मालपोत कर्मचारीको इन्टरनेट सुस्त

भक्तपुर — मध्यपुर–थिमि नगरपालिका–३ गठ्ठाघरकी सुभद्रा गिरीले घरजग्गाको रोक्का फुकुवा गर्न च्याम्हासिंहस्थित भूमि सुधार तथा मालपोत कार्यालय धाएको तीन दिन भयो । तेस्रो दिन (सोमबार) दिनभर बस्दा समेत उनको काम भएन ।

मालपोत कर्मचारीको इन्टरनेट सुस्त

‘शुक्रबार पालो आउला भन्दाभन्दै दिन गयो, आइतबार ४ बजेसम्म बसें, काम भएन,’ उनले भनिन्, ‘कम्प्युटर चलेको छैन भन्छन्, कार्यालयमा खुट्टा टेक्ने ठाउँ छैन ।’


चाँगुनारायण नगरपालिका–८ जितपुर सुडालका राजेन्द्र कार्कीले जग्गा नामसारीका लागि मालपोत कार्यालय धाएको चार दिन भयो । कम्प्युटर/इन्टरनेटमा समस्या भएको बाहानामा कर्मचारीले काम नै नगर्ने उनको गुनासो छ ।


‘दिनहुँ मालपोत आयो, पालो कुर्‍यो, काम बन्ने होइन,’ उनले भने, ‘इन्टरनेटको नाममा सेवाग्राहीलाई सास्तीको चाङ ।’ भूमि सुधार तथा मालपोत कार्यालयमा दिनहुँ सेवाग्राहीको भीड लाग्छ । बिहान १० बजे खुल्ने कार्यालयमा पालो कुर्न ८ बजेदेखि नै सेवाग्राही उपस्थित भइसकेका हुन्छन् । इन्टरनेट सेवा सुचारु गरे पनि सेवा प्रवाहमा भने झनै ढिलासुस्ती भइदिँदा सेवाग्राही मर्कामा परेका छन् । जग्गा नामसारी गर्ने काममा आएका सूर्यविनायक नगरपालिका–६ नयाँबस्तीका अर्जुन जोशीले भने, ‘लेखापढी नभई सेवाग्राहीले मालपोतको काम गर्नै सकिन्न, इन्टरनेटको समस्या देखाउँदै कर्मचारीले कामै गर्न छोडेका छन् ।’


चार दिनदेखि मालपोत धाउँदा समेत काम पूरा नभएको उनको गुनासो छ । समयमा काम नहुँदा दिनहुँ कार्यालय धाउने सेवाग्राही झनै मर्कामा परेका छन् । सेवाग्राहीहरू लामो समयसम्म पनि काम नभएपछि कार्यालयभित्रै सुस्ताइरहेका हुन्छन् । कम्प्युटर शाखामा सेवाग्राहीको भीड लागेको छ । ‘इन्टरनेटको समस्या भन्दै कोठाकोठा चहार्नुपरेको देख्दा पहिले हातैले लेख्ने काम सजिलो भएजस्तो छ,’ सूर्यविनायक–५ कटुञ्जेकी कुसुम तामाङले भनिन् ।


इन्टरनेट सेवाअन्तर्गत व्यक्तिगत विवरण इन्ट्री गर्ने, रजिस्टेसन गर्ने, जग्गा पास, लालपुर्जा बनाउने, मोठ भिडाउने, जग्गा रोक्का राख्ने, नामसारी गर्नेलगायतको काम सबै कम्प्युटरबाटै गर्नुपर्छ । तर, इन्टरनेट कनेक्सन बेलाबेलामा टुटिरहँदा काम प्रभावित हुने गरेको कम्प्युटर अधिकृत शिवराज पोख्रेलले बताए । करिब दुई सातादेखि सुविसुको प्राइमरी लाइनमा समस्या आएपछि सेकेन्डरी लाइन राख्दा समेत प्रभावकारी रूपमा काम नभएको उनले बताए ।


नियमित इन्टरनेट सेवामा समस्या नआइदिने हो भने मात्रै पनि काममा निकै छरितोपन आउने उनी बताउँछन् । ‘जुनसुकै काम गर्दा पनि जग्गा रोक्का भए/नभएको, कागजात मिले/नमिलेको काम सबै कम्प्युटरबाटै हेर्नुपर्छ, एकैछिन मात्रै इन्टरनेट बन्द भइदियो भने पनि काम रोकिइहाल्छ,’ उनले भने ।


भूमि सुधार तथा मालपोत कार्यालयले इन्टरनेट प्रणालीबाट काम/कारबाही थालेको करिब २ वर्ष भयो । दुई सातायता इन्टरनेटमा समस्या देखिएको र इन्टरनेटको समस्याका कारण सेवाग्राहीको काममा ढिलासुस्ती भएको कार्यालयले स्वीकार गरेको छ ।


‘इन्टरनेट नभएपछि केही काम हुँदैन,’ भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर प्रमुख ध्रुवप्रसाद कोइरालाले भने, ‘लिखत अनलाइन रजिस्ट्रेसनको सम्पूर्ण काम इन्टरनेट प्रणालीबाट हुने हो ।’ भक्तपुर मालपोतमा मात्र नभई मुलुकभरको कार्यालयमा जीआईडीसीमा समस्या आएको उनले बताए । मालपोत कार्यालयमा दिनहुँ एक हजारभन्दा बढी सेवाग्राही आउने गर्दछन् ।

प्रकाशित : माघ १६, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?