२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ह्विलचियर प्रयोगकर्तालक्षित अग्नि सुरक्षा तालिम

कान्तिपुर संवाददाता

काठमाडौँ — ह्विलचियर प्रयोगकर्तालाई लक्षित गरी राजधानीमा अग्नि सुरक्षा तथा नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । विपद् व्यस्थापनको समावेशी आधारभूत जनचेतना जगाउने उद्देश्यले सरोकार फाउन्डेसनले बीआईए फाउन्डेसन जोरपाटीका अपाङ्गता भएका ह्विलचियर प्रयोगकर्ता लक्षित कार्यक्रम गरेको हो  ।

ह्विलचियर प्रयोगकर्तालक्षित अग्नि सुरक्षा तालिम

अग्नि सुरक्षा सप्ताहका अवसरमा तालिम सञ्चालन गरिएको सरोकार फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले बताए । उनले भने, ‘अपांगता भएका व्यक्ति र महिलाहरूलाई आगोबाट सुरक्षित रहन तथा आगलागीबाट बच्न के कस्ता उपायहरू अवलम्बन गर्ने भन्नेबारे हामीले सिकाएका हौं ।’

तालिम कार्यक्रममा सिलिन्डरमा आगो लाग्दा कसरी निभाउने, आगो लागेको घरबाट कसरी सबैलाई सहयोग गरी बाहिर निकाल्नेलगायतका उपायबारे सिकाइएको थियो । साथै, फायर एक्टिङग्युसर (आगो निभाउने यन्त्र) सञ्चालनको तरिका पनि सिकाइएको पन्तले बताए ।

उनले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण तथा जनसंख्याको चापलाई मध्यनगर गर्दै सरकारले विभिन्न सार्वजनिक स्थानमा फायर एक्टिङग्युसर राख्नुपर्नेमा जोड दिए । काठमाडौं महानगरपालिका जुद्घ बारुणयन्त्रका पूर्वप्रमुख किशोरकुमार भट्टराईले अग्नि नियन्त्रणबारे जनचेतनामूलक सामग्री र अग्नि नियन्त्रणका उपायबारे प्रयोगात्मक कक्षा सञ्चालन गर्नु खुसीको कुरा भएको बताए ।

उनले यसप्रकारको तालिम सञ्चालन गरेकामा सरोकार फाउन्डेसनलाई धन्यवाद दिए कार्यक्रममा प्रदेश ३ सांसद रामेश्वर फुयाँलले विपद् व्यवस्थापनमा होसियारी अपनाउनुपर्नेमा जोड दिए । उनले सरकारले यस क्षेत्रमा थप लगानीको आवश्यकता महसुस गरेको जनाउँदै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्घता जनाए ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?