कुमारीघर टेकोको भरमा

दामोदर न्यौपाने

काठमाडौँ — वसन्तपुर आएका बेला पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले कुमारीघरका लागि बजेट परिसक्यो, अब छिट्टै बन्छ भनिदिए । कुमारीघरका संरक्षक गौतम शाक्यको खुसीको सीमा रहेन ।

टेको लगाइएको कुमारीघर । यसको जीर्णाेद्धार कसले गर्ने भनेर अझै टुंगो लागेको छैन । तस्बिर : दामोदर/कान्तिपुर

बुझ्न पुरातत्त्व विभाग धाए । सोधखोज गरे । ‘दाहालले दुई करोड रुपैयाँ पर्‍यो भनेका थिए,’ गौतम
भन्छन्, ‘अनि बुझ्न गएँ । केको पर्नु ? एक पैसा रहेनछ ।’

तीन वर्ष बित्यो कुमारीघरमा भुइँचालोले क्षति पुर्‍याएको । जीवित देवी कुमारी बस्ने यो घर अझै टेकोकै भरमा छ । कसले बनाउने भनेर अझै टुंगो लागेको छैन । ‘महानगरले बनाउने भनेर आश्वासन दिएको छ,’ शाक्य भन्छन्, ‘तर बनाउने कुनै सुरसारै छैन ।’

हामीलाई पनि निर्माणको जिम्मेवारी चाहियो भनेर गुठी संस्थानले कुमारीघर बनाउन माग गर्‍यो । उसले बनाउने जिम्मेवारी पनि पाएको थियो । तर स्रोत छैन भन्दै गुठी संस्थानले यसको निर्माण गर्न सकेको छैन ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले हामी बनाउँछौं भन्दै सार्वजनिक अभिव्यक्ति दिए पनि यसको जीर्णाेद्धार प्रक्रिया अघि बढाएका छैनन् । ‘अब कुमारीघर पनि हामी बनाउँछौं,’ मेयर शाक्यले भने, ‘हामीले सानातिना सम्पदा थुप्रै बनाइसकेका छौं । ठूला सम्पदा नबनेकाले मात्रै सम्पदामा काम नभएको जस्तो देखिएको हो ।’

गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरीका अनुसार गुठी संस्थानको स्वामित्वमा कुमारीघर, साँखुको वज्रयोगिनी, रणमुक्तेश्वर मन्दिर, कालमोचन मन्दिर बाहिरको सत्तललगायत आफूले बनाउन संस्थानले माग गरेको थियो ।

जीवित देवी कुमारीको रथयात्रा वर्षमा १३ पटक गरिन्छ । इन्द्रजात्रामा चार पटक बाहिर निकालिन्छ । मत्स्येन्द्रनाथको रथ लगनमा पुगेपछि एक पटक कुमारी जात्रा हुन्छ । बडादसैं, चैतेदसंै, पचली भैरवको जात्रा, घोडेजात्रा, गाईजात्राको भोलिपल्ट, चाँगुनारायण, हनुमानढोका ल्याउने बेला २ पटक कुमारीलाई बाहिर निकालिन्छ ।

कुमारीको दर्शन गर्न दिनहुँ भक्तजन जाने गर्छन् । कुमारीको जीवनशैली रुटिनमा चलेको हुन्छ । बिहान ७ बजे जागा हुन्छ । त्यसपछि नास्ता हुन्छ । ९:३० मा नित्य पूजाको समय हुन्छ । ९ बजेदेखि १२ बजेसम्म भक्तजनलाई दर्शन र पूजा गर्ने समय छुट्याइएको छ । १२ देखि ४ बजेसम्म पढ्ने समय हो । उनलाई पढाउन शिक्षक कुमारीघरमै आउँछन् । ४ बजेदेखि भक्तजनलाई दर्शन गर्न खुला हुन्छ । भक्तजनलाई दर्शन दिन कुमारी आसनमा बस्छिन् ।

भक्तजनले पूजाका सामान ल्याएका हुन्छन् । कुमारीको हातबाट टीका थाप्छन् । आशीर्वाद लिन्छन् । कुमारीको ८ बजे सुकला हुन्छ । ‘बिरामी भएका, कुमारीका दोष लागेका र उपचार गर्दा पनि निको नभएका व्यक्ति कुमारीको दर्शन गर्न आउँछन्,’ शाक्य भन्छन् ।

कुमारीघरको रेखदेख गौतम परिवारले पुस्तौंदेखि गर्दै आएको छ । उनको हेरचाहमा ७ जना छन् । हेरचाह, लालनपालनमा २४ घन्टा जुटेका हुन्छन् । हेरचाह गर्ने छोरी मान्छे हुन्छन् । हेरचाह गर्ने पनि एकै परिवारका हुन्छन् । हेरचाह गर्ने मुख्य जिम्मेवारी ज्ञानदेवी शाक्यको छ । जीवनभर उनले हेरचाह गर्छिन् । उनको सेखापछि उनको जेठी बुहारी वा जेठी छोरीले हेरचाह गर्नुपर्ने परम्परा छ ।

कुमारी राख्ने घर मल्लकालका अन्तिम राजा जयप्रकाश मल्लले बनाएका हुन् । कुमारीको चलन कहिलेदेखि चल्यो भन्ने यकिन छैन । कुमारी छान्ने प्राचीन परम्परा भए पनि छानिएका कुमारी आफ्नै घरमा बस्थे । जयप्रकाश मल्लले घर बनाएपछि यहाँ राख्न थालियो । जयप्रकाश वि.सं. १७९२ मा कान्तिपुरको राजगद्दीमा बसेका थिए । यिनलाई वीर अभागी राजाको नामले इतिहासमा चर्चा गरिन्छ ।

जयप्रकाश मल्ल राजगद्दीमा बसेकै बेलादेखि कान्तिपुरमा गुटबन्दी र विवाद सुरु भएको मानिन्छ । कान्तिपुरमा विवाद भएको मौका पारेर गोरखाली राजा पृथ्वीनारायण शाहले भक्तपुरको सहयोग लिएर चाँगु, साँखु, महादेव पोखरी, दोलखाको नाल्दुमलगायतआफ्नो कब्जामा लिएका थिए ।

जयप्रकाश मल्लकै पालामा कुमारीघरमा तलेजुको प्राणप्रतिष्ठा गरेको संस्कृतिविद् यज्ञमानपति वज्राचार्य बताउँछन् । ‘बौद्ध विधिअनुसार अधिवासन गरियो । हिन्दु दर्शनअनुसार विभिन्न देवीको आह्वान गरियो । शाक्त धर्मको पशुपतिनाथदेखि अन्य देवता भेला गराइयो । स्वयम्भू, हारती, विजेश्वरी पनि भेला गराइयो,’ वज्राचार्य भन्छन्, ‘जयप्रकाश आफैं उपस्थित भए । कसरी प्राणप्रतिष्ठा गरिएको थियो भन्ने कागजात मसँग अझै सुरक्षित छ ।’

कुमारीघरमा बौद्ध दर्शन र शाक्त दर्शन प्रभाव परेको छ । यहाँ पूजा पनि हिन्दुका तर्फबाट र बुद्धिस्टको तर्फबाट हुन्छ । हिन्दुको तर्फबाट तलेजु भवानीको पुजारीले पूजा गर्छन् । बौद्धमार्गीका तर्फबाट वज्राचार्यले पूजा गर्छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

२९ प्रतिशत मधुमेह रोगीलाई डिप्रेसन

कान्तिपुर संवाददाता

ललितपुर — जिल्लाका विभिन्न अस्पतालले बुधबार विश्व मधुमेह दिवसको अवसरमा मधुमेहसम्बन्धी जनचेतनामूलक र्‍याली गरे । स्वास्थ्य जीवनयापनमा अभिप्रेरित गर्न यस वर्षको नारा ‘परिवार र मधुमेह’ छ ।

मधुमेह सरुवा रोग होइन । यसलाई पारिवारिक रोगभन्दा फरक नपर्ने चिकित्सक बताउँछन् । मधुमेह एक सदस्यलाई भएमा परिवारलाई असर गर्छ । डाक्टर अंशुमाली जोशी भन्छन्, ‘परिवारको सम्पूर्ण सदस्यको जीवनशैली, खानपिन, एकआपसको सम्बन्ध, आर्थिक तथा मानसिक पक्षदेखि लिएर यावत् कुरामा प्रत्यक्ष असर देखिन्छ ।’ समयमै सतर्कता अपनाउनुपर्ने जोशीको भनाइ छ ।

उनका अनुसार परिवारका एकजनालाई मधुमेह भएमा अन्य सदस्यलाई सर्ने सम्भावना ५० प्रतिशत रहन्छ । ‘त्यसै प्रकार मधुमेहलाई वंशाणुगत रोग मानिन्छ,’ उनले भने । मुलुकमा मधुमेहका बिरामीमध्ये २९ प्रतिशतलाई डिप्रेसन देखिएको छ । डिप्रेसनले मधुमेह हुनेलाई नकारात्मक असर पार्न सक्छ ।
यो हुन नदिन परिवारको ठूलो भूमिका हुने डाक्टरहरू बताउँछन् ।

मधुमेहका बिरामीले रातो मासु, चिनी, मैदाबाट बन्ने चिज, ग्लुकोजजन्य र चिल्लोयुक्त जस्ता क्यालोरी बढी भएका खानेकुरामा कमी ल्याउनुपर्छ । सागसब्जी,सलाद, फलफूल जस्ता रेसादार खानेकुराको मात्रा बढाउनुपर्ने डाक्टर जोशी भन्छन्, ‘मधुमेह लागेकाले नियमित व्यायाम गरेर तौललाई नियन्त्रण गर्न जरुरी छ । नियमित सुगरको जाँच र डाक्टरसँगचेकजाँच गराउनुपर्छ ।’

अहिले विश्वमा ४२ करोडभन्दा बढी मधुमेहका बिरामी छन् । आउँदो २५ वर्षमा यो संख्या बढेर ६२ करोड पुग्ने आकलन गरिएको छ । विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय डाइबेटिज फेडेरेसनलगायत स्वास्थ्यसँग सम्बन्धित क्षेत्र मधुमेहको संख्या घटाउन ध्यान केन्द्रित छ ।

मधुमेह लाग्नबाट बच्न सकिने हुनाले यो कुराको चेतना सबैतिर फैलाउन जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘मधुमेहको दीर्घकालीन उपचार महँगो छ । मधुमेह लाग्यो भन्दैमा काम नगरी घरमै बस्ने गर्नुहुँदैन । समयमै खाने र मिलाएर खाने एवं नियमित व्यायाम गर्नुपर्दछ ।’ मधुमेहका बिरामीको शरीरमा पसिना आउने, भोक लाग्ने, हात र जिउ काम्ने, ढुकढुकी बढ्ने र कहिलेकाहीं बेहोस भएर अचेत हुन पनि सक्छ ।

यी लक्षण देखापरेमा तुरुन्तै गुल्कोज पानी वा गुलियो पदार्थ दिइहाल्नुपर्ने उनको भनाइ छ । र्‍याली अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर, लाइन्स क्लब अफ काठमाडौं, अल्का डिस्ट्रिक एटु ३२५, लियो क्लब अफ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेका थिए ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्