कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

“नाति दाइ हृदयले संगीत भर्नुहुन्थ्यो”

फ्लास ब्याक : योगेश वैद्य
सजना बराल

सच्चा कलाकार आफ्नो बयान गर्दैन । आफ्ना काम र कृतिको प्रशंसा गर्दै हिँड्ने बानी उसको हुँदैन । नाति (काजी) दाइ यही स्वभावको संगीतकर्मी हुनुहुन्थ्यो ।

“नाति दाइ हृदयले संगीत भर्नुहुन्थ्यो”

उहाँ एकतमास आफ्नो काम गर्नुहुन्थ्यो, बयानबाजी कहिल्यै गर्नुहुन्नथ्यो । संगीतलाई धर्म मान्ने भएकाले अथाह मिहिनेत गर्ने बानी थियो । उहाँको संस्कार र व्यक्तित्वमै संगीत थियो । 

मैले नाति दाइलाई विसं. २०२२ मा पहिलो पटक भेटेको थिएँ । त्यति बेला उहाँले मलाई नेपाल भाषाको गीत गाउन लगाउनुभएको थियो । २०२५ सालदेखि हाम्रो सहकार्य बेस्सरी झाँगियो । मेरा ७० प्रतिशत गीतमा नाति दाइकै संगीत छ । जस्तो कि, ‘सपना भुलाई सारा...’, ‘नेपाल मेरो तिमीलाई...’, ‘आँखैमा रात गली...’, ‘मेरो आँसुमा नहाँसे...’ जस्ता गीतमा नाति दाइले संगीत रचना गर्नुभएको छ । हामी सांगीतिक मात्रै नभई पारिवारिक रूपमा समेत नजिक थियौं । 

एकअर्काको घर आउजाउ भइरहन्थ्यो । वर्षको दुई चोटि पिकनिक जान्थ्यौं, एक चोटि परिवारसँग एक चोटि साथीभाइसँग । पिकनिकमा तास खेलेको अझै सम्झन्छु । भक्तपुरको सल्लाघारी हाम्रो नियमित पिकनिक स्पट थियो । नाति दाइलाई सुकेको माछा (सिद्रा) मिसाएर बनाइएको गोलभेडाको चटनी खुब मन पथ्र्यो । त्यो परम्परागत नेवारी अचारको कुरा मात्रै गर्दा पनि उहाँ मुख मिठयाउनुहुन्थ्यो । उहाँको घरमा बनाएको त्यो चटनी वास्तवमै मिठो हुन्थ्यो । 

पाटनमा जन्मेर गुहयेश्वरीमा हुर्किनुभएको थियो उहाँ । जन्मस्थानको सांगीतिक संस्कार उहाँले इन्हेरिट (स्वत: प्राप्त) गर्नुभएको थियो । सानैमा अभिभावक गुमाएकाले हजुरबुबाको अधीनमा हुर्किनुभयो । पशुपतिनाथका पुजारी हजुरबुबाले त्यो बेलाका अमृतलाल मलेकु (नातिकाजीको असली नाम) लाई भजनकीर्तनमा साथै लग्थे । हजुरबुबाले नाति केटोलाई भजन गाउन पनि लगाउँथे । सानो उमेरमै शास्त्रीय संगीतको स्वाद पाएकाले उहाँले आफ्नो सांगीतिक करिअरको सुरुवात भक्ति संगीतबाट गर्नुभएको थियो । पछि गजल र गीतहरू पनि जमेर गाउनुभयो । भारतका त्यो बेलाका नामुद गजल गायकको भन्दा कम सानसौकत थिएन उहाँको । तिनकै ठाटबाटमा गाउने–बजाउने गर्नुहुन्थ्यो । दाइका प्रशंसक लोभलाग्दा थिए । बिस्तारै गायन छोडेर संगीत सिर्जनामा उहाँ लीन हुनुभयो । 

रेडियो नेपालमा संगीत प्रबन्धक भएर काम गर्दा दाइलाई कतिपयले छुच्चो गायक भन्थे । देशैभरिबाट स्वर परीक्षा दिन आउनेमध्ये कतिलाई प्रशासनिक व्यवधानका कारण अर्को दिन बोलाउनुहुन्थ्यो । बस, त्यही कुरालाई लिएर मान्छेहरू उहाँमाथि खनिन्थे । नातिकाजीकै कारण गाउन नपाएको भन्दै एक जनाले त पोखराबाट मलाई समेत चिठी पठाएका थिए, एकपल्ट । नाति दाइले बाध्यतावश त्यसो भन्नुपरेको बताइदिएँ । उहाँमाथि रिसले आगो ओकल्नेहरू धेरै हुन्थे । तर, उहाँले कहिल्यै कसैमाथि अपशब्द बोल्नुभएन । रमाइलो त के भने, अरूले तथानाम भन्दा समेत उहाँ एक शब्द फुस्काउनुहुन्नथ्यो । जति थर्काए पनि चुपचाप बस्ने । पछि हामीसँग चाहिँ ‘त्यो मान्छे रिसाएको पनि ठीकै त हो’ भन्नुहुन्थ्यो । उहाँको सहनशीलता देखेर अचम्म लाग्थ्यो । अलि भावुक र विनम्र शैलीको हुनुहुन्थ्यो । सबैलाई समान व्यवहार गर्ने बानी थियो । 

आफूभित्रको हाँसो, खुसी, प्रेम, पीडा सबैलाई गीतमार्फत अभिव्यक्त गर्नुहुन्थ्यो उहाँ । व्यक्तिगत भेटघाटभन्दा गीतमा बढी खुल्ने बानी थियो । मैले गाएको ‘सपना भुलाई सारा...’ को संगीत सिर्जना गर्दाको रमाइलो म कहिल्यै भुल्दिनँ । शिव अधिकारीले लेखेको त्यो गीत नाति दाइले दोहोर्‍याई–तेहर्‍याई वाचन गर्नुभयो । शब्दहरूलाई सूक्ष्म ढंगले नियालिसकेपछि एकएक हरफ गुनगुनाउनुथाल्नुभयो । म छेउमा बसेर सबै नियालिरहेँ । 

साहित्यप्रति मोह राख्ने भएकाले उहाँ शब्दहरूको लय पत्ता लगाउन सिपालु हुनुहुन्थ्यो । कविका रचनालाई आत्मसात् गर्ने दाइको खुबी अद्भुत थियो । उहाँ दिमागले होइन, हृदयले संगीत सिर्जना गर्नुहुन्थ्यो । शब्दलाई नरम बनाउन जान्ने भएकाले नै उहाँका गीतहरू सर्वदा कर्णप्रिय बनेका हुन् । शब्दसँग भिजिसकेपछि मात्रै उहाँ धुन निकाल्न थाल्नुहुन्थ्यो । ‘सपना भुलाई सारा...’ सँगै मेरा अन्य गीत त्यही ढाँचामा बनेका हुन् ।

दाइको संस्कार र व्यक्तित्व उहाँका कृतिमा छताछुल्ल भएको पाइन्छ । मान्छेको व्यक्तित्व जस्तो छ, उसको कृति त्यस्तै प्रकारको हुन्छ । नाति दाइ विनम्र र शालीन हुनुहुन्थ्यो भन्ने कुरा उहाँका रचनाले पुष्टि गर्छन् । ‘उकाली–ओरालीहरूमा...’, ‘आजै र राति के देखेँ सपना...’, ‘यस्तो पनि हुँदो रै’छ...’, ‘पर लैजाऊ फूलहरू...’, ‘साँघुरीपारि नि होउ त्यो धारापानी...’ जस्ता गीतमा उहाँको व्यक्तित्व झल्किन्छ । गीतझैं नम्र र विनयी हुनुहुन्थ्यो । छुद्र रूप हामीले देखेनौं ।

नाति दाइ लामो समय रेडियो नेपालमा आबद्ध हुनुभयो । रेडियोलाई उहाँ निकै माया गर्नुहुन्थ्यो । बाहिरबाट झिकाइएका वाद्यवादकले रेकर्डिङपछि यत्रतत्र छोडेर हिँडेका बाजागाजा भण्डारकोठामा नथन्क्याएसम्म उहाँ कार्यालय छोड्नुहुन्नथ्यो । हामी अपराह्न पाँच बजे घरतिर लाग्थ्यौं भने नाति दाइ साँझ सात बजे मात्रै काम सकेर निस्किनुहुन्थ्यो । स्टुडियोलाई घरभन्दा बढी प्रेम गर्नुहुन्थ्यो । वाद्ययन्त्रको सम्मान गर्न मैले उहाँबाटै सिकेँ ।

नाति दाइले जीवनभर एउटा कुरा धेरै दोहोर्‍याउनुभयो । भन्नुहुन्थ्यो, ‘रेडियो नेपालले राम्रा गीत र राम्रा सर्जक उत्पादन गर्नुपर्छ । राम्रो भनेको के हो भन्ने कुरा रेडियो नेपालकै उत्पादनले प्रस्टयाउन सक्नुपर्छ ।’

संस्थाको म्यानपावरलाई क्रियाशील बनाउनुपर्छ भन्नेमा उहाँको जोड हुन्थ्यो । त्यसलाई कलाकारको मन्दिर बनाउने उहाँको सपना अझै अधुरो छ । मलाई त उहाँको अझै पनि उचित मूल्यांकन भएको छैन भन्ने लाग्छ । उहाँजस्ता देशका सच्चा संगीतकर्मीको सही सम्मान नहुनु खेदजनक छ । 

प्रकाशित : पुस ५, २०७३ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?