विदेश पठाइदिने भन्दै रु ४२ लाख ठगी गर्ने तीन पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेश पठाइदिने भन्दै रु ४२ लाख ठगी गर्ने तीन पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र महाराजगञ्जबाट पक्राउ गरेको हो ।


ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माले कोरियाका साथसाथै अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशमा रोजगारीको राम्रो अवसर छ भनेर सर्वसाधारणलाई झुक्याएर पैसा लिने गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।


पक्राउ परेका तीनै जनालाई आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत गृह पुरिँदा बिजुली अवरुद्ध

कान्तिपुर संवाददाता

संखुवासभा — चैनपुर नगरपालिका १ मा पर्ने याङ्सीजुङमा पहिरोले लघु जलविद्युत योजनाको संरचना पुरिएपछि बिजुली अवरुद्ध भएको छ ।

साउन पहिलो साता पहिरोले निदुवा खोला लघु जलविद्युत् आयोजनाको संरचना पुरेको थियो ।

यहाँबाट १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । पहिरोले विद्युतगृह पुरिएपछि बिजुली आपूर्ति ठप्प छ । लघुजलविद्युत आयोजना बगाउँदा करिब ४५ लाख क्षति भएको आयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बूले बताए ।

बिजुली आपूर्ति बन्द भएपछि १ सय २३ घरका बासिन्दा प्रभावित छन् । स्थानीयको सक्रियतामा पहिरोले पुरिएका टर्बाइन, जनेरेटर जस्ता केही उपकरण बाहिर निकालिए पनि काम नलाग्ने अवस्थामा रहेको लिम्बूको भनाइ छ ।

‘पहिरोले आयोजनाको कुलो पनि बगाएको छ, उनले भने, ‘समस्यामा परेका छौं, यहाँ केन्द्रीय प्रसारण लाइन पुगेको छैन ।’ आयोजनाको सुरक्षाका लागि लगाएको ग्याभिङसहित ३ सय ५० जाली पनि पहिरोले बगाएको छ । २०६७ मा तत्कालीन जिल्ला विकास समिति, ऊर्जा विकासको अनुदान र स्थानीयको लगानीमा लघु जलविद्युत् योजना सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अब लगानी कहाँबाट जुटाउने पत्तो छैन ।’

त्यसबेला ऊर्जा विकासको ११ लाख ६९ हजार, जिविसको २, अन्य सहयोगी र स्थानीय उपभोक्ताबाट रकम संकलन गरी करिब ३० लाखमा बिजुली उत्पादन गरिएको थियो । योजनाले बेलुकी ५ देखि बिहान १० बजेसम्म दैनिक बिजुली दिँदै आएको थियो ।

‘यहाँ केन्द्रीय प्रसारण लाइन कहिले आउने थाहा छैन, गाउँमै सानो भए पनि उत्पादन गरेको बिजुली बगायो, फेरि पहिलेझैं कष्टकर जीवन बिताउनु पर्नेभयो,’ उनले भने, ‘यसको मर्मत स्थानीय तह र सांसदले गरिदिनुपर्छ ।’

गाउँ अन्धकार भएपछि आयोजना पुनर्निर्माणका लागि चैनपुर नगरपालिकासहित सहयोगी निकायको खोजीमा उपभोक्ता लागेको लाक्पासाङ्गे शेर्पाले बताए । जनप्रतिनिधिलाई उनीहरूले सहयोगको अपिलसमेत गरेका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×