कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रोल्पामा स्रष्टाबीच साहित्यिक एवं राजनीतिक बहस

काशीराम डाँगी

रोल्पा — तत्कालीन माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा सिर्जनाकर्मीहरुले यसपटक पनि साहित्यिक एवं राजनीतिक मन्थन गरे । विगतको सशस्त्र द्वन्द्वकालीन समयको स्मरणसहित दिगो एवं संस्थागत शान्तिका पक्षमा सिर्जनाकर्मीले रचना समेत प्रस्तुत गरे । दुई दिनसम्म रोल्पाली भूमिमा उनीहरुले कहिले कविता सुनाए भने कहिले गीत गुन्गुनाए । 

रोल्पामा स्रष्टाबीच साहित्यिक एवं राजनीतिक बहस

रोल्पा नगरपालिकाद्वारा गठित नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानको आयोजनामा जेठ ११ र १२ गते लिबाङमा स्थानीयदेखि राष्ट्रिय स्रष्टाहरुले राजनीतिक एवं वैचारिक बहस समेत गरे ।

प्रतिष्ठानद्वारा आयोजना गरिएको यो पाँचौं संस्करण हो । रोल्पा सिर्जना महोत्सव अन्तर्गत राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरियो । कविता र गजल वाचन, गीत प्रस्तुत गर्नुका साथै महत्त्वपूर्ण विषयमा समूहगत छलफल एवं बहस समेत आयोजना गरिएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले उद्घाटन गरेको कार्यक्रमको ‘मुख्यमन्त्रीका मुख्य कुरा’ सेसनमा तत्कालीन सशस्त्र द्वन्द्वका होमिनुको कारणसहित राजनीतिक परिवर्तनबारे कुरा गरे । ‘रोल्पाबाट हामीले सुरु गरेको राजनीतिक दबाबले मुलुकमा यतिबेला गणतन्त्र संस्थागत हुने क्रममा छ । रोल्पाको क्रान्तिको पृष्ठभूमिबाट व्यवस्था फेर्न संभव भएको हो’ उनले भने,‘हाम्रो क्रान्तिको भरमा व्यवस्था बदलिएको हो । जनताको पक्षमा काम गर्न माओवादी मात्रै एक्लैले संभव नभएकाले गठबन्धनको पक्षमा लाग्नु पर्ने बाध्यता देखिएको छ । सत्ता निर्माणमा समेत माओवादीको एकलौटी ताकत नलागेकोले वामपन्थी शैली र संस्कृति निर्माणमा भिन्नता देखिएको हो ।’

यस्तै ‘शिक्षा, साहित्य र संस्कृति’ सेसन अन्तर्गत राजनीतिकर्मी एवं शैक्षिक अभियन्ता मिलन पाण्डे, युवा व्यवसायी अर्जुनसिंह ठकुरी, शिक्षक कुमार शाह र आख्यानकार शैलेन्द्र अधिकारीले भाग लिए । पत्रकार महेश न्यौपानेले सहजीकरण गरेको उक्त कार्यक्रममा विद्यालय शिक्षाको महत्व दर्साउदै उनीहरुले असल संस्कृतिको विकासबाट असल नागरिक निर्माण हुनेमा निष्कर्ष निकाले ।

वरिष्ठ कवि दिनेश अधिकारी, उपन्यासकार र लेखकद्वय प्रगति राई र नयनराज पाण्डेले भाग लिएको ‘साहित्यमा सीमान्तकृत विषय’ शीर्षकको बहस सेसनमा तिनै जनाले राज्य सत्ताबाट बहिस्कृत र प्राथमिकताबाहिर पारिएका विषयबारे गम्भीर बहस गरे ।

पत्रकार एवं समालोचक राजकुमार बाँनियाले सहजीकरण गरेको उक्त सेसनको छलफल मार्फत् लेखकहरुले सीमान्तकृत विषयबारे थोरै मात्रै स्रष्टाले हात हालेको सुनाए । ‘राज्यसत्ताको सुविधाबाट जो व्यक्ति वा समुदाय बञ्चित छ, तिनका विषय र आवश्यकताबारे बोध गराउन लेखनको माध्यमबाट स्रष्टाले उजागर गर्नु सीमान्तकृत विषयको लेखन हो ।’ वरिष्ठ कवि अधिकारीले भने, ‘कविता, गीत र गजल मार्फत् होस्, वा आख्यान मार्फत् होस् ती विषयमा कलम चलाउनु सीमान्तकृतका पक्षमा बोल्नु र आवाज उठाउनु हो ।’

सीमान्तकृतको विषयबारे नियमित स्तम्भ समेत लेख्दै आएकी प्रगति राईले भनिन्, ‘महिलाका पक्षमा, गरिबका पक्षमा, कमजोरका पक्षमा र जनजातिका पक्षमा लेख्नु सीमान्तकृतका पक्षमा लेख्नु हो । मैले महिलाका पक्षमा लेख्ने क्रममा उपन्यास समेत लेख्न सकेँ ।’

यस्तै लेख्दा ठ्याक्कै सीमान्तकृत भनेर किटान नगरेपनि ओझेल परेका विषयमा लेख्दा सीमान्तकृत विषय पकड्न सकिएको अनुभव सुनाउदै उपन्यासकार नयनराज पाण्डेले यस्तो गर्ने क्रममा आफूले आञ्चलिक र भौगोलिक विभेदका विरुद्धमा उपन्यास लेखेको सुनाए ।

‘लेखेको रोल्पा र देखेको रोल्पा’ सेसनमा अन्तर्गत पत्रकारहरु दीपक सापकोटा, राजकुमार बाँनिया, खेम बुढा र नेपाल नाट्य कला तथा संगीत प्रतिष्ठानकी सदस्य सचिव प्रगति महराबीच बहस भयो ।

तत्कालीन सशस्त्र द्वन्द्वको अवधिमा भोग्नु परेका कैयौं कठिनाई र अफ्ठ्याराहरुलाई सबैजसोले स्मरण गरे । सेसनभर सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी भएका र त्यसबाट अलग भई भोग्नु पर्दाका विषयमा लामो बहस भयो । पत्रकार मौसम रोकाले सहजीकारण गरेको उक्त सेसनका क्रममा पत्रकार दीपक सापकोटाले भने,‘लामो द्वन्द्वको बारेमा अध्ययनकर्ताले विभिन्न पक्ष र दृष्टिकोणबाट लेखेका छन् । पत्रकार, लेखक र विद्यार्थीले भिन्नाभिन्नै पक्षमा रहेर अध्ययन गरेको पाइन्छ ।’

यस्तै अर्का पत्रकार खेम बुढाले सशस्त्र द्वन्द्वको आगोको भुंग्रोबाट बाँचेकाहरुले व्यक्त गर्ने निष्कर्ष नै सत्यको नजिक हुने तर्क गरे । उनले भने, ‘सुनेको भरमा रोल्पाबारे लेख्नु र बोल्नु भन्दा हामी जस्ता भोगेकाहरुको स्मरण सुन्नु धेरै भिन्न हुन्छ ।’

पत्रकार बाँनियाले भने सशस्त्र द्वन्द्वलाई शिरमा राखेर लेखिएका कतिपय लेख र अनुसन्धानहरु सही नहुने तर्क गरे ।

नेपाल नाट्य कला तथा संगीत प्रतिष्ठानकी सदस्य सचिव प्रगति महराले सानै उमेरदेखि तत्कालीन सशस्त्र द्वन्द्वका सहभागी भएको सुनाइन् । उनले त्यस यता गीत र संगीतमा लागेर समाजप्रति योगदान दिन पाउँदा आनन्द अनुभव भएको सुनाइन् । सशस्त्र द्वन्द्वमा सहभागी हुनुको कारण र अनुभव सुनाउदै उक्त सेसनको अध्यक्षता गरेकी नगर उप प्रमुख गीता आचार्यले आफूले भोगेको पीडा व्यक्त गरिन् ।

यस्तै ‘भाषा, साहित्य, कला र स्थानीय तह’ विषय सेसनमा रोल्पा जिल्ला समन्वय समिति प्रमुख सीता आचार्य, नगर प्रमुख सुरेन्द्र घर्तीमगर र थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले आ–आफ्ना योजना र अनुभव सुनाए ।

पत्रकार गणेश केसीले सहजीकरण गरेको उक्त सेसनमा जिसस प्रमुख आचार्यले सबै तहका योजनामा साहित्य, कला र भाषालाई संरक्षण सम्बन्धी विधि थप गर्न सुझाव दिइन् । भनिन्, ‘हामीले बनाउने योजनामा कलाको प्रवर्द्धन, भाषाको रक्षा र साहित्यको विकास हुने निश्चित योजना हुनु राम्रो हुन्छ ।’ यस्तै नगर प्रमुख घर्तीमगरले कला र भाषा संरक्षण गर्न नगरले महोत्सव लगायतका योजना अघि सारेको बताए ।

‘साहित्यको विकास मार्फत् हामीले भाषा र कलाको विकासप्रति चासो देखाउने गरेका छौं ।’ नगर प्रमुख घर्तीमगरले भने । मगर भाषीहरुको बसोबास रहेको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले स्थानीय मगर भाषाको संरक्षण गर्न पाठ्यक्रम निर्माण गरिएको बताए ।

उनले भने, ‘आदिम बेलादेखि बोल्दै आएको मगर भाषालाई जोगाउन विद्यालय शिक्षाको पाठ्यक्रमा समावेश गरेर विद्यार्थीलाई वक्ता तयार पार्ने हाम्रो योजना छ ।’ उनी आफैंपनि मगर भाषाका वक्ता हुन् । मगर भाषा लोप हुन थालेको छ । लिपिबारे अध्ययन भइरहेपनि मगर भाषाको अध्ययन र श्रीबृद्धिका लागि राज्यबाट खासै चासो दिइएको छैन । यद्यपि मगर अगुवाहरुले मगर भाषाको संरक्षणको बारेमा आवाज उठाउदै आएका छन् ।

अविनाश भट्टराई बने उत्कृष्ट कवि

पाँचौं रोल्पा सिर्जना महोत्सव अन्तर्गत आयोजना गरिएको राष्ट्रव्यापी कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराई प्रथम भए । मुलुकभरका १६३ जनाले पठाएका कविताहरुमध्ये उनको ‘देश जस्तो’ शीर्षकको कविता प्रथम कविताका रुपमा छनौट गरिएको हो । राष्ट्रिय कविता प्रतियोगिताका तीन सदस्यीय छनौट टोलीका सदस्यहरुमा कविहरु दिनेश अधिकारी, प्रभा भट्टराई र केशव सिलवाल थिए ।

प्रतियोगितामा दोस्रो भए नवलपरासीका कवि अन्जान प्रदीप । उनको कविता ‘स्यान्डग्लास सृष्टिको काउन्ट–डाउन’ थियो । मकवानपुरकी अनीता न्यौपाने तृतीय भइन् । उनको कविताको शीर्षक थियो ‘हल्ला नगर्नुस् न नानीहरु खेलिरहेछन्’ । दुई जना कविले सान्त्वना पुरस्कार प्राप्त गरे । दैलेखका कवि दिपिन सिजापतिको कविता ‘इच्छापत्र’ र मकवानपुरका कवि सुवास सजलको ‘ऐठन’ कवितालाई सान्त्वना पुरस्कारका रुपमा छनौट गरिएको थियो ।


प्रकाशित : जेष्ठ १३, २०८१ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?