बागदरबार जोगाउन सर्वाेच्चमा रिट

कान्तिपुर संवाददाता

काठमाडौँ — चौतर्फी विरोध हुँदा हुँदै पनि भत्काउने ऐतिहासिक बागदबार भत्काउन काठमाडौं महानगरले सुरसार गरेपछि त्यसलाई जोगाउन सम्पदा संरक्षण अभियन्ता सर्वाेच्च अदालत गएका छन् ।

प्रधानमन्त्रीदेखि महानगरका मेयरसम्म विपक्षी बनाएर बागदरबार भत्काउने कार्य तत्काल रोक्न उत्प्रेषण परमादेशलगायत अन्य जो चाहिने आदेश, आज्ञा जारी माग गर्दै रिट दायर गरिएको हो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, काठमाडौं स्कुल अफ ल का विद्यार्थी सञ्जय अधिकारी, सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेका हुन् । रिटमा लिच्छविकालीन, मल्लकालीन, राणाकालीन वा शाहकालीन सबै दरबार जोगाउन आदेश दिनसमेत माग गरिएको छ ।


रिटमा कामाठाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका कार्यालय, महानगरपालिका ११ नम्बर वडा कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

साँखु–दक्षिणकाली एउटै बसमा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको साँखुदेखि दक्षिणकालीसम्म अब एउटै गाडीमा पुग्न सकिने भएको छ । बाबा गोकर्णेश्वर यातायात प्रालिले साँखु–दक्षिणकाली रुटमा मंगलबारदेखि २४ गाडी सञ्चालनमा ल्याएपछि यात्रुलाई सहज भएको हो ।

गाडी सञ्चालनमा आएसँगै साँखुबाट दक्षिणकाली जाने यात्रुले रत्नपार्क पुगी गाडी फेर्नु नपर्ने भएको हो । उक्त रुटको करिब ५० किलोमिटर दूरीको यात्रा गर्न ३ देखि ४ घण्टा लाग्नेछ । तत्कालका लागि भाडादर भने ९८ रुपैयाँ कायम गरिएको छ ।


जीर्ण सडक र बीचबीचमा हुने ट्राफिक जामका कारण उक्त रुटमा गाडी सञ्चालनमा व्यवसायीले खासै चासो देखाएका थिएनन् । तर बिस्तारै सडक मर्मत र स्तरोन्नति हुने अपेक्षाका साथ दुई धार्मिक स्थल जोड्ने प्रयास गरेको गोकर्णेश्वर यातायात प्रालिका सचिव रोशनबाबु श्रेष्ठले बताए । ‘बाह्रै महिना दक्षिणकालीमा पूजा चल्छ ।


यसले धार्मिक आस्था राख्नेलाई सहज हुने अपेक्षा गरेका छौं,’ श्रेष्ठ भन्छन् ।


साँखुको बसपार्कभन्दा केही पर बस पार्क गर्ने गरेको उक्त यातायात प्रालिले अहिले दक्षिणकालीमा बसपार्क कहाँ राख्ने भन्नेबारे त्यहाँका अन्य यातायात व्यवसायीसँग वार्ताको क्रममा रहेको बताएको छ । सचिव श्रेष्ठले गाडीको ‘क्यु’ राख्ने विषयमा केही विवाद रहेको बताए ।


उनले साँखु–दक्षिणकाली रुटमा ४१ गाडी सञ्चालन गर्ने लक्ष्य भए पनि हाल २४ वटा सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्