्स’ ले कर छली तथा आपराधिक क्रियाकलापबाट आर्जन गरिएको रकम समेत स्विस बैंकमा जम्मा गरेको तथ्य सार्वजनिक भएपछि ईयूले बैंकसँग यस्तो सम्झौता गरेको हो। तर यो सम्झौताले पनि स्विट्जरल्याण्ड र युरोपियन मुलुकसँग असम्बन्धित कारोबार र तीभन्दा बाहिरका मुलुकहरूको गैरकानूनी आर्जन त्यहाँ लुकाउन सकिने नै देखिन्छ।

स्विस बैंकले ‘तानाशाह, भ्रष्ट नेता, कर छली गर्ने व्यापारी, हतियार तथा लागूऔषध कारोबारीको रकम जम्मा गरी नाफा कमाउने काम गरेको’ आईसीआईजेको दाबी छ। ‘स्विस लिक्स’ पछि स्विस बैंकले विश्वभर आलोचना खेप्नुपर्‍यो। केही मुलुकका नेताहरूको राजनीति नै धरापमा पर्‍यो। त्यसको प्रभावस्वरुप स्विस बैंकलाई पनि नियमनको दायरामा ल्याउने प्रयास ईयूले गर्‍यो। तर, अझै पनि स्विस बैंक खातावालाको विवरण आदान/प्रदान गर्न चाहँदैन। स्विस बैंकर्स एशोसिएशनले तयार पारेको २०१५ को प्रतिवेदन अनुसार, यस बैंकको ६.५ ट्रिलियन डलर (६५ खर्ब अमेरिकी डलर) सम्पत्ति छ। प्रतिवेदन अनुसार, यसमध्ये ५१ प्रतिशत सम्पत्ति स्विट्जरल्यान्ड भन्दा बाहिरका देशहरूबाट लगेको हो।

‘स्विस लिक्स’ पछि स्विट्जरल्याण्डको अदालतले स्विस बैंकका सूचनाप्रविधिमा काम गर्ने एक कर्मचारीलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। एर्वी फाल्चेनीले एक लाख ३० हजार खातावालको विवरण चुहाएको आरोपमा जेल सजाय पाएका हुन्। बेलायती समाचार संस्था ‘रोयटर्स’ ले जनाए अनुसार, फाल्चेनीलाई २०१८ अप्रिलमा स्पेनको बार्सिलोनाबाट पक्राउ गरिएको थियो। त्यहाँ उनी दुई महिना जेल बसे। तर, अदालतले स्पेनको कानून अनुसार फाल्चेनीलाई स्विट्जरल्याण्ड ‘सुपुर्दगी’ गर्न नहुने फैसला सुनायो। अहिले उनी जेलबाट छुटिसकेका छन्। उनीमाथि सन् २००८ देखि युरेपियन युनियनका विभिन्न राष्ट्रलाई स्विस खातावालाको सूचना दिने गरेको आरोप छ।

(‘स्विस लिक्स’ इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) र ले मन्डद्वारा सन् २०१५ मा एचएसबीसी प्राइभेट बैंक (स्विट्जरल्याण्ड) का दस्तावेजहरूमाथि गरिएको अनुसन्धानमा आधारित छ। आईसीआईजेले स्विस लिक्स प्रोजेक्टअन्तर्गत करीब ६० हजार दस्तावेजको विस्तृत अध्ययन गरेपछि एचएसबीसी बैंकका झन्डै एक लाख खाता र खातावालाहरूको विवरण फेला पारेको थियो। तीमध्ये धेरैजसो ग्राहक र खाताहरू सम्बन्धी डाटा सन् १९८९ देखि २००७ सम्मका थिए।)

प्रकाशित : माघ २, २०७५ १९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्