म्याग्दी — बेनीमा जारी फोटो प्रदर्शनीमा जिल्लाका विभिन्न पर्यटकीय स्थल, धार्मिकस्थल, सांस्कृतिक एवं सामाजिक रहनसहन झल्काउने तस्बिर राखिएका छन् । म्याग्दी महोत्सवको प्रमुख आकर्षण बनेको प्रदर्शनी हेर्न दर्शकको भीड लागेको छ ।
उद्घाटनका लागि आएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रदर्शनीको रुचिपूर्वक अवलोकन गरेका थिए । पत्रकार तथा अन्य व्यक्तिले खिचेका तस्बिरहरू संग्रह गरीे प्रर्दशनीमा राखिएका हुन् । प्रदर्शनीमा ५० वर्षअघि खिचिएका भूगोल र जनजीवन झल्काउने तस्बिरहरू पनि छन् ।
‘दैनिक करिब ३ हजार दर्शकले तस्बिर अवलोकन गरेका छन् । प्रदर्शनीमा युवा र बालबालिकाको आकर्षण धेरै छ,’ फोटो प्रदर्शनी तथा डकुमेन्ट्री संयोजक भोजबहादुर रिजाल भन्छन्, ‘नयाँ पुस्तालाई आधा शताब्दीअघिको बेनी सहर, जिल्लाका विभिन्न भूगोल, कला, संस्कृति र रहनसहन बुझ्न मद्दत पुर्याएको छ ।
त्यसैगरी अमृत श्रीपालीले बनाएका पर्यटकीय स्थल, धार्मिकस्थल, सांस्कृतिक एवं सामाजिक रहनसहन झल्काउने ५० चित्रकला पनि छुट्टै प्रदर्शनीमा राखिएका छन् । एउटा चित्रको १२ हजारसम्म मूल्य राखिएका उनको चित्रकला प्रदर्शनीमा पनि दैनिक ३ हजार बढी दर्शकले अवलोकन गरिरहेका छन् ।
‘धेरैले रुचिपूर्वक चित्रकला अवलोकन गर्नुभएको छ । घोडेपानी, रिखार, खयर, जगन्ननथसमेत केही चित्रलाई भने धेरैले मन पराउनुभएको छ,’ श्रीपालीले भने, ‘पानी चित्रहरू राखेर घर सजाउने सौखिनहरू पनि बढेका छन् । होटेल, रेस्टुरेन्ट क्षेत्रमा बढी बिक्री भएको छ ।’
प्रकाशित : माघ १, २०७४ ०७:४१