बन्यो सिद्धिलक्ष्मी

भक्तपुर नगरलाई साँचो हस्तान्तरण
कान्तिपुर संवाददाता

भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले भूकम्पका कारण क्षतिग्रस्त सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण सकेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरमा पुनर्निर्माण गरिएको सिद्धिलक्ष्मी मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर 

विभागले २ वर्षको अवधिमा पुनर्निर्माण सम्पन्न गरी एक समारोहबीच शुक्रबार क्षमापूजा गरी नगरपालिकालाई साँचो हस्तान्तरण गरेको हो ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र परिसरको प्रस्तर (ढुंगे) मन्दिरको साँचो नगर प्रमुख सुनील प्रजापतिलाई हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पुरातत्त्व विभाग र भक्तपुर नगरको प्रशंसा गरे ।

भक्तपुरका राजा जगतप्रकाश मल्लले नेपाल संवत् ७९२ मा स्थापना गरेको मन्दिर २०७२ वैशाखको भूकम्पले पश्चिमतर्फ ढल्केको थियो । पुरातत्त्वविद्को सुझावअनुसार जगसम्म भत्काएर पुनर्निर्माण गरेको पुरातत्त्व विभागका इन्जिनियर एवं सूचना अधिकारी मोहनकृष्ण श्रेष्ठले बताए ।

सिद्धिलक्ष्मी मन्दिरले १८९१ र १९९० सालको भूकम्प थेगे पनि २०७२ वैशाखको भूकम्प र त्यसपछिको पराकम्पले क्षति पुर्‍याएको हो । क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार गर्दा पुन: भत्किने जोखिम भएकाले जगसम्मै भत्काएर पुनर्निर्माण गरिएको श्रेष्ठ बताउँछन् ।

यसअघि नेपाल संवत् ८३५ मा राजा भूपतिन्द्र मल्लले जीर्णोद्धार गरेको अभिलेखमा उल्लेख छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको मन्दिर १९ फिट लम्बाइ, १९ फिट चौडाइ र २३ फिट अग्लो छ । शिखर शैलीको प्रस्तर मन्दिर माटोको जोडाइमा बाहिर ढुंगा तथा भित्र इँटाको प्रयोग गरी मौलिक शैलीमा बनाइएको हो ।

‘उपत्यकाभित्रका ढुंगे मन्दिरभन्दा भिन्न शैलीमा बनेको सिद्धिलक्ष्मीको छुट्टै विशेषता छ,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सिँढीको दायाँबायाँका रक्षक गणको अद्भुत कलाकारिताले मन्दिरको परिचय दिन्छ ।’ विभागले मन्दिर पुनर्निर्माण गर्न १ करोड १७ लाख १३ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको जनाएको छ ।

मन्दिरमा पुजारीको व्यवस्था गरी सर्वसाधारणका लागि खुला गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पुजारी नहुँदा मन्दिरको नित्यपूजा रोकिएको तलेजु भवानीका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । पुजारी नभएकैले शुक्रबार जोशी र तलेजुकै राजोपाध्याय पुजारी उत्तमांगराज राजोपाध्यायले मूर्ति पुन: प्रतिस्थापन तथा क्षमापूजा गरे ।

नगर प्रमुख प्रजापतिले गुठी संस्थान, भक्तपुर तलेजु र पुरातत्त्व विभागसँग समन्वय गरी पुजारीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि भक्तपुरका साना–ठूला १४ सम्पदा संरक्षण तथा पुनर्निर्माण भइसकेको बताए । उनले बाँकी क्षतिग्रस्त सम्पदा २ वर्षभित्र पुनर्निर्माण गरिसक्ने दाबी गरे । विभागका भक्तपुर प्रमुख मोहन सिं लामाका अनुसार विभागले निर्माणथालेका ३६ मध्ये १४ सम्पदा सम्पन्न भइसकेका छन् ।

अन्य पुनर्निर्माणको चरणमा छन् । चालु आर्थिक वर्षमा १७ सम्पदा संरक्षण तथा पुनर्निर्माणका लागि स्वीकृत भएको उनले बताए । विभागका अनुसार भक्तपुरमा भूकम्पका कारण २ सय ३२ सम्पदामा क्षति पुगेको थियो ।

प्रकाशित : मंसिर ८, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

लाङटाङ फेरि झलमल्ल

बलराम घिमिरे

लाङटाङ — वरिपरि हिमाल । त्यही हेर्न पर्यटकको घुइँचो । होटल भरिभराउ । भूकम्पले क्षतविक्षत लाङटाङ झलमल्ल छ, तंग्रिएको छ । होटल व्यवसायी फर्केर जमेका छन् । आँखाअगाडि चारैतिर दर्जनभन्दा बढी हिमाल देखेपछि पर्यटक दंग पर्छन् ।

करिब पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीमा पुगेर तस्बिर खिचाउँदै पर्यटक । तस्बिर : बलराम/कान्तिपुर

यतिबेला दैनिक ६० देखि ७० पर्यटक आइरहेका छन् । प्रहरीचौकी लाङटाङको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा दुई हजार पाँच सय पर्यटकआएका छन् ।

चर्चित पदमार्ग यो क्षेत्रमा सुरक्षित होटल र घर बनिसकेका छन् । ‘लगभग पुरानै अवस्थामा लाङटाङ फर्किएको छ,’ होटल व्यवसायी ढिन्डुप तामाङले भने, ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ ।’

२०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको थियो । ‘काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा हो लाङटाङ । यही कारण विदेशी पर्यटकको सहज रोजाइमा पर्छ,’ पर्यटन व्यवसायी तेम्बा लामाले सुनाए,‘पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न पाउँछन् ।’

स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरि पर्यटकको लर्को देख्न सकिन्छ । स्याफ्रुबाट करिब दुई दिन पैदलमा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्न पुग्छन् पर्यटक । दोस्रो दिन बिहानै खाजा खाएर हिँडदा रिभर साइड, उडल्यान्ड, घोडा तबेला थाङस्याब, गुम्बा डाँडा हुँदै लाङटाङ पुगिन्छ ।

केही पर्यटक त्यहाँ बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् । पदमार्गमाआउने पर्यटकले रसुवाकै पुरानो क्याङजिनगुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जनभन्दा बढी हिमालको अवलोकनगर्न सक्नेछन् ।

लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्ग मानिन्छ । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीबाट चारैतिर देखिने हिमालको मनमोहक दृश्य देखिन्छ । लाङटाङ जाने पर्यटक चेर्को–री, क्यान्जिन–री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । चेर्को–री पुगेकी स्पेनिस नागरिक मार्ता रोहरले भनिन्, ‘यहाँबाट हिमालको दृश्य हेर्न पाउँदा मनै आनन्द भयो, नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन ।’

लाङटाङ पदमार्गमा जाने अधिकांश पर्यटकले चेर्को–री चढ्ने गरेको क्यान्जिनका होटल व्यवसायी कर्मा तामाङले बताए । चेर्को–री पुगेका पर्यटकले लाङटाङ लिरुङ, झाङ्बु, किम्सुङ, छेर्पा छे, याङ्जी तेन्जी, युब्रा, मरिमटो, सिसापाङमा, लाङटाङ–री, पेम्दङकर्पु, पाङरी गुल्दुम हिमालको अवलोकन गर्न सक्छन् । त्यस्तै गुरकार्पो, दोर्जे लाक्पा, उर्केमा, लाङसिसारी, फायु देप्के, गाङक्षेम्बा, गन्जला चुली र नयाँगाङ हिमाल हेर्न पाउँछन् ।

प्रकाशित : मंसिर ८, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्