काठमाडौंमा चिसो वृद्धि

काठमाडौँ — काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै बुधवार बढी चिसो महसुस गरिएको छ । उपत्यका सहित देशभर चिसो बढेको छ ।महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलवार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । 'तापक्रम घटेपनि यस वर्ष माइनसमा पुग्ने सम्भावना छैन', उनले भने । यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ ।
पहाडी भूभागका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए । बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहनेछ ।
शुक्रवार पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रकाशित : माघ १६, २०७५ १४:४४