जो हेरचाहको भरमा बाँच्छन्

फातिमा बानु

काठमाडौँ — उनी जीवनका अन्तिम दिन गनिरहेका छन् । सम्भावित मृत्युवरणका बेला नै चिकित्सकले बताइसके । उनी भने झन् झन् जीवन्त छन् । जीवनको अन्तिम वसन्तमा हि“डिरहेका उनी काठमाडौंका ६४ वर्षीय वृद्ध हुन् ।

फोक्सोको क्यान्सरबाट प्रभावित उनको अन्तिम चरणमा मात्रै रोग पत्ता लागेकाले जीवन लम्ब्याउने उपचार हुन सकिरहेको छैन । उनी अहिले हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीको नियमित निगरानीमा छन् ।

दिनहुँ हुने परामर्श र सल्लाहले आत्मबल बढेको अनुभव उनको छ । उनी निराश देखिँदैनन् । मर्ने डर पनि छैन । जीवन र मृत्युप्रति सकारात्मक बनेका छन् । भन्छन्, ‘ढाड मात्रै दुखिरहन्थ्यो । महिनौंसम्म नशा च्यापिएको भनेर उपचार भयो । अहिले आनन्द भएको छ ।’ अस्पतालको ‘प्यालेटिभ केयेर वार्ड’ मा उनको उपचार भइरहेको छ ।

चिकित्सा विज्ञानअनुसार रोग निको नहुने अवस्थाका बिरामीलाई सकारात्मक बनाउने दर्शन प्यालेटिभ केयेर एउटा हो । यो उपचारमा बिरामीको शारीरिक, मानसिक र सामाजिक पीडा कम गर्न स्वास्थ्यकर्मीले सहयोग गर्छन् । जसमा बिरामीका परिवार पनि संलग्न गराइन्छ । यो उपचार अस्पताल, घर र प्यालेटिभ केयेर सेन्टरबाट गराइन्छ । उपचार प्रक्रियामा बिरामीका इच्छा सकेसम्म पूरा गर्ने प्रयत्न गरिन्छ ।

जस्तै, कसैको धार्मिकस्थल पुग्ने इच्छा हुन्छ । कसैको घुम्ने इच्छा त कसैको पूजापाठ लगाउने । ओछ्यानबाटै उठ्न नसक्ने बिरामीका लागि अस्पतालमै पूजापाठ गर्ने व्यवस्था पनि मिलाइएको हुन्छ । स्वास्थ्यकर्मी र धार्मिक गुरुको सहभागितामा यो सम्भव बनाइन्छ । प्यालेटिभ केयेर नर्स निर्जिना अधिकारी भन्छिन्, ‘कुनै बिरामी पशुपति मन्दिरमा पुगेर मृत्युवरण गर्ने इच्छा गर्छन् । मृत्यु हुने
दिन हामी बिरामीलाई उतै पुर्‌याइदिन्छौं । कसैका छोराछोरीको बिहे हेर्ने मन हुन्छ । यहीं टीकाटालो गर्ने व्यवस्था गरिदिन्छौं ।’

पाइपबाट खान सिकाउने, पीडा कम गर्ने उपाय सिकाउने, शारीरिक पीडा भए नदुख्ने औषधि दिने, खाना नरुचे खाना रुच्ने औषधि दिने पनि प्यालेटिभ केयेरकै केही उपाय हुन् ।

सुन्दा सामान्य लागे पनि जीवनको अन्तिम घडीमा पुगेका बिरामीका लागि यो उपचार पद्धति प्रभावकारी मानिन्छ । जसले बिरामीको रोग निको पार्न नसके पनि बा“की जीवन गुणस्तर बनाउन सघाउ“छ । यसमा चिकित्सक, नर्स, धार्मिक र आध्यात्मिक गुरु, स्वयंसेवक आदि खटिएका हुन्छन् । यस्तो उपचार विशेषगरी क्यान्सरका बिरामीका लागि गरिने भए तापनि सबै दीर्घरोगीलाई दिन आवश्यक रहेको चिकित्सक बताउ“छन् ।

क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ भन्छन्, ‘प्यालेटिभ केयेर बिरामी बाँचुन्जेलका लागि मात्रै हैन । बिरामीको मृत्युपश्चात उसका परिवारलाईसमेत राहत पुर्‌याउन सक्ने खालको हुन्छ ।’ नेपालमा प्यालेटिभ केयेर भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा पनि छ । गैरसरकारी संस्थाले चलाएका पुनःस्थापना केन्द्रमा पनि यस्तोसेवा भेटिन्छ ।

त्यहाँ बिरामीले सजिलै मृत्यु स्विकार्छन् । थोरै बचेकुचेको जीवन गुणस्तरीय बनाउन सिक्छन् । क्यान्सरका बिरामीलाई दैनिक परामर्श चाहिने हुँदा प्यालेटिभ केयेर वार्ड राख्नैपर्ने चिकित्सक बताउँछन् । कुनै बेला प्यालेटिभ केयेर यति प्रभावकारी बनिदिन्छ कि चिकित्सकले मृत्यु हुने दिन तोकिदिएका बिरामी पनि थप बाँच्छन् । क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र बरालका अनुसार प्यालेटिभ केयेर औषधिले नछुने बिरामीका लागि गरिने उपचार हो ।

उनी भन्छन्, ‘बिरामीलाई जस्तो पीडा हुन्छ त्यस्तै उपचार गर्ने हो, वास्तविक रोगको उपचारचाहिँ हुँदैन, हुन सक्दैन ।’ क्यान्सरका ८० प्रतिशत बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने हुँदा यस्ता बिरामीलाई प्यालेटिभ केयेर अत्यावश्यक पर्ने उल्लेख गर्दै उनले भने, ‘कतिपय मुलुकमा त बिरामीले पीडा खप्न नसेर इच्छा मृत्यु माग्छन्, हाम्रो देशमा इच्छा मृत्युको कानून नभएकाले यो सम्भव भएको छैन ।’

डा.श्रेष्ठका अनुसार यस्ता बिरामीको पीडा शारीरिकभन्दा मानसिक बढी हुन्छ । मानसिक पीडाकै कारण बिरामी डिप्रेसनमा जान्छन् । कति बिरामीको त डरकै कारण चिकित्सकले तोकेको दिनभन्दा पहिल्यै मृत्यु हुन्छ । बाँचेका दिनहरू पनि पीडा र चिन्तामा गुज्रिन्छन् । यस्ता समस्या सुल्झाउन प्यालेटिभ केयेर प्रभावकारी हुने उनी बताउँछन् । उनी भन्छन्, ‘यस्ता बिरामीलाई औषधिले कम र परामर्शले बढी छुन्छ, परिवारलाई पनि परामर्शको खा“चो हुन्छ ।’

कति बिरामीले रोगलाई पूर्वजन्मको पाप, देवीदेवताको श्राप मानेका हुन्छन् । निको हुन नसक्दा पनि यस्तै अन्धविश्वासी कारण लिएर चिन्तित हुन्छन् । यसलाई हटाएर शान्तिपूर्ण मृत्युवरण गर्न पनि प्यालेटिभ केयेरले सघाउँछ । डा.श्रेष्ठ भन्छन्, ‘मृत्युको मुखसम्म पुगेको अवस्थाबारे बिरामीले थाहा नपाओस् भन्ने परिवारको चाहना हुन्छ, बिरामीसँग यस्ता कुरा लुकाउन डाक्टरलाई दबाब दिन्छन्, प्यालेटिभ केयेरमा बिरामीलाई मृत्युबारे भन्नुपर्छ, ताकि उसले इच्छाएका कुरा पूरा गर्न सकियोस् ।’

प्रकाशित : पुस १४, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

हात्तीको घम्साघम्सी

रमेशकुमार पौडेल

चितवन — हात्ती महोत्सवको तेस्रो दिन शुक्रबार सौराहामा हात्तीका तीन खेल भएका छन् । हात्ती पोलोमा एमई ट्राभल्सको टिम विजयी भएको छ ।

सौराहा हात्ती महोत्सवमा शुक्रबार भएको हात्ती पोलो । तस्बिर : रमेशकुमार÷कान्तिपुर

हात्तीको बच्चा (छावा) को फुटबल खेलमा एनआईसी एसिया बैंकको समूह विजयी भएको छ ।

हात्ती महोत्सवको छैटौं संस्करणबाट छावाको फुटबल सुरु भएको हो । एक समूहमा चार÷चारवटा छावा हुने फुटबल खेल हेर्दा रमाइलो देखिन्छ । माहुतेको इसारामा छावाले आफैं लात्ताले बल हुत्याउने गर्छन् । छावाको फुटबलको निर्णयका लागि टस गर्नुपरेको थियो । एनआईसी एसिया र कुमारी बैंकबीचको छावा फुटबलमा मध्यान्तरअघि १५ र पछि १५ मिनेट खेलाउ“दा समान दुई दुई गोल भएको थियो ।

कुमारी बैंकको छावा मारुतीकलीले आफ्नै पोस्टमा बल हिर्काउँदा खेलमा एनआईसी एसियाले सुरुवाती अग्रता लिएको थियो । तर तत्कालै रिमझिमकलीले कुमारी बैंकका लागि गोल गरेर खेल बराबरीमा ल्यायो । १० मिनेटको मध्यान्तर हुने खेलको निर्धारित समय सकिँदा कुमारी बैंकका लागि माडी गज र एनआईसीका लागि सौराहा गजले एक एक गोल गरेर खेलमा बराबरीकै अवस्था कायम राखे ।

त्यसपछि भएको पेनाल्टी प्रहारमा पनि दुवै टिमबाट समान दुई दुई गोल भए । थप भएको पेनाल्टी अवसरमा पनि दुवै टिमले समान एक एक गोल गरे । छावालाई खेलको धेरै तनावमा नपार्नका लागि आयोजकहरूले टसबाट जितको निक्र्यौल गर्ने निर्णय लिए । जसमा एनआईसी एसिया बैंक भाग्यमानी सावित भयो । शनिबार सीजी फुड्स र कोकाकोलाबीच छावा फुटबल हुनेछ ।

नेपालको पहिलो जंगल लज चितवन निकुञ्जभित्रको टाइगर टप्स होटलले मेघौलीमा आयोजना गर्ने हात्तीपोलो अहिले हुन छाडेको छ । तर तीन वर्षयता हात्ती महोत्सवमा यो खेललाई आयोजकहरूले राखेका छन् । हात्ती पोलोका लागि शुक्रबार भएको खेलमा एमई ट्राभल्सको समूहले मेगा बैंकलाई पराजित गरेको हो । एमईले पाँच गोल गर्दा मेगाले चार मात्रै फर्काउन सक्यो ।

पोलोमा माहुतेको पछाडि खेलाडी बसेको हुन्छ । लामो पोलो स्टिकको मद्दतले खेलाडीले क्रिकेट बल आकारको बललाई पोस्टतिर हुत्याउँदै जित्नका लागि गोल गर्नुपर्ने हुन्छ । छावा फुटबल र पोलोमा चार चार टोलीले भाग लिएका छन् । शनिबार पोलो खेलमा एनआरएन हङकङ र सौराहाको होटल सेभेन स्टारको टोली भिड्नेछ । दुवै प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

हात्ती दौडका नाममा १५ वर्षअघि कार्यक्रम सुरु भएको हो । पशु अधिकारकर्मीको विरोधपछि हात्तीलाई दौडाउने नभएर छिटो हिँडाउने भन्न थालिएको हो ।

यस्तो प्रतियोगिता अर्थात् इलाफेन्ट फास्ट वाकमा दोस्रो चरणका लागि छानिएका १२ हात्तीमा बिजुलीकली, जानकीकली, बम्बोजकली, एकताकली, अनारकली, चम्पाकली र आशाकली र सम्वृद्धकली छन् । पूजाकली, रानीमायाकली, गुलाबकली र लक्कीकली पनि छनोट भएका छन् । फास्ट वाकको फाइनल पनि आइतबार नै हुनेछ ।

प्रकाशित : पुस १४, २०७५ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्