‘मालती नेपालकै होची’- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मालती नेपालकै होची’

वर्ष १९, उचाइ ३२ इन्च
कान्तिपुर संवाददाता

मोरङ — मोरङको सुन्दरहरैंचा–४ की १९ वर्षीया मालती ऋषिदेवको उचाइ ३२ इन्च मात्र छ । १४ किलो तौल भएकी ऋषिदेव नेपालकै होची भएको दाबी गरिएको छ । आइतबार सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकालले पत्रकार सम्मेलन गरी मालती नेपालकै घोची महिला भएको दाबी गरे ।

बाबु रमेशकुमार मरर र आमा मीनादेवी मररको साथमा आएकी मालतीलाई आफ्नो टेबुलमाथि उभ्याएर प्रमुख ढकालले उचाइ नापेका थिए ।

‘जन्मदा छोरी ठीकै थिइन्,’ बाबु रमेशले भने, ‘एक वर्षपछि बढ्दै बढिनन् ।’ सुकुम्बासी रमेशले छोरीलाई उपचारका लागि अहिलेसम्म कहीं पनि लगेका छैनन् । थोरै खाने मालती घरपरिवारसँग बोल्छिन् । सहजै हिँड्ने उनी साथीभाइसँग खेल्न सानैदेखि मन गर्दैनथिन् । रमेशका तीन छोरी र एक छोरा छन् । मालती पहिलो सन्तान हुन् । गछिया खोलामा गिट्टी कुटेर जीविका चलाउँदै आएका रमेशका कुनै सन्तानले पनि

स्कुल देखेका छैनन् । दुई छोरीको विवाह

भइसकेको छ । सामान्य झुपडीमा बस्ने मालतीलाई हात–मुख जोड्न समेत समस्या छ । केही दिनअघि मालती बाबुसँग नागरिकता बनाउन सुन्दरहरैंचा–४ को वडा कार्यालयमा पुगिन् ।

बाबु र आमा दुवैको नागरिकता जन्मका आधारमा बनेको भए पनि छोरीको नागरिकता नबन्ने वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । उनले त्यतिबेलै खिचेको मालतीको फोटो सामाजिक सञ्जालमा राखे । ‘वडाध्यक्षले राखेको तस्बिरले मेरो मन छोयो,’ नगर प्रमुख शिव ढकालले भने, ‘त्यसपछि यो कुरा बाहिर ल्याउनुपर्छ भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ प्रमुख ढकालले नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च हुने गरी मालतीलाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षाबापत दिने बताए । ‘मालतीको उपचार र घरबासको जिम्मा यो नगरको हो,’ उनले भने, ‘एक वर्षसम्म विराटनगरको नोबेल मेडिकल कलेजले उपचार नि:शुल्क गर्ने भएको छ । हामी घर बनाउन सहयोग गर्छाैं ।’

बाबु–आमाको नागरिकता जन्मका आधारमा बनेको भए पनि मालतीलाई नागरिकता राज्यले दिनुपर्ने ढकालको माग छ । ‘उनी नेपालकै होची महिला हुन् भन्ने हाम्रो दाबी छ,’ ढकालले भने । २०५६ साल भादै १८ गते उनले जन्म दर्ता गराएकी छन् । २९ इन्च उचाइ भएका नेपालकै चन्द्रबहादुर डाँगी र २६ इञ्चका खगेन्द्र थापा मगर विश्वकै होचामध्येका परिचित भएका थिए । उनीहरू दुवैको मृत्यु भइसकेको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

अझै पुगेनन् कर्मचारी

कान्तिपुर संवाददाता

पर्वत — महाशिला गाउँपालिकामा शिक्षा संयोजक तोकिएका उदिमराज पौडेल जुनियर अधिकृतको मातहतमा काम गर्न नसक्ने भन्दै उनी लामो समयदेखि कार्यक्षेत्र गएका छैनन् ।

‘जिम्मेवारी वहन गर्दै नगरेको होइन । साबिकबमोजिम काम गरेकै छु,’ पौडेलले टेलिफोनमा भने, ‘आफूभन्दा जुनियर कर्मचारीको मातहतमा बसेर कसरी काम गर्ने ?’
पैयुँ र जलजला गाउँपालिकाको अवस्था पनि उस्तै छ । यी तहमा सबैभन्दा धेरै बजेट विनियोजन भएको शिक्षाकै विषयगत कर्मचारी तोकिएका छैनन् । ‘बढी समस्या देखिएका पालिकामा सम्भव भएसम्मका कर्मचारी पठाएका छौं,’ जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले भने ।
खटाइएका केही कर्मचारीले पनि काम गर्ने वातावरण नबनेको भन्दै हाजिर गरेका भरमा दिन कटाउने गरेका छन् । ‘जिल्लामा बस्दाको जसरी कामै छैन,’ महाशिलामा खटिएका सबइन्जिनियर रमाकान्त पौडेलले भने, ‘काम गर्ने वातावरण नै बनेन ।’ बिहादी गाउँपालिकाका शिक्षा संयोजक कृष्णप्रसाद आचार्यले शिक्षा कार्यालयमै बसेर कार्यसम्पादन गरिरहेको बताए । ‘हाम्रो केन्द्रदेखि नै आन्दोलन छ,’ उनले भने, ‘कहिलेकाहीं आउने–जाने गरेकै छु, रमाना लिएर कार्यपालिकामै हाजिर भएको छैन ।’ विषयगत कार्यालयका अधिकृतस्तरका कर्मचारीले जुनियर प्रशासकीय अधिकृतको निर्देशनमा काम गर्न नसकिने अडान लिएका छन् । ‘जिल्ला तहमा काम गर्ने साथीहरूलाई सरकारले नै विभेद गरेको छ,’ निजामती कर्मचारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्षसमेत रहेका उदिमराज पौडेलले भने, ‘सरकारले योग्यता प्रणाली व्यवस्थित नगरेसम्म हामी सरासर काम गर्दैनौं ।’
सदरमुकाममै रहेको कुश्मा नगरपालिकाबाहेक शिक्षा, महिला तथा बालबालिका, वन, भू–संरक्षण, नापी, मालपोत, सिँचाइ, खानेपानी तथा सरसफाइलगायत अधिकांश विषयगत कर्मचारी स्थानीय तह पुगेकै छैनन् । मोदीका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले खानेपानी, सिँचाइ, वनलगायतको बजेट खर्च हुन नसकेको बताए ।
जलजलाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार विषयगत शीर्षकको बजेट खर्च गर्न समस्या छ । ‘पूर्वाधारतर्फका ३० मध्ये २९ योजना सम्झौता भइसके,’ उनले भने, ‘कर्मचारी नभएकै कारण विषयगततर्फका कार्यक्रम अघि बढाउन सकिएको छैन ।’

सेवा प्रभावित
नुवाकोट (कास)– स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा समस्या भएको छ । ‘तत्काल शिक्षा शाखा हेर्ने र प्राविधिकतर्फ इन्जिनियर छैनन्,’ सूर्यगढी गाउँपालिका कार्यकारी अधिकृत उत्तम खतिवडाले भने, ‘शिक्षा र प्राविधिक भए काम चल्थ्यो ।’ ९ दरबन्दी रहे पनि कर्मचारी अभावले योजना सञ्चालनमा समस्या आएको गाउँपालिकाले जनाएको छ । ‘स्रोतव्यक्तिबाहेक शिक्षा शाखा हेर्ने कर्मचारी नै आएनन्,’ उनले भने । किस्पाङ गाउँपालिका प्रमुख छत्र लामा कर्मचारी अभावले योजना अगाडि बढाउन समस्या भएको बताउँछन् । ‘३/४ कर्मचारीले मात्रै गाउँपालिका चलेको छ,’ उनले भने, ‘कर्मचारी आइदिए धेरै योजना अघि बढ्थे ।’

प्रकाशित : माघ १७, २०७४ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×