कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्केकोपाटी–नगरकोट सडक: विस्तार ढिलाइले व्यवसायी मारमा

कान्तिपुर संवाददाता

भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले सम्झौता अवधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीलाई गत जेठमा कारबाहीका लागि गृह मन्त्रालय पठायो ।

भत्केकोपाटी–नगरकोट सडक: विस्तार ढिलाइले व्यवसायी मारमा

केही ठेकेदार कम्पनीलाई कारबाही गरेको गृह मन्त्रालयले तीन पल्टसम्म म्याद थप गर्दासमेत कमलविनायक भत्केकोपाटी–नगरकोट सडक विस्तारको काम सम्पन्न नगर्ने शैलुङलाई कारबाही गर्न सकेन । सडक समयमै नबन्दा पर्यटकीय गन्तव्य नगरकोट जाने सडक थप जीर्ण बन्दै गएको छ ।

२०७२ को भूकम्प र नाकाबन्दीले ठप्प नगरकोट उभिने तरखर गर्दागर्दै सडक विस्तार ढिलाइले व्यवसाय धराशायी बन्दै गएको पर्यटन व्यवसायीको गुनासो छ । ‘नगरकोटको मुख्य सडक विस्तारका नाममा थप अलपत्र पारिएको छ,’ पर्यटन व्यवसायी अशोक थापाले भने, ‘सडक थप जोखिमपूर्ण र खाल्डामय बनेको छ ।’ नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकको अवस्था बुझेपछि आउन रुचि नै नगर्ने उनले बताए । यही कारण नगरकोट आउने पर्यटक आगमनमा कमी आएको उनी बताउँछन् ।

करिब चार वर्षअघि विस्तार थालिएको कमलविनायक–भत्केकोपाटी–नगरकोट सडकको करिब १६ किलोमिटर मुख्यसडक विस्तार ढिलाइका कारण सडक थप धराप बनेको छ । ‘विस्तारको नाममा चार वर्षदेखि सडकको बीच/बीचमा खाल्डो खनी धराप पारेर छाडिएको छ,’ नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले भने, ‘ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।’

एक्जिम बैंक इन्डियाको सहयोगमा करिब २८ करोडको लागतमा विस्तार थालिएको उक्त सडकको निर्माण आर्थिक वर्ष ०७२/७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य थियो ।

भूकम्प, नाकाबन्दीलगायत समस्या देखाएर विस्तारको जिम्मा लिएको ठेकेदारले जुन १३, २०१८ सम्म सम्पन्न गरिसक्ने भन्दै तीनपल्ट म्याद थप गराएको थियो । उक्त सडकका कन्सल्ट्यान्ट इन्जिनियर नरेशराम बाबुका अनुसार हालसम्म ४७ प्रतिशत मात्र कार्य भएको छ ।

पर्यटकीय मार्गको मुख्य सडकको दायाँबायाँ पर्खाल लगाउन ठूला खाडल खनेर त्यत्तिकै छाडेको, खानेपानीको पाइप पुरेको भन्दै स्थानीय तथा पर्यटन व्यवसायीले आलोचना गरेका छन् । ‘साँघुरो सडकका २० भन्दा बढी स्थानमा ठूल्ठूला खाडल तथा ढुंगाको पर्खाल लगाएर त्यत्तिकै छाडिएको छ,’ स्थानीय पर्यटन व्यवसायी धीरज तामाङले भने, ‘विस्तारका नाममा सडक थप जीर्ण बनाइएको छ, पानीको पाइप पुरेर खानेपानीको हाहाकार भएको छ ।’ पर्खाल र सडकका बीचमा करिब २० फिट गहिरो, ३० देखि ५० फिट लम्बाइ खाडल बनाएर नपुरी बीचमै छाडेपछि यो सडक ओहोरदोहोर गर्ने यात्रु दुर्घटनाको उच्च जोखिममा परेको उनी बताउँछन् ।

सडकका कारण नगरकोटबाट देखिने हिमशृंखला, सूर्योदय लगायतको आकर्षक दृश्यावलोकन, स्वच्छ हावापानी, शान्त वातावरणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन प्रभावित भएको व्यवसायीहरू बताउँछन् । ‘भूकम्पका कारण क्षतिग्रस्त नगरकोटलाई व्यवसायीले उभ्याउने प्रयास गर्दागर्दै पनि सडक बाधक बनेको छ,’ पर्यटन व्यवसायी मीनु तामाङले भने, ‘सडक विस्तार आयोजना र ठेकेदारको लापरबाहीका कारण सडक धरापमा छाडिएको छ ।’

ठूला/साना होटल, होमेस्टे सञ्चालित भक्तपुरको नगरकोट र काभ्रेको नाल्दुम क्षेत्रका पर्यटन व्यवसायीहरू निराश भएका छन् । ‘सडक विस्तारको ठेक्का परेको चार वर्षसम्म पनि ठेकेदारले निर्माण सम्पन्न गर्न सकेको छैन,’ नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष इन्द्र लामाले भने, ‘सडक विस्तार ढिलाइले पर्यटन व्यवसायीलाई मात्र होइन, राज्यलाई नै घाटा परेको छ ।’ ‘व्यवसायीलाई घाटा पर्नु भनेको राज्यलाई घाटा हुनु हो, व्यवसायीको आम्दानीको आधारमा सरकारलाई कर तिर्ने हो, व्यवसाय नै धरासायी बनेपछि कर कहाँबाट तिर्नु ?’ उनले प्रतिप्रश्न गरे । उनका अनुसार नगरकोट र नाल्दुममा साना/ठूला गरी करिब १ सय होटल सञ्चालित छन् । सडक विस्तार ढिलाइले सास्ती बेहोर्दै आएका पर्यटक दुई नगरपालिकाले आफूखुसी लगाएको प्रवेश सेवा शुल्कका कारण थप मारमा परेको व्यवसायीको गुनासो छ ।

सडक विभागअन्र्तगत सडक सुधार आयोजना प्रमुख इन्जिनियर नरेन्द्रनाथ कोइरालाले भने निर्माण कम्पनीको म्याद गुज्रिसकेको बताएका छन् । ‘म्याद सकिसकेपछि पनि निर्माण कम्पनीले २ सय १० दिन पेनाल्टीमा दैनिक १ लाख ४५ हजार रुपैयाँ तिरेर काम गर्न पाउँछ,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?