

दमक — प्रदेश १ कै ठूलो हुने दाबी गरिएको सभागृह धमाधम निर्माण भइरहेको छ । दमक नगरपालिका ९ मा ‘दमक सभागृह’ को कामले तीव्रता पाएको छ ।


करिब दुई हजार अटाउने क्षमताको सभागृह सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको सहयोगमा निर्माण काम अघि बढाएको नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले बताए ।
उनले ०७७ सालमा निर्माण सक्ने गरी कामलाई तीव्रता दिएको जानकारी दिए । डाँफे एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले निर्माणको ठेक्का लिएको छ । सभागृहका लागि २८ करोड ४४ लाखभन्दा बढी लागत अनुमान गरिएको छ । ठेकेदार कम्पनीले २८ करोड ४० लाख ५८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लिएको कम्पनीबाट फिल्डमा खटिएका इन्जिनियर माहासेक चौधरीले जानकारी दिए । उनले मंसिर १७ देखि काम सुरु भएको बताए ।
उनका अनुसार अहिले सभागृहको फन्डिसनअघि गरिने सोयलिङको काम भइरहेको छ । उक्त काम ९० प्रतिशत सकिएको उनले बताए । निर्धारित मितिमै काम सक्न दैनिक ४० भन्दा बढी कामदारले लगाएको छ । ‘अहिले हामीलाई काम गर्न कुनै बाधाअवरोध छैन । निर्माण सामग्री पनि सबै पाइरहेका छौं,’ इन्जिनियर चौधरीले भने, ‘यही रफ्तारमा काम भए निर्धारित मितिमै पूरा हुनेछ ।’
सभागृहमा चार वटा ब्लक रहनेछन् । दुइटा सभाहल रहनेछ । मुख्य हलभित्र एक हजार ५ सय १६ जना अट्ने छन् । दोस्रो सभाहलमा दुई सय १४ जनाको क्षमता छ । सभागृह परिसदभित्रै रेस्टुरेन्ट, बैठक कक्ष, ६ वटा चेन्जिङ रुम, गार्डेन र व्यवस्थित पार्किङ रहनेछ । दुइटा ब्लक दुई तलाको हुनेछ भने मुख्य सभाहल साढे तीन तलाको हुने इन्जिनियर चौधरीले जनाए । सभागृह निर्माणका लागि स्थानीय १७ दाताले एक बिघा १२ कठ्ठा जग्गा दान गरेका थिए । उक्त जग्गामध्ये मुख्य सभाहल ८ कठ्ठामा बन्दै छ ।
जग्गा दाता एवं सभागृह निर्माण निगरानी समितिका मीना श्रेष्ठले निर्माणको कामले आफूहरू उत्साही बनेको बताइन् । ‘कामको रफ्तारले हामी खुसी छौं,’ उनले भनिन्, ‘सभागृह निर्माणले ठूलठूला सभा, सम्मेलन, विवाह, भोजका लागि सहज हुने छ । अब, टेन्ड टाँगेर पर्ती वा सडकमा कार्यक्रम गर्नुपर्ने छैन ।’ श्रेष्ठले परिवारको नाममा सभागृहलाई ३ कठ्ठा जमिन दिएकी थिइन् ।
यस क्षेत्रका सांसद एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ०७३ जेठ २८ गते सभागृहको शिलान्यास गरेका थिए । यसअघि उक्त सभागृहको नाम फाल्गुनन्द सभागृह राख्ने प्रचार गरिएको थियो । यसका लागि किराँत धर्मगुरु आत्मनन्द लिङदेनले पनि आर्थिक सहयोग गर्ने भनिएको थियो । तर, गुरुबाट रकम प्राप्त नभएपछि सहरी विकास मन्त्रालयको लगानीमा ‘दमक सभागृह’ नामकरण गरी निर्माण थालिएको इन्जिनियर सेनेहाङले बताए । दमकमा अतिथि सदन तथा सार्वजनिक सभाहलको अभाव छ ।
प्रकाशित : माघ १५, २०७४ ०७:२८