टिपर आतंक अनुसन्धान भएन

प्रशान्त माली

ललितपुर — नुवाकोटकी कुमारी विश्वकर्मा बालुवा चाल्ने गर्थिन् । उनकी श्रीमान् काजीमान इँटा ओसार्ने । श्रीमान्/श्रीमती मिलेर राजधानीमा घर बनाउने ठाउँमा निर्माण सामग्री ओसार्ने ठेक्का लिने गर्थे । त्यहाँबाट हुने आम्दानीले घर खर्च चलाउँथे ।

ललितपुरको थसिखेलमा मंगलबार राति टिपरको ठक्करबाट मृत्यु भएकी कुमारी विश्वकर्माका श्रीमान् काजीमान पाटन अस्पताल परिसरमा । तस्बिर : प्रशान्त । कान्तिपुर

पछिल्लो समय दम्पतीले जोडेको रकम र केही सापटी गरेर नख्खु खोलामा टहरा बनाए । उनीहरूको दैनिक गुजारा राम्रै गरी चलिरहेको थियो ।

एक्कासि थसिलेखमा मंगलबार साढे ९ बजे बाटो काट्ने क्रममा विदुर नगरपालिका–१२ की ३६ वर्षीया कुमारीलाई सातदोबाटोबाट एकान्तकुना जार्दै गरेको टिपरले ठक्कर दियो । दाया खुट्टामा गम्भीर चोट लागेको उनको अस्पतालमा मृत्यु भयो । अहिले काजीमान भावविह्वल अवस्थामा छन् । भन्छन्, ‘हाम्रो कुरा सुन्ने हाम्रो लागि बोलिदिने कोही छैनन् ।’ घटनाको चार दिन बितिसक्यो । प्रहरीले अहिलेसम्म टिपर र चालक नियन्त्रणमा लिन सकेका छैनन् । ‘गुनासो गर्दा प्रहरीको काम एउटै मात्र खोजीनीति गर्ने हँुदैन भनी जवाफ फर्काउँछ,’ उनले भने, ‘प्रहरीले घटनालाई ढिसमिस गर्न खोजियो ।’

मृतकको लास पाटन अस्पतालमा राखिएको छ । आफन्तले लास बुझ्न मानेका छैनन् । ‘प्रहरी चाहन्छन् लास जलाइयोस्,’ उनले भने, ‘तर, हामी क्षतिपूर्ति नपाएसम्म लास बुझ्दैनौं ।’ विश्वकर्मा दम्पतीको ३ छोरा १ छोरी छन् । छोरी हीरा एकान्तकुनास्थित महेन्द्र भृकुटी विद्यालयको कक्षा ७ मा पढ्छन् । ११ वर्षी कान्छा छोरा विजय कक्षा ४ मा पढ्छन् । आर्थिक अवस्था कमजोर भएका कारणले १६ वर्षीय जेठा छोरा अनिल र १४ वर्षीय माइलो सुनील पढाइ छोडेर वाइरिङको काम सिक्दै छन् ।

अस्पतालमा लास राखेबापत दैनिक एक हजार रुपैयाँ बुझाउनुपर्छ । अहिले हामीसँग अस्पताललाई तिर्ने पैसासमेत छैन । काजीमानका भाइ अष्टबहादुर भन्छन्, ‘थसिखेलमा प्रहरीको सीसी क्यामरा छ रे । तर, हेर्न मानेका छैनन् ।’ उनले राजधानीमा सातामा एक जना टिपरको सिकार हुने गरेको बताए ।

‘चालकलाई दुईचार दिन थुनिन्छ । १/२ लाख तिरेर निस्कन्छ । फेरि चलाउँछन्,’ उनले भने, ‘कडा नियम बनाएर लागू नगरेसम्म टिपर आंतक रोकिँदैन ।’ उनले रोडा, ढुंगा, बालुवाका ठेकेदार, प्रशासन, व्यापारी र नेताको सिन्डिकेटको अन्त्य नभएसम्म दुर्घटनामा कम नआउने बताए । ‘ठेकेदारलाई ढुंगा बेच्नुपरेको छ । व्यापारीलाई सुरक्षा चाहिएको छ । प्रशासनलाई कमिसन लोभ छ । नेतालाई चन्दा चाहिएको छ,’ उनले भने, ‘यिनीहरू मिलेमतो हुन्जेलसम्म टिपर आतंकको रोकिँदैन ।’

महालक्ष्मीस्थानमा बाटो काट्ने क्रममा तीन महिनाअघि ५७ वर्षीय फुर्मामंगल शेर्पालाई ठक्कार दिँदा उपचारको क्रममा मृत्यु भएको थियो । एकान्तकुनामा चार महिनाअघि ना६ख २७८० नम्बर ट्रकको ठक्करबाट सरला मिश्रको घटनास्थलमा मृत्यु भयो । मिश्र कुसुन्तीबाट बा६७प ४०८३ नम्बरको मोटरसाइकलमा सवार थिए । टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या वृद्धि भएपछि गृह मन्त्रालयले उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीलाई राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दियो । ‘गृह मन्त्रालयले अझै टिपरलाई व्यवस्थित बनाउनुपर्ने देखिन्छ,’ अष्टबहादुरले भने ।

महानगरीय प्रहरी परिसर जावलाखेल एसएसपी गणेश ऐरले ठक्कर दिने टिपर र चालकको खोजी भइरहेको दाबी गरे । ‘हामीले घटनालगत्तै अनुसन्धान थालेका छौं,’ उनले भने, ‘जसरी भए पनि पक्राउ गरिनेछ ।’ उनले टिपर आतंक कम गर्न छलफल भइरहेको बताए । ‘सरोकारवाला निकायहरूसँग बसेर योजना बनाउनेक्रममा छौं,’ उनले भने ।

जेब्राक्रसिङ र फुटपाट नहुँदा पनि दुर्घटना
चक्रपथ सडक बनाउन नेपाल र चिनियाँ सरकारबीच भएको सम्झौतामा साइकल लेन, फुटपाथ, ८ लेन सडकको बीचमा मिडियन रहने व्यवस्था छ । चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले बनाएको सडकमा साइकल लेन, मिडियन राखिएको छैन । कतै त फुटपाट पनि छैन । यसले पनि दुर्घटना बढेको ललितपुर ट्राफिक प्रहरीको भनाइ छ । सातदोबाटोमा बस स्टप राखिएको छैन । ग्वार्कोबाट आउने सावजनिक बस सडकमै राख्नुपर्छ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘चक्रपथको स्पिड ५० किमि प्रतिघण्टा तोकिएको छ । गतिअनुसारको सुरक्षा व्यवस्था अपनाइएको छैन । यसले पैदल र साइकलयात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।’

कोटेश्वर–कलंकी १७ किमि सडकमा तीनवटा मात्र आकाशेपुल मात्र राख्ने गरी डिजाइन गरिनु, हरित क्षेत्र र जेब्राक्रसिङ पर्याप्त नराखिनु दुर्घटना बढ्नुको कारण रहेको हाछेथुको भनाइ छ । यस सडकखण्डमा ६ महिनायता ९ जनाले ज्यान गुमाइसकेका छन् । धेरै सर्वसाधारण अंगभंग भइसकेका छन् । सडक विभाग प्रवक्ता मुक्ति गौतमले पैदल, साइकलयात्रुको दुर्घटना कम गर्न अध्ययन भइरहेको दाबी गर्छन् । ‘सडक निर्माणाधीन अवस्थामा छ,’ उनले भने, ‘सम्पन्नपछि दुर्घटनामा कमी आउनेछ ।’

टिपरले बोक्ने निर्माण सामग्री अवैध
टिपरले बोक्ने ढुंगा, गिट्टी, बालुवा र माटो गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकामा उत्पादन हुन्छ । नल्लु क्षेत्रमा सञ्चालित ढुंगा खानी तथा क्रसर र भट्टेडाँडामा सञ्चालित बालुवा खानी मापदण्डविपरीत छन् । संसद्को प्राकृतिक स्रोत/साधन समितिले ६ वर्षअघि नल्लु क्षेत्रको ढुंगा खानी बन्द गर्न र नख्खु खोलाको बहाव क्षेत्रको अतिक्रमण संरक्षण गर्न निर्णय पनि गरेको थियो ।

अहिले व्यवसायीले सञ्चालन स्वीकृति पनि लिएका छैनन् । बिनास्वीकृत उद्योगहरूबाट उत्पादित निर्माण सामग्री टिपरले नख्खु करिडोर, चापागाउँ सडक हुँदै चक्रपथ पुर्‍याएर दैनिक हजारौं टिप सहरका विभिन्न स्थानमा पुर्‍याइरहेका छन् । तैपनि नियमन गर्ने सबै निकाय मौन छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी ऐरले यसबारेमा आफूलाई जानकारी नभएको दाबी गरे ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

एचआईभीको औषधिले ‘साइडइफेक्ट’

फातिमा बानु

काठमाडौँ — जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढछन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् । कोही व्यक्ति आफ्नो अगाडि उभिँदा मात्रै पनि उनलाई डर लाग्छ ।

त्यो डर कसैले केही गर्ला भन्ने नभई, आफ्नो कुरूपता देख्ला र सोधिदेला भन्ने डर हो । ४६ वर्षीया उनी १५ वर्षदेखि एचआईभी संक्रमणको पीडित छन् । उनी भन्छिन्, ‘श्रीमानले गरेको एउटा गल्तीको सजाय मैले भोगिरहकी छु, मलाई रोग सार्ने व्यक्ति संसारमा छैन तर उसको चिनोले पनि मलाई ज्युँदै मरेझैं बनाइदिएको छ ।’ उनका अनुसार श्रीमान् लागूऔषध प्रयोगकर्ता थिए । त्यसैबाट श्रीमान् एचआईभी संक्रमित भएका थिए र उनलाई पनि सारेका हुन् ।

निकै बेरको अनुरोधमा उनी शरीरबाट पछ्यौरा हटाउन राजी भइन् । गर्धनमा ठूलो मासुको पोको, अनुहारको मासु भित्र पसेर नमिल्दो देखिएको र पोतो फैलिएको । अनि, दुवै स्तन पनि सामान्यभन्दा ठूला र झोल्लिएका थिए । यस्तो के भएको भन्ने प्रश्नमा उनी भन्छिन्, ‘औाषधि नखाउँm ज्यानै जाने डर छ, खाऊँ यस्तो हुन्छ ।’ औषधि खान थालेपछि त्यसै पनि उनी अर्कै खाले बिरामी भएकी छन् । खाना नरुच्ने, हातखुट्टा गल्ने अनि दिक्क लागेर आत्महत्या गरूँझैं पनि लाग्ने ।

उनीजस्तै लामो समयदेखि औषधि आइरहेका एचआईभी संक्रमितले यस्तै समस्या भोगिरहेका छन् । निम्नवर्गीय समुदाय, एकल महिला र टुहुरा बालबालिका संक्रमित अझ बढी पीडित छन् । औषधि आराम र पोषणको मात्रा नमिल्दा उनीहरूमा यस्ता समस्या आइपर्ने गरेको छ । करिब २ दशक पहिले एचआईभी संक्रमित औषधि उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले उनीहरूले औषधि त पाए तर औषधिको नकारात्मक प्रभावका कारण उनीहरू समस्यामा छन् ।

सरकारले औषधि नि:शुल्क रूपमा दिंदै आए पनि समुदायमा यसको प्रभावबारे अध्ययन अनुसन्धान गर्ने गरेको छैन । औषधिको प्रभावबारे अध्ययन गरी नकारात्मक असर कम गर्ने औषधि ल्याउन पहल गर्न जरुरी छ । राष्ट्रिय एचआईभी महासंघकी महासचिव मीरादेवी कुँवर भन्छिन्, ‘औाष्धि नि:शुल्क पाइन्छ, पोषण सधैं अभाव हुन्छ, खोलेको भरमा औषधि खाएका बिरामी धेरै दिन बाँचेका छैनन् ।’ सरकारले संक्रमितलाई गुणस्तर औाषधिको व्यवस्था गरेर दातृनिकायको मात्रै मुख ताक्ने समस्या हल गर्नुपर्ने उनको भनाइ छ ।

विशेषज्ञका अनुसार एचआईभीको औषधिले संक्रमितको जीवन लम्ब्याउन मद्दत गर्छ । नियमित औषधि सेवन गरिरहेका बिरामी लामो समयसम्म सामान्य जीवनयापन गरिरहेका उदाहरण छन् । केही व्यक्तिमा यस्ता औषधिको नकारात्मक प्रभाव देखिन्छ । कसैलाई सामान्य त कसैलाई जटिल । सामान्य प्रभावजस्तो, टाउको दुख्ने, बान्ता हुने, थकाइ लाग्नेचाहिँ व्यवस्थापन गर्न सकिने सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । उनी भन्छन्, ‘सबै नकारात्मक प्रभाव गम्भीर हुँदैनन्, यस्ता प्रभावलाई कम गर्ने खालका नयाँ आएको छ ।’

यस्ता औषधि कम गुणस्तरीय मान्न नहुने उपलब्ध औषधिको प्रकृति नै यस्तो भएको उनले बताए । नकारात्मक प्रभाव देखिएमा चिकित्सकको सल्लाहबिना औषधि नछोड्न उनी सुझाउँछन् । अनुहार, ओठ, जिब्रो सुन्निनेजस्ता समस्या देखिएमा तुरुन्तै अर्को उपचार आवश्यक हुन्छ ।मासंपेशी एकै ठाउँमा थुप्रिन, रगतमा बोसो बढ्ने, हातखुट्टा सुकेर जाने डिप्रेसन र आत्महत्यासम्मको सोच आउने औषधिका थप नकारात्मक प्रभाव हुन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्