५५ झयाले दरबार खुला
भक्तपुर — भक्तपुर नगरपालिकाले विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रमा अवस्थित ५५ झयाले दरबार सर्वसाधारणका खुल्ला गरेको छ ।
नगरपालिकाको ६९ औं वार्षिकोत्सवको अवसरमा सातामा २ दिन ऐतिहासिक भित्तेचित्र अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि ५५ झयाले दरबार प्रवेश खुल्ला गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कर्मचारीको निगरानीमा आन्तरिक तथा बाह्य पर्यटकले मंगलबार र शुक्रबार कार्यालय समयमा दरबार प्रवेश गर्न पाउने जनाएको छ ।
५५ झयाले दरबार प्रवेशका लागि आन्तरिक पर्यटक २० र विद्यार्थीले १० रुपैयाँ शुल्कको टिकट लिनुपर्छ भने, विदेशी पर्यटक, पाँच वर्षमुनिका बालबालिका, शारीरिक अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले नि:शुल्क प्रवेश पाउने नगरपालिकाले सूचना सार्वजनिक गरेको छ ।
भूकम्पअघि दरबार सातामा एक दिन मंगलबार खुल्ला गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकका लागि दरबार खुल्ला गरे पनि भित्तेचित्र छुन, फोटो खिच्न निषेध गरिएको जनाएको छ ।
प्रकाशित : पुस ६, २०७५ ०७:३३