कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक 

काठमाडौँ — इतिहासकार, शिक्षासेवी गुणदेव भट्टराईको शतवार्षिकीमा उनको स्मरण गरिएको छ । उनीमाथि लेखिएको स्मृतिग्रन्थ ‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ किताब वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठले शनिबार लोकार्पण गरे ।

‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक 

गुणदेव भट्टराई स्मृतिपुष्प प्रकाशन समितिद्वारा कोपुण्डोलमा आयोजित समारोहमा गुणदेव भट्टराईका जेष्ठ पुत्र उदयदेव भट्टराईले सभापतित्व गरेका थिए भने तीर्थबहादुर श्रेष्ठ प्रमुख अतिथि थिए । प्रमुख वक्ता प्राध्यापक डा.राजेश गौतमले शिक्षामा गुणदेवको योगदानमाथि प्रकाश पारेका थिए ।

मन्तव्यका क्रममा डा. श्रेष्ठले आफ्ना गुरु गुणदेव भट्टराईप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै गुरु–चेलाबीचको सम्बन्ध सम्झिए । ‘स्कूल छाडेको ७० वर्षपछि श्रद्धेय गुरुको संस्मरण गर्न पाउँदा हर्षित छु,’ उनले भने, ‘गुरु भट्टराईको पढाउने तरिका बेग्लै थियो । गुरुले इतिहास र गणितका पाठ्य पुस्तकहरू धेरै लेख्नुभएको छ । उहाँ ज्यादै विद्वान हुनहुनुन्थ्यो साथै व्यवहारिक, मिलनसार र सहयोगी पनि । नामअनुसार उहाँमा बहुगुण थियो ।’

समारोहमा प्रा राजेश गौतमले गुणदेव भट्टराईको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै भने, ‘गुरु ट्रिगोनोमेट्री एउटा विषय बाहेक प्रायः अरू सबै विषय पढाउन सक्ने गुणको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले इतिहास र पाठ्यक्रमका धेरै वटा पुस्तक लेख्नुभएको छ । उहाँ स्वाभिमानी पनि हुनुहुन्थ्यो ।’

समारोहमा गुणदेव भट्टराईका छोरा तथा ‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ का सम्पादक जयदेव भट्टराईले वि.सं. १९८० मा जन्म भएका आफ्ना पिताको शतवार्षिकी अवसरमा उनको संस्मरणमा पुस्तक निकाल्न पाउँदा ज्यादै हर्ष लागेको बताए । पिताको ८४ वर्षको छँदा लेख्न सुरू गरेको पुस्तक पिताजीको १०० वर्षको जन्मजयन्तीका अवसरमा लोकार्पण गर्न पाएको जानकारी दिए । समारोहमा कवि लक्ष्मण गाम्नागेले ‘मेरा बा’ शीर्षकको कविता वाचन गरेका थिए ।

गुणदेव भट्टराई इतिहास र पाठ्यक्रम गरि २७ पुस्तकका लेखक हुन् । उनले दरबार हाईस्कुलमा २२ वर्ष र त्रिचन्द्र कलेजमा २८ वर्ष प्राध्यापन गरेका थिए ।

‘श्रद्धेय गुणदेव भट्टराई स्मृतिपुष्प’ मा साहित्य, कला, इतिहास, प्राध्यापन, उनका साथीभाइ र परिवार सदस्यहरूका ८१ वटा रचना समेटिएको छ ।


प्रकाशित : चैत्र २५, २०८० १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×