कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

“म आगो हुँदा तिमी पानी हुनू”

मधु शाही

काठमाडौं — रंगकर्मी अशेष मल्लले डा. सावित्री मल्ल कक्षपतीसँग बिहे नगर्दै सम्बन्धको गहिराइ बुझेका रहेछन् । नभए, उनले प्रेम प्रसंग जोडिएकै बेला सावित्रीलाई जन्मदिनको सन्दर्भ पारेर कविता रचेर उपहार दिँदैन थिए होला ।

“म आगो हुँदा तिमी पानी हुनू”

म आगो हुँदा तिमी पानी हुनू
तिमी आगो हुँदा म पानी हुन्छु
दुवै आगो भए घर जल्छ
दुवै पानी भए मन डुब्छ...

‘जतिले जेसुकै भनून् बिहे भनेको सम्झौता नै हो,’ अशेष तीन दशकअघिको विवाहबन्धन समीक्षा गर्दै भन्छन्, ‘दुवैको सेक्रिफाइज नभए कहाँ घर सुन्दर बन्छ र ?’ जन्मदिनको उपहारस्वरूप पाएको कविता रचित कागजको टुक्रा भलै सावित्रीसँग अहिले नहोला । तर, त्यसभित्र झल्किएका भावहरू उनले अझै साँचिराखेकी छन् । अशेषको गम्भीर, भलाद्मीपन र गहकिलो सिर्जनाले आफू आकर्षित भएरै सम्बन्ध अघि बढेको सावित्रीको सम्झना छ । 

शनिबार मध्याह्न, रातोपुलस्थित निवासमा उनले यसो भनिरहँदा ६२ वर्षे रंगकर्मी अशेषले चाहिँ सावित्रीलाई पुरानो घटना सम्झाउँदै प्रश्न गरे, ‘त्यो पहिलो दिन त साह्रै कडा रूपले आलोचना गरिएको थियो नि ?’

अशेषले सम्झाएको त्यो दिनले ५७ वर्षीया सावित्री झल्याँस्स भइन् र मिठो हाँसो फ्याँकिन् । एउटा रंगकर्मीले आलोचना पाएको त्यो दिन अशेष मल्लका लागि भने जीवनकै महत्त्वपूर्ण क्षण थियो । नाटक सकियो । रंगमञ्चका पर्दा दर्शक चिनाउन खुले । सबैले अशेषको लेखन र कलाकृतिमाथि प्रशंसा गर्दै मञ्चमा उत्रिए । त्यही भीडमा थिइन् सावित्री पनि । थुप्रैको राम्रो प्रतिक्रियाले फुरुङग भएका अशेषका अगाडि सावित्री आइन् र भनिन्, ‘मलाई तपार्इंको नाटक पटक्कै मन परेन ।’ 

अशेषलाई त्यो बेला भात खाँदा ढुंगो चपाएझैं भयो । उनले प्रतिप्रश्न गरे, ‘किन राम्रो लागेन ?’ सावित्रीले कडा स्वरमा थपिन्, ‘महिलालाई अलि उदांगो चरित्रमा देखाउनुभो त्यसैले ।’ वि.सं. २०३८/३९ तिरको समय । राष्ट्रिय सभागृहमा अशेषले नाटक ‘नाटकहरूको नाटक’ मञ्चन गरेका थिए । सावित्री अशेषकी नियमित दर्शक भए पनि त्यस्तो प्रतिक्रिया भने पहिलो पटक पाएका थिए । अशेषले मञ्चमा केही प्रतिक्रिया दिएनन् । जब घर आए, उनको मनमस्तिष्कमा मात्रै सावित्री घुम्न थालिन् । ‘रात न दिन उनकै कुरा र अनुहार आउन थाल्यो,’ अशेष सम्झन्छन्, ‘मन परेको मान्छेको गाली पनि मिठो लाग्दो रहेछ ।’ सही आलोचना गर्ने सावित्रीको स्वभावप्रति अशेष नतमस्तक भएछन् । यतिसम्म कि ब्रह्मचारी बस्ने उनको योजना सावित्रीलाई देखेपछि भंग भयो रे । ‘सावित्रीसँगै भविष्य सुनिश्चित भएको संकेत पाएँ,’ उनले भने, ‘त्यसपछि सावित्रीका हरेक गतिविधि बुझ्न थालें ।’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सावित्री साहित्यिक गतिविधिमा सक्रिय थिइन् । अशेषचाहिँ रंगमञ्च पढाउने, नाटक खेल्ने र लेख्ने हुँदा उस बेलाको पनि सेलिब्रिटी नै थिए । ‘मान्छे राम्रा लाग्थ्यो तर प्रेम नै गर्छु भन्ने सोचमै थिएन,’ सावित्री सम्झिन्छिन्, ‘उहाँको मनमा अर्कै रहेछ, पछि थाहा पाएँ ।’ 

मनभरि माया साँचेका अशेषले अब सावित्रीसमक्ष कसरी भन्ने ? एक दिन आँट गरे । टीयूको होस्टलमा पुगेर । गार्डसँग सावित्रीजीलाई बोलाइदिनू न भने । सावित्री आउन त आइन् तर उनी ती सावित्री थिइनन् जसलाई अशेषले चाहेका थिए । ‘सावित्री गुरुङ पो आइछन्, जुन उनकी साथी थिइन् (अहिले अख्तियारको आयुक्त),’ अशेषले भने, ‘पछि, उनैलाई सावित्री पठाइदिनू भनेर बोलाएँ ।’ अशेषले भेटेर विवाह, सम्बन्ध र प्रेमको भावना पोखेपछि सावित्री चकित भइन् । उनले सोचेकी पनि थिइनन्, अशेषको मनमा उनीप्रति प्रेमभाव छ भनेर । हुन्छ भन्ने तुरुन्तै आँट आएन । सावित्रीले ग्रिन सिंग्नल दिँदै भनिन्, ‘पछि सोचौंला है ।’

सावित्रीको त्यो वाक्यले अशेष पूर्ण ढुक्क भए । मान्छेलाई खुसी साट्न पनि साथी चाहिन्छ, दु:ख बाँड्न पनि साथी नै । अशेषले साथी विष्णुविभु घिमिरेसँग सावित्री र आफ्नो सम्बन्धबारे सुनाए । ‘त्यो दिन ठूलो भारी बिसाएझंै हलुको महसुस गरेको थिएँ,’ उनी भन्छन् । उता सावित्रीको मन पनि चंगा भएको थियो । खुसी पाएँ भन्दैमा धेरै नफुर्किहाल्ने उनको स्वभावले धेरै कुरा लुकाएरै राख्थिन् । करिब पाँच वर्षको प्रेमसम्बन्धपछि धनकुटाका अशेष र पाल्पा (तानसेन) की सावित्री विवाहबन्धनमा बाँधिए । साहित्यमा कलम चलाउन रुचि राख्ने सावित्रीको भविष्य अनुसन्धानात्मक गतिविधिमा बढ्न थाल्यो । अशेषको साथले रंगमञ्चको महत्त्व झनै बुझायो । सावित्रीले नाटकको प्रस्तुति पक्षमा पीएचडी गरिन् । सडक नाटक सुरुवात गरेर अशेषले रंगमञ्चमा प्रशंसा पाइरहेका थिए नै । भविष्यमा एउटा थिएटर खोल्ने उनको मुख्य उद्देश्य थियो । यही दूरदृष्टिका साथ उनीलगायत थुप्रै रंगकर्मी मिलेर सर्वनाम संस्था खोलेका थिए । त्यसैलाई साकार पार्न सावित्रीको ठूलो साथ नभएको भए आफू अलपत्र पर्ने अशेष बताउँछन् । 

‘लाखौं मान्छे नबोले मलाई फरक पर्दैन तर उनी रिसाए म बाँच्न सक्दिनँ,’ उनी भन्छन् । सावित्रीलाई अशेषको सरल स्वाभाव, सहयोगी र विवाद नगर्ने बानी मन पर्छ भने आवश्यकभन्दा बढी भावुक हुने, समस्या पर्दा आत्तिने र आफैं व्यवस्थित नहुने बानी अलि मन पर्दैन ।

तर, अशेषलाई भने सावित्रीको स्पष्ट बोल्ने शैलीले मन छुन्छ । सुव्यवस्थित र विचारमा अडिग हुनु सावित्रीका अशेषलाई मन पर्ने आदत हुन् । कहिलेकाहीँ कार्यक्रममा जानुपरे नेपाली टाइम भन्दै ढिलो गर्ने सावित्रीको स्वभावले अशेष दु:खी हुन्छन् । त्यस्तै, अत्यन्त मुडी भएकीले सावित्रीको मन बुझ्न गाह्रो पर्छ । सरसफाइमा आवश्यकभन्दा बढी सजग हुँदा पनि अशेषलाई कहिलेकाहीँ समस्या झेल्नुपर्छ । 


अशेषलाई पत्नीको
मन पर्ने बानी

  • प्रस्टवक्ता
  • सुव्यवस्थित
  • विचारमा अडिग

मन नपर्ने बानी

  • नेपाली टाइम पछ्याउने
  • अत्यन्त मुडी
  • सरसफाइमा अति सजग 

सावित्रीलाई पतिको 
मन पर्ने बानी :

  • सरल स्वभाव
  • सहयोगी
  • विवाद नगर्ने

मन नपर्ने बानी :

  • बढी भावुक
  • समस्या पर्नेबित्तिकै आत्तिने
  • आफैं व्यवस्थित नहुने

प्रकाशित : पुस ४, २०७३ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?